एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी
सारांश
- धनगढीकी ४७ वर्षीया वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् ।
- श्रीमानको मृत्युपछि समाजको क्रूर व्यवहारको सामना गर्दै व्यक्तिगत शोकलाई शक्तिमा बदल्नुभएको छ ।
- उहाँले एकल महिला समूह केन्द्रमा आबद्ध भई उनीहरूको हक-अधिकारका लागि आवाज उठाउँदै आएकी छन् ।
धनगढी । धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् ।
यस क्रममा उनले आफ्नै परिवार, समाज र पुरातनवादी सोचसँग निकै लामो र कष्टपूर्ण लडाइँ लड्नुपर्यो ।
वेदको जन्म एउटा सामान्य परिवारमा भएको थियो । दुई बहिनी र दुई भाइकी जेठी दिदीका रूपमा उनले बाल्यकालदेखि नै जिम्मेवारी बुझेकी थिइन् । बुवाको जागिरबाट चलेको मध्यमवर्गीय परिवारमा हुर्किएकी उनले धनगढीकै माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उच्च शिक्षाका लागि कैलाली बहुमुखी क्याम्पसमा उनी भर्ना भइन् । पढाइप्रति रुचि हुँदाहुँदै पनि २०५७ सालमा आमाबुवाको इच्छाअनुसार उनको विवाह भयो ।
विवाहको केही समयमै उनको जीवन बज्रपातको सिकार भयो । विवाह भएको केही समयमै श्रीमानको निधन भयो । त्यतिबेला वेद तीन महिनाको गर्भ हुर्काउँदै थिइन् । एकातिर जीवनसाथी गुमाउनुको असह्य पीडा थियो भने अर्कोतिर भर्खरै सुरु भएको वैवाहिक जीवन र गर्भमा हुर्कँदै गरेको सन्तानको भविष्यको चिन्ता ।
श्रीमानको मृत्युपछि वेदले व्यक्तिगत शोकमात्र हैन समाजको क्रूर व्यवहारको पनि सामना गर्नुपर्यो ।

'त्यतिबेला मेरा धेरै अधिकार हनन् भए । म आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्ने अवस्था आयो,’ उनले भनिन् । एकल महिला भएपछि समाजले उनलाई लगाउने पहिरनदेखि खाने कुरासम्ममा नियन्त्रण गर्न थाल्यो । 'यो खानु हुँदैन’, 'यस्तो लगाउनु हुँदैन’ भन्ने आदेशहरू आफूमाथि थोपरिएको उनले सुनाइन् ।
कतिपयले त उनको निधार र हातखुट्टा हेरेरै 'भाग्य नै खोटो रहेछ’ भन्दै श्रीमानको मृत्युको दोष उनकै टाउकोमा थोपरिदिए । अन्योल र निराशामा उनले जीवनका पाँच वर्ष कठिन सङ्घर्षमा बिताइन् ।
समय सधैँ एकनास रहँदैन । रोएर र पीडामा डुबेर जीवन चल्दैन भन्ने वेदले बुझिन् । उनले आफ्नो लागि नयाँ अवसरको खोजी सुरु गरिन् । यही क्रममा २०६३ सालमा उनले एकल महिलाहरूको हितमा काम गर्ने एउटा संस्थाबारे जानकारी पाइन् ।
संस्थाका प्रतिनिधिहरूसँगको भेटघाट र कुराकानीले उनको आत्मविश्वास बढायो । सुरुमा उनलाई आफूमात्र संसारको सबैभन्दा दुःखी महिला हो जस्तो लाग्थ्यो । तर, समूहमा पुगेपछि उनले आफूभन्दा धेरै पीडा र अभावमा बाँचेका महिलाहरू भेटिन् ।
'मसित घर थियो, खान–लाउन समस्या थिएन, तर समूहमा मैले हिंसामा परेका र चरम आर्थिक सङ्टकमा रहेका दिदीबहिनीहरू भेटेँ । उनीहरूलाई देखेपछि मलाई त म धनी विधवा रहेछु जस्तो लाग्यो र ममा केही गर्नुपर्छ भन्ने हिम्मत पलायो,’ उनले भनिन् ।
त्यसपछि वेद 'मानव अधिकारका लागि महिला, एकल महिला समूह केन्द्र’ मा आबद्ध भइन् । सुरुमा कैलाली जिल्ला सचिवका रूपमा काम गर्ने अवसर पाएकी उनले एकल महिलाहरूलाई संगठित गर्ने, उनीहरूको मनोबल बढाउने र कानुनी परामर्श दिने कामलाई तीव्रता दिइन् । 'मलाई देख्नेहरू पहिले कठै भन्थे, तर जब मैले अरूका लागि काम गर्न थालेँ, त्यही समाजको दृष्टिकोण परिवर्तन हुन थाल्यो,’ उनले भनिन् ।
हाल वेद सोही संस्थाको सुदूरपश्चिम प्रदेश अधिकृतका रूपमा कार्यरत छिन् । उनले सीमान्तकृत र द्वन्द्वपीडित महिलाहरूको उत्थानका लागि ‘शान्ति परियोजना’ मार्फत पनि काम गरिरहेकी छन् । उनकै सक्रियतामा धनगढीको तारानगरमा एकल महिला समूहको आफ्नै दुईतले भवन बनेको छ, जहाँ एकल महिलाहरूलाई सिलाइ–बुनाइ, तरकारी खेती, बाख्रापालन, पोते बनाउने र उद्यमशीलताका विभिन्न तालिम दिइन्छ । धेरै महिला आज यी तालिम लिएर स्वरोजगार बनेका छन् ।
वेदले कठिन समयमा आफ्ना आमाबुवाको साथ पाइन्, जसले उनलाई छोरीलाई शिक्षित बनाउन हौसला दियो । उनकी छोरीले २०७८ सालमा विज्ञान विषयबाट १२ कक्षा उत्तीर्ण गरिन् । उनकी छोरी अहिले भैरहवामा बीएससी एजी अर्थात् कृषि विज्ञान पढिरहेकी छन् ।
‘मैले भोगेको आँधीबेहरीले मलाई छोरीलाई सक्षम बनाउनुपर्छ भन्ने चेतना दियो,’ उनले भनिन् । यति धेरै सङ्घर्ष र सफलताका बाबजुद पनि एकल महिलाहरूले भोग्नुपर्ने कानुनी र सामाजिक चुनौती अझै बाँकी रहेको वेदको अनुभव छ । खासगरि सम्पत्तिको अधिकारमा ठुलो समस्या छ । धेरै एकल महिलाहरूले अंश पाउँदैनन् । परिवारले 'खान–लाउन दिएकै छौँ, अंश किन चाहियो’ भन्दै पन्छाउने गर्छन् ।

सन्तानमा छोरीमात्र भएका महिलाहरूलाई त झन् अंश दिनै नचाहने प्रवृत्ति छ । यसबाहेक यौन शोषण, घरेलु हिंसा र चरित्र हत्या जस्ता समस्याहरूले एकल महिलाहरूलाई अझै पिरोलिरहेको छ ।
नेपालमा कुल जनसङ्ख्याको करिब ८ प्रतिशत एकल महिला छन्, जसमा ८ लाख २६ हजारभन्दा बढी विधवा महिला छन् भने ५९ हजार भन्दा बढी छुट्टिएर बसेका र २१ हजारभन्दा बढी सम्बन्ध विच्छेद भएका महिला छन् । ३५ वर्षमाथिका अविवाहित महिलाहरूको सङ्ख्या पनि ९० हजारभन्दा बढी छ । सुदूरपश्चिममा मात्रै ८६ हजारभन्दा बढी एकल महिला छन् ।
वेदका अनुसार ५२.५ प्रतिशत विधवा महिलाहरू श्रम बजारभन्दा बाहिर छन् र करिब ४० प्रतिशत महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । कतिपय महिलाले नागरिकता नहुँदा राज्यले दिने सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् ।
'स्थानीयदेखि सङ्घीय तहसम्म एकल महिलाहरूको अनिवार्य प्रतिनिधित्व हुनुपर्छ । उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जा र विशेष अनुदानको व्यवस्था गरिनुपर्छ । साथै, स्वास्थ्य बिमाको दायरा बढाएर सबै एकल महिलालाई समेटिनुपर्छ,’ राज्यसँग वेदको माग छ ।
उनले एकल महिलाका नाममा सम्पत्ति दर्ता गर्दा करमा सहुलियत दिनुपर्ने माग पनि जोडदार रूपमा उठाएकी छन् ।
सुरुका दिनमा परिवारको शङ्का र समाजको तिरस्कार झेलेकी वेद अहिले भने एक स्थापित र सम्मानित व्यक्तित्व हुन् ।
‘क्याम्पस पढ्दापढ्दै श्रीमान गुमाउँदा मलाई लाग्थ्यो- अब मेरो संसार सकियो, सङ्घर्षले मलाई नयाँ जीवन दियो,’ उनले भनिन् ।
उनको कामलाई कदर गर्दै कैलाली जनपुस्तकालय र सङ्कल्प जस्ता संस्थाहरूले सम्मान गरिसकेका छन् । उनी एक अन्तर्राष्ट्रिय शान्ति पुरस्कारका लागि समेत छनोट भएकी थिइन् ।
वेदको दैनिकी एकल महिलाहरूकै हकअधिकारको खोजीमा बित्छ । उनी सुदूरपश्चिमका हजारौँ महिलाहरूको हिम्मत र स्वाभिमानको प्रतीक बनेकी छन् ।
'मलाई देख्नेहरू पहिले कठै भन्थे, अहिले म अरूलाई मद्दत गर्ने हैसियतमा छु । यही नै मेरो जीवनको सबैभन्दा ठूलो कमाइ हो,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
-
को–को भिड्दैछन् नकआउट चरणमा ? कसको सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण