लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् । सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उक्त सेवा बन्द गरेपछि बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ । निजी अस्पतालबाट रिफर भई आउने तथा सिधैँ बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेसु डा.गौतमका अनुसार ट्र्याज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ । अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो सङ्केतमा राखी तत्काल उपचार सुरु गरिने उनले जानकारी दिए ।
त्यस्तै, मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो सङ्केतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खंदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरिने उनले बताए ।
अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनाका साथै गम्भीर बिरामीले समयमा उपचार पाउने सुनिश्चितता गर्नेछ । साथै उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताए । उनले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण