भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
सारांश
- भेनेजुएलामा आएको भूकम्पमा एक फुटबलरकी श्रीमतीले छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छिन्।
- भूकम्पमा परी कम्तीमा ९२० जनाको मृत्यु र ३ हजारभन्दा बढी घाइते भएका छन्।
- यस विपत्तिमा दुई फुटबल खेलाडी र पूर्व मिस भेनेजुएलाकी आमाको पनि मृत्यु भएको छ।
काराकास । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छिन्।
स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका अनुसार दुईवटा शक्तिशाली भूकम्पका क्रममा उनकी श्रीमती एन्ड्रियाले आफ्नी साना छोरीको ज्यान बचाएकी हुन्।
बेलोले आफ्नो इन्स्टाग्राममा भावुक पोस्ट लेख्दै आफ्नी श्रीमतीले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र उनको वीरताको कथा छोरीलाई सुनाउने उल्लेख गरेका छन्। उनले अर्को पोस्टमा लेखेका छन्, ‘म छोरीलाई कसरी बुझाऊँ कि तिमीले उनको ज्यान बचाउन आफ्नो ज्यान गुमायौ र म त्यहाँ केही गर्नका लागि उपस्थित थिइनँ? मलाई शक्ति देऊ।’
राजधानी काराकास नजिकै आएको दुई भूकम्पमा परी हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भइसकेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। फुटबलर बेलोले आफ्नी छोरी र उनकी फुपु अहिले काराकासको अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। स्थानीय फुटबल संस्था ‘कुमाना दे काम्पियोनेस’ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम युनिभिजनले पनि बेलोकी श्रीमतीको भग्नावशेषमा पुरिएर मृत्यु भएको र उनकी छोरीलाई जीवितै उद्धार गरिएको पुष्टि गरेका छन्।

गत बुधबार आएको यस महाविपत्तिमा ज्यान गुमाउने अन्य पीडितहरूको पहिचान खुल्ने क्रम जारी छ। भेनेजुएला फुटबल महासंघ र सम्बन्धित क्लबहरूका अनुसार भूकम्पमा परी दुईजना फुटबल खेलाडीको पनि मृत्यु भएको छ। काराकास फुटबल क्लबका १८ वर्षमुनिका खेलाडी राजान सिजाको ला गुइरास्थित आफ्नै घरमा परिवारका सदस्यहरूसहित मृत्यु भएको छ।
त्यस्तै मारिटिमो दे ला गुइरा र क्लब स्पोर्ट सान अगस्टिनको एकेडेमीमा आबद्ध खेलाडी भिक्टर पालासिओसको पनि भूकम्पमा परी निधन भएको छ। क्लबहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिभावान खेलाडीहरू गुमाउनु परेकोमा गहिरो दुःख व्यक्त गरेका छन्।
यसैबिच, पूर्व मिस भेनेजुएला जिजेल रेयेसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको छ। रेयेसले इन्स्टाग्राममार्फत ला गुइरामा रहेको आफ्नी आमाको भवन पूर्ण रूपमा भत्किएको जानकारी दिएकी छिन्।
उनकी आमाको हेरचाह गर्ने नर्सलाई जीवितै उद्धार गरिएको थियो र उनकै अनुसार भूकम्पको कडा धक्का र डरका कारण हृदयघात भएर रेयेसकी आमाको मृत्यु भएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा अझै धेरै मानिसहरू बेपत्ता रहेकाले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवितहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण