बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मोरङमा पहिलो स्वचालित सबस्टेशन सञ्चालनमा

बिहीबार, ११ असार २०८३, १४ : ०४
बिहीबार, ११ असार २०८३

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले मोरङको लेटाङमा देशकै पहिलो मानवविहीन स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको छ ।
  • ३३/११ केभी क्षमताको यो सबस्टेशनले लेटाङ र बेलबारी नगरपालिकाका हजारौँ उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ ।
  • स्काडा नियन्त्रण प्रणालीमा आधारित यो सबस्टेशनले विद्युत् वितरण प्रणालीलाई आधुनिक, भरपर्दो र स्वचालित बनाउने अभियानमा सहयोग पुग्नेछ ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा पहिलो मानवविहीन स्वचालित सबस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई आधुनिक, भरपर्दो र स्वचालित बनाउने अभियानअन्तर्गत मोरङको लेटाङमा निर्माण गरेको ३३/११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको हो ।  

८ एमभीए क्षमताको उक्त सबस्टेशन असार ५ गते सफल परीक्षण, सञ्चालन परीक्षण तथा चार्जिङ सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरअन्तर्गत निर्माण गरिएको यो सबस्टेशन देशकै पहिलो अटो रिकलोजर तथा स्काडा नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेशन भएको प्राधिकरणले जनाएको छ ।

करिब १० करोड लागतमा सम्पन्न यस आयोजनाले लेटाङ नगरपालिका तथा बेलबारी नगरपालिका क्षेत्रका हजारौँ विद्युत् उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

सबस्टेशन सञ्चालनमा आएपछि वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक हानिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत् अवरोध न्यून हुने तथा राजस्व सङ्कलनमा वृद्धि हुने विश्वास गरिएको छ ।

साथै, मानवविहीन तथा पूर्ण स्वचालित प्रणाली भएकाले सञ्चालन तथा मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा सञ्चालन खर्चमा समेत उल्लेखनीय कमी आउने छ । २०७९ वैशाख ६ गते सुरु गरिएको निर्माण कार्य चार वर्षपछि सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आयोजनाको निर्माणको जिम्मेवारी जय दुर्गे इन्फ्रा इन्जिनियरिङले लिएको थियो ।

करिब १० करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त सबस्टेशनले लेटाङ र बेलबारी नगरपालिकाका हजारौँ विद्युत् उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । 

सबस्टेशनमा ८ एमभीए क्षमताको विद्युत् रूपान्तरण यन्त्र, ३३ केभीका चार र ११ केभीका पाँच बे स्थापना गरिएका छन् । साथै नियन्त्रण कक्ष र कर्मचारी आवाससहितको कार्यालय भवन पनि निर्माण गरिएको छ ।

प्राधिकरणका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि विद्युत् वितरण प्रणालीमा हुने प्राविधिक तथा व्यावसायिक क्षति घट्ने, भोल्टेजमा सुधार आउने, अनावश्यक विद्युत् अवरोध कम हुने तथा राजस्व सङ्कलनमा वृद्धि हुने अपेक्षा गरिएको छ। पूर्ण स्वचालित र मानवविहीन प्रणाली भएकाले सञ्चालन तथा मर्मत सम्भार खर्चसमेत घट्ने जनाइएको छ।

यस परियोजनामा प्रयोग गरिएको स्काडा प्रणालीमार्फत सबस्टेशनलाई निगरानी र नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ । यसले विद्युत् आपूर्ति व्यवस्थापनलाई थप सुरक्षित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

लेटाङ क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज र विद्युत् आपूर्तिसम्बन्धी समस्या रहँदै आएको थियो । स्थानीय उपभोक्ताबाट गुनासो बढेपछि प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । 

त्यसपछि कोशी प्रदेश कार्यालयले विराटचोक–केरुङ ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउँदै द्रुत गतिमा सबस्टेशन निर्माण सम्पन्न गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप