काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
सारांश
- सरकारले समयमा खोप आपूर्ति नगर्दा र खोप कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ ।
- टेकु अस्पतालको रेकर्ड शाखाका अनुसार पछिल्लो पाँच वर्षमा ५५ जनाको रेबिजका कारण मृत्यु भएको छ, जसमा २०२४ मा १९ जनाको मृत्यु भएको छ ।
- अहिले देशभरका अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ, जसले गर्दा सरकारले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यमा चुनौती थपेको छ ।
काठमाडौँ । सरकारले समयमा खोप आपूर्ति नगर्दा र भ्याक्सिन कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ ।
गत शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक व्यक्तिको उपचारका क्रममा मृत्यु भयो । अस्पतालका अनुसार ती व्यक्तिलाई करिब चार महिनाअघि कुकुरले टोकेको थियो, तर उनले रेबिजविरुद्धको खोप लगाएका थिएनन् ।
उनलाई गत शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको टेकु अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए । अस्पताल पुग्दा उनलाई हावा र पानीदेखि डराउने जस्ता रेबिजका गम्भीर लक्षणहरू देखिइसकेका थिए ।कुकुरले टोकेको लामो समयसम्म खोप नलगाएका कारण उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
टेकु अस्पतालको रेकर्ड शाखाका अनुसार पछिल्लो पाँच वर्षमा ५५ जनाको रेबिजका कारण मृत्यु भएको छ । उपलब्ध तथ्यांकअनुसार सन् २०२२ मा ४ जना, २०२३ मा ६ जना र २०२४ मा १९ जनाको मृत्यु भएको छ । यस्तै, सन् २०२६ को आजसम्म ४ जनाको मृत्यु भएको रेकर्ड छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रेबिज सङ्क्रमित जनावरको टोकाइबाट सर्ने एक सरुवा रोग हो । यो रोग विशेषगरी रेबिज भएका जनावरको र्यालको माध्यमबाट सर्छ । रेबिज लागेको जनावरले घाउ चाटेमा वा च्यातिएको छाला, मुख र नाकमा र्याल परेमा पनि यो रोग सर्न सक्छ । विश्वमा यसलाई अझै पनि उपेक्षित रोगका रूपमा हेरिने गरिएको छ ।
खोपको चरम अभाव
अहिले देशभरका अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ । सरकारी तथ्यांकअनुसार हाल देशभर मात्र १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौज्दात छ । मौज्दात कम हुँदा अस्पतालहरूले निकै मुस्किलले खोपको व्यवस्थापन गरिरहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रेबिज सङ्क्रमित जनावरको टोकाइबाट सर्ने एक सरुवा रोग हो । यो रोग विशेषगरी रेबिज भएका जनावरको र्यालको माध्यमबाट सर्छ । रेबिज लागेको जनावरले घाउ चाटेमा वा च्यातिएको छाला, मुख र नाकमा र्याल परेमा पनि यो रोग सर्न सक्छ । विश्वमा यसलाई अझै पनि उपेक्षित रोगका रूपमा हेरिने गरिएको छ ।
टेकु अस्पतालको तथ्यांक अनुसार रेबिज खोप लगाउन आउनेमध्ये ९५ प्रतिशत कुकुरको टोकाइका कारण आउने गर्छन् । रेबिज नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण र नियमित खोप अनिवार्य छ, तर सरकारी निकायसँग देशभरका कुकुरहरूको एकीकृत तथ्यांक छैन । चन्द्रागिरि नगरपालिकाका पशुपक्षी विकास अधिकृत करनबहादुर कठायतका अनुसार त्यस पालिकामा करिब दुई हजार कुकुर रहेको अनुमान छ, तर यकिन तथ्यांक संकलन हुन सकेको छैन ।
ललितपुर महानगरपालिकाको अवस्था पनि उस्तै छ । पशु चिकित्सक राजेन्द्र विष्टका अनुसार ललितपुरमा करिब १० हजार कुकुर छन्, जसमध्ये बन्ध्याकरण कार्यक्रममार्फत २ हजार सामुदायिक कुकुरलाई मात्र खोप लगाइएको छ । कुकुर समात्न गाह्रो हुने भएकाले सबैलाई खोप लगाउन सम्भव नभएको उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिकामा करिब २२ हजार कुकुर रहेको अनुमान छ । आर्थिक वर्ष २०८१र८२ मा १८ हजार कुकुरलाई खोप लगाइए पनि त्यसपछि उनीहरूलाई पुनः खोप लगाइयो वा लगाइएन भन्नेमा अन्योल छ । महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले पछिल्लो दुई वर्षदेखि लगातार खोप र बन्ध्याकरण भइरहेको दाबी गरे । वैशाख अन्त्यसम्म ६ हजार कुकुरको बन्ध्याकरण गरिएको र गत आर्थिक वर्षमा बजेट अभावका कारण बन्ध्याकरण नगरी १२ हजार कुकुरलाई खोप मात्र दिइएको उनले जानकारी दिए ।
अन्य जनावर र अन्तर्राष्ट्रिय लक्ष्य
रेबिज कुकुरबाट मात्र नभई अन्य जनावरबाट पनि सर्ने गरेको छ । अस्पतालमा खोप लगाउन आउनेमध्ये करिब २ प्रतिशत बाँदरले टोकेका र १ प्रतिशत बिरालोले टोकेका बिरामी हुने गर्छन् । दक्षिणपूर्वी एसियामा ९६ प्रतिशत रेबिज कुकुरकै टोकाइबाट सर्ने गरेको पाइन्छ । नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ, तर खोपको अभाव र फितलो व्यवस्थापनले यसमा चुनौती थपेको छ ।
खरिद प्रक्रिया र आपूर्तिमा ढिलाइ
जिल्ला तहका अस्पतालहरूमा खोपको हाहाकार छ । काभ्रेको मेथिनकोट अस्पतालका सूचना अधिकारी हेमन्त खनालका अनुसार अस्पतालले स्वतन्त्र रूपमा खोप खरिद गर्न नपाउने र जिल्ला जनस्वास्थ्य कार्यालयको भर पर्नुपर्ने बाध्यता छ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले खोप अभाव हुन नदिन प्रयास भइरहेको बताए । खोप खरिद प्रक्रिया अहिले तेस्रो प्रयासअन्तर्गत अन्तिम चरणमा पुगेको उनको दाबी छ । व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड ९८ लाख रुपैयाँ बराबरको खोप आपूर्तिका लागि ठेक्का भइसकेको छ । २ लाख ३४ हजार भाइल (१ एमएल) र १ लाख ९० हजार भाइल (०.५ एमएल) खोपका लागि टेन्डर भए पनि ती खोप कहिले नेपाल आइपुग्छन् भन्ने यकिन छैन ।
विज्ञको सुझाव र लक्षणहरू
सरुवा रोग विशेषज्ञ डा. पुनले कुकुरले टोकेपछि हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । 'घाउ सानो छ भनेर बेवास्ता गर्नु हुँदैन, जतिसक्दो छिटो खोप लगाउनुपर्छ,' उनले भने । रेबिजको लक्षण देखा पर्न केही दिनदेखि धेरै महिनासम्म लाग्न सक्छ, तर लक्षण देखिएपछि १ देखि ७ दिनभित्र मृत्यु हुने सम्भावना रहन्छ ।
जनावरमा देखिने लक्षण; बिनाकारण टोक्ने, अस्वभाविक वस्तु खाने, जथाभावी दौडने, घोक्रे स्वरमा भुक्ने वा भुक्न नसक्ने र अत्यधिक र्याल काढ्ने । मानिसमा देखिने लक्षण; टोकेको घाउ चिलाउने वा दुख्ने, ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, पानी, हावा र ठुलो आवाजदेखि डराउने, चम्किलो उज्यालो सहन नसक्ने र उत्तेजित भई झम्टने ।
अन्तिम अवस्थामा पानी देख्नासाथ घाँटीको मांसपेशी खुम्चिनेजस्ता लक्षण देखिन्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण