शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
सङ्घर्षको कथा

एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल

शुक्रबार, ०५ असार २०८३, १२ : ३५
शुक्रबार, ०५ असार २०८३

ह्युस्टन । सन् २०२१ मा झन्डै आफ्नो दृष्टि गुमाएका विस्साले हेडरमार्फत गोल गर्दै डिआर कंगोलाई ऐतिहासिक विश्वकप पुनरागमनमा पहिलो अङ्क दिलाए ।

अमेरिकाको ह्युस्टनमा भएको समूह चरणको खेलमा योआने विस्साले डीआर कंगो (डेमोक्र्याटिक रिपब्लिक अफ कंगो) का लागि विश्वकप इतिहासमै पहिलो गोल गरेर नयाँ इतिहास रचेका हुन्। बुधबार उनले प्रतियोगिताकै दाबेदारमध्ये एक मानिएको पोर्चुगलविरुद्ध यो गोल गरेका थिए।

२९ वर्षीय यी न्युक्यासल युनाइटेडका फरवार्डले दोस्रो हाफको पाँचौँ मिनेटमा प्राप्त कर्नरको भरपुर सदुपयोग गरे। उनको हेडरले सीधै जाली चुम्यो र ५२ वर्षपछि विश्वकपमा फर्किएको डिआर कंगोका लागि उनले इतिहास रचे।

यसअघि खेलको छैटौँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। उनको गोलसँगै अमेरिकाको ह्युस्टन स्टेडियम रातो जर्सी लगाएका पोर्चुगाली समर्थकहरूको खुसीयालीले गुञ्जायमान भएको थियो। विस्साको गोलले त्यही अग्रतालाई बराबरीमा ल्याएको थियो।

विस्साको गोललाई स्टेडियममा मात्र नभई विश्वभर हर्षोल्लासका साथ मनाइयो। अफ्रिकाकै हाई प्रोफाइल भएका खेलाडीमध्ये एक विस्साले यो ऐतिहासिक क्षण प्राप्त गर्दा पोर्चुगाली र कंगोली दुवै देशका समर्थकहरूले खुसी मनाएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए।

पाँच वर्षअघि मात्रै विस्साले यस्तो क्षणको सायदै कल्पना गरेका थिए। त्यतिबेला उनीमाथि एसिड आक्रमण भएको थियो, जसका कारण उनी गम्भीर घाइते भएका थिए। रासायनिक जलनका कारण उनको आँखाको आपतकालीन शल्यक्रियासमेत गर्नुपरेको थियो।

सन् २०२१ को जुलाई १ मा विस्साले आफ्नो घरको ढोका खोल्दा एक महिलाले उनकी छोरीलाई अपहरण गर्ने प्रयास गर्दै उनको अनुहारमा एसिड छ्यापिदिएकी थिइन्। ती आक्रमणकारीले भोलिपल्ट अर्की एक महिलालाई पनि एसिडले आक्रमण गरेकी थिइन् र जुलाई ३ मा उनको पहिचान खुलेको थियो।

Yoane-Wissa-2

आजीवन कारावासको सजाय हुन सक्ने सम्भावना भए तापनि जनवरी २०२५ मा उनलाई १८ वर्षको जेल सजाय सुनाइयो।

आक्रमणबाट तङ्ग्रिन विस्सालाई छ महिना लाग्यो। घटनाले उनलाई गहिरो चोट पुर्‍याए पनि उनी फ्रान्सको व्यावसायिक फुटबल क्लब एफसी लोरियन्टमा आफ्नो खेल जीवनलाई निरन्तरता दिन कटिबद्ध थिए।

‘शारीरिक र मानसिक रूपमा निकै प्रभावित भए पनि योआनेले छिट्टै सफल हुने अठोट देखाए,’ आक्रमणको भोलिपल्टै अस्पताल पुगेका लोरियन्टका म्यानेजर क्रिस्टोफ पेलिसियरले गत वर्ष बीबीसीसँग भनेका थिए।

‘उनको कडा इच्छाशक्ति र कहिल्यै हार नमान्ने स्वभावले मलाई साँच्चै प्रभावित गर्‍यो।’

लोरियन्टमा विस्सासँगै खेलेका पिएरे-यवेस हामेलले पनि उनको खुलेर प्रशंसा गरे।

‘आक्रमणपछि उनले कहिल्यै गुनासो गरेनन्,’ हामेलले भने, ‘उनी तुरुन्तै अगाडि बढ्न चाहन्थे, र आज उनले पाएको सफलता उनको त्यही प्रयासको उचित प्रतिफल हो।’

‘एकपटक योआनेले आफ्नो दिमागमा कुनै विचार ल्याएपछि, त्यसलाई पूरा गर्न जतिसुकै समय लागे पनि उनी आफ्नो पूरै शक्ति लगाउँछन्।’

ह्युस्टनमा कंगोले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दा विस्सा आफ्नो राष्ट्रका लागि नायक बनेपछि यी शब्दहरूले अझ गहिरो अर्थ राख्छन्।

यसअघि नेभेसको गोलले पनि आफ्नै छुट्टै भावनाहरू बोकेको थियो। पोर्चुगाली खेलाडीहरू यो प्रतियोगिताभर आफ्ना दिवंगत सहकर्मी डिओगो जोटाको सम्झनालाई साथमै लिएर हिँडिरहेका छन्।

Yoane-Wissa

गत गर्मीमा कार दुर्घटनामा परी आफ्ना भाइसँगै ज्यान गुमाएका जोटालाई समूह ‘के’ को पहिलो खेलअघि स्टेडियमको पर्दामा सम्मान प्रकट गरिएको थियो, जहाँ उनका आमाबाबु पनि उपस्थित थिए। टोलीका खेलाडीहरूले जोटाको नाम लेखिएको रिस्टब्यान्ड लगाएका थिए।

  • आजीवन आघात, निदाउन नसक्ने समस्या

फ्रान्समा ३६ वर्षीया लेटिसिया पी भनेर चिनिने आफ्नी आक्रमणकारीको सुनुवाइका क्रममा विस्साले अदालतमा भावुक बयान दिएका थिए।

उनले आफ्नो अनुहारमा तरल पदार्थ छ्यापिएको र आफ्नी श्रीमतीले आपतकालीन सेवालाई फोन गरेको घटना सुनाए। फोनमा उनलाई तुरुन्तै सावरमुनि गएर आँखा पखाल्न सुझाइएको थियो।

‘अस्पतालमा उनीहरूले मेरो आँखा जलेको बताए। हरेक घण्टा कोही आएर आँखा पखालिदिनुपर्थ्यो। यो एउटा डरलाग्दो सपनाजस्तै थियो,’ अदालतको सुनुवाइका क्रममा उनले भनेको भनाइलाई इएसपीएन युकेले उद्धृत गरेको छ।

‘त्यसयता हरेक पटक कुनै आवाज सुन्दा म आत्तिन्छु। मेरा छोराछोरी सुरक्षित छन् भन्ने कुराले मात्र मलाई टिकाइराखेको थियो। मेरो दुवै आँखाको शल्यक्रिया गरियो र डाक्टरले मलाई जीवनभर आँखामा हाल्ने औषधि प्रयोग गर्नुपर्ने बताए। मेरो दृष्टि पूर्ण रूपमा फर्किन छ महिना लाग्यो।

‘यदि मैले त्यति छिटो उपचार नपाएको भए अवस्था अझै डरलाग्दो हुन सक्थ्यो।’

घटनाको एक महिनापछि अझै निको हुँदै गर्दा विस्सा चार वर्षको सम्झौतासहित ब्रेन्टफोर्डमा आबद्ध भएका थिए। उनले आफूले भोगेको आजीवन मनोवैज्ञानिक आघातबारे पनि खुलाए।

‘त्यस समयदेखि म एक्लो हुन थालेको छु। मलाई अपरिचित मानिसहरूको बिचमा बस्न मन लाग्दैन,’ उनले भने।

‘अचेल म पहिलेको जति माया व्यक्त गर्न सक्दिनँ, र बाटोमा हिँड्दा अनजानमै पछाडि फर्केर हेर्ने गर्छु। राति एक्लै भएँ भने निदाउनै सक्दिनँ।

‘मेरा छोराछोरीले प्रायः सोध्छन्– बाबा, अनुहारमा के भयो ? तर, उनीहरूलाई घटनाबारे बताउन उनीहरू निकै साना छन्। मलाई अनुहारको शल्यक्रिया गर्ने प्रस्ताव पनि आएको थियो, तर मैले अस्वीकार गरेँ। किनभने यो मेरो जीवनको एउटा हिस्सा बनिसकेको छ।

‘मेरी श्रीमती र मैले मनोवैज्ञानिकको परामर्श लिनुपर्‍यो र उनी डिप्रेसनको सिकार भइन्। कसको भाग्यमा के लेखिएको छ, कसैलाई थाहा हुँदैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप