बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

बुधबार, १० असार २०८३, ०६ : ३६
बुधबार, १० असार २०८३

सारांश

  • लन्डनको ह्यारोमा २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ।
  • युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटीका अन्तिम वर्षका विद्यार्थी रहेका ठाकुरको मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या गरेको आशंका गरिएको छ।
  • शव नेपाल पठाउन आर्थिक सहयोग जुटाउन गोफन्डमीमा पेज खोलिएको छ।

लन्डन । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ। महोत्तरी (पिपरा–०७, बनौली) स्थायी घर  ठाकुर  युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयमा अन्तिम वर्षमा अध्ययनरत थिए। परिवारका अनुसार, कौशल विगत केही समयदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र सोही कारणले उनले आत्महत्या गरेको आशंका गरिएको छ।

१८ जुन बिहीबार मृत भेटिएका कौशलको अकल्पनीय निधनले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ। मृतकका भाइ आदित्य कुमार ठाकुरका अनुसार परिवार अहिले ठुलो मानसिक आघातसँगै आर्थिक संकटमा समेत परेको छ। बेलायतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउन ठुलो खर्च लाग्ने र त्यो जुटाउन परिवार असमर्थ रहेको आदित्यले बताएका छन्।

ठाकुर परिवारलाई सहयोग गर्नका लागि 'गोफन्डमी' (GoFundMe) मा एक पेज खोलिएको छ। आदित्यले भावुक अपिल गर्दै भनेका छन्, 'हाम्रो दाइको अगाडि एउटा सुन्दर भविष्य थियो, तर परिस्थितिले हामीबाट उसलाई खोस्यो। अहिले हाम्रो एकमात्र चाहना दाइको पार्थिव शरीर नेपाल फर्काएर मातृभूमिमा सम्मानजनक बिदाइ दिनु हो। कृपया यो कठिन समयमा हामीलाई सहयोग गरिदिनुहोस्।'

बेलायतमा पटक पटक दोहोरिरहने यस्ता  घटनाले यहाँ अध्ययनरत विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूले भोग्नुपरेका चुनौतीहरूमाथि पनि प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप