बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
बजेट

ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड

बुधबार, १० असार २०८३, १६ : २३
बुधबार, १० असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
  • प्रस्तुत बजेट चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको हाराहारीमा नै रहेको छ ।
  • आगामी बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरिएको छ ।

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य प्रस्तुत गरेकी हुन्  । 

प्रस्तुत बजेट चालू आर्थिक वर्षको कुल विनियोजित बजेट ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको हाराहारीमा नै रहेको छ । सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख बज्राचार्यले बताइन्   । 

पुँजीगत ४ अर्ब २३ करोड र चालु ३ अर्ब २५ करोड 
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ ।  

महानगरपालिकाले चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ (९ प्रतिशत) ले बढी हो । कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्वका कारण चालु खर्च बढेको महानगरले जनाएको छ । 

त्यसैगरी पुँजीगत खर्चतर्फ आगामी वर्षका लागि ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । सङ्घीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले गत वर्षको तुलनामा पुँजीगत खर्च ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । 

ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि आन्तरिक स्रोत र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानलाई मुख्य वित्तीय आधार बनाइएको छ ।  महानगरले सार्वजनिक गरेको आय अनुमान अनुसार सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त र समपूरक अनुदान गरी कुल १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी बागमती प्रदेश सरकारबाट १७ करोड ६३ लाख ९० हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण छ । 

महानगरको आन्तरिक आय, मालपोत रजिस्ट्रेसन शुल्क र मनोरञ्जन कर आदिबाट ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ सङ्कलन हुने र अपुग हुने १ अर्ब ४७ करोड रुपैयाँ नगद मौज्दातबाट बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप