बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने

बिहीबार, ११ असार २०८३, १५ : ५९
बिहीबार, ११ असार २०८३

विराटनगर । नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ। सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजैदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए । सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो।

तर, पछिल्लो समय नेपाल सरकारले चिया निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक भएका हुन्। संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा काठमाडौं गएको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक र प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिया बगानमा किसानहरूको हरियो पत्ती खेर गइरहेको संवेदनशील अवस्था र मजदुरहरूको दैनिक गुजारामा परेको असरलाई मध्यनजर गर्दै, उद्योगहरू सधैँका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर गरेका छौँ । त्यसैले सरकारको सकारात्मक पहललाई सम्मान गर्दै आजैका मितिदेखि सबै उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरेका छौँ ।’

संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण चिया उद्यमी, किसान, मजदुर, राजनीतिक दल र सञ्चारकर्मीहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ । चिया क्षेत्रको दिगो समाधानका लागि सरकारले देखाएको तत्परतालाई संघले स्वागत गरेको छ।

730312960_1542454183958727_6809360114985774112_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप