रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति जनाएको छ ।
- कांग्रेस सांसद रेणुका काउचाले प्रचलित कानुन विपरीत १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् ।
- उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने ऐनको स्मरण गराउँदै कानुन विपरीत सदस्य बनाइएका बालबालिकाको जगमा उभिएको कार्यसमिति कसरी वैधानिक हुन सक्छ भनी प्रश्न उठाएकी छन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विपरीत सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले त्यस्तो आपत्ति जनाएकी हुन् ।
काउचाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचलित कानुन विपरीत १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् । रास्वपाको पहिलो महाधिवेशनका क्रममा सार्वजनिक भएको तथ्याङ्कलाई उद्धृत गर्दै उनले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को स्मरण गराइन् ।
‘ऐनअनुसार १८ वर्ष नपुगेका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यसो गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था छ,’ उनले भनिन्, ‘के रास्वपा संविधानभन्दा माथि छ ? उसलाई कानुन पालना नगर्दा पनि हुने हो ?’
सांसद काउचाले बालबालिकाको ‘मतको भर्याङ’ चढेर चुनिएका रास्वपाका विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यहरूको वैधानिकतामाथि नै प्रश्न उठाएकी छन् । ‘बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने बालबालिका सम्बन्धी ऐन, २०७५ को स्पष्ट प्रावधान छ,’ काउचाले भनिन्, ‘कानुन विपरीत सदस्य बनाइएका ती बालबालिकाको जगमा उभिएको कार्यसमिति कसरी वैधानिक हुन सक्छ ?’
एकतर्फ विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै स्ववियु र विद्यार्थी सङ्गठनहरू खारेज गर्ने तयारी गर्ने, तर अर्कोतर्फ आफ्नै दलमा कलिला विद्यार्थीलाई झोला बोकाउने प्रवृत्ति सरकारमा सहभागी दलले नै देखाएको भन्दै उनले आलोचना गरिन् ।
‘विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने कुरा गर्ने सरकारले आफ्नै दलमा बालबालिकालाई सदस्यताको लाममा उभ्याउन मिल्छ ?’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
-
नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण