आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?

आइतबार, १४ असार २०८३, १६ : ५५
आइतबार, १४ असार २०८३

सारांश

  • कांग्रेस प्रमुख सचेतक वासना थापाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि प्रश्न उठाउँदै ठगीको अन्त्य हुनुपर्ने बताएकी छन् ।
  • मकै पोलेर, ठेलामा सागसब्जी बेचेर जम्मा गरेको पैसा सहकारीले खाइदिएपछि नागरिकहरू सडकमा आउनु परेको अवस्था चित्रण गर्दै थापाले निम्न र गरिब जनताको बचत फिर्ता हुनुपर्ने माग गरिन् ।
  • थापाले सहकारीको मूल उद्देश्य सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति हुनुपर्नेमा अहिले नाफा कमाउने र ठगी गर्ने माध्यम बनेको आरोप लगाउँदै विधेयकलाई समयसापेक्ष बनाउन आग्रह गरिन् ।

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’माथि प्रश्न उठाएकी छन् । विधेयकमाथि प्रतिनिधिसभामा चलिरहेको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले भनिन्, ‘पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?’

मकै पोलेर, ठेलामा सागसब्जी बेचेर र ससाना काम गरेर जम्मा गरेको पैसा सहकारीले खाइदिएपछि नागरिकहरू सडकमा आउनु परेको पीडादायी अवस्था चित्रण गर्दै उनले त्यस्तो बताएकी हुन् । ‘आफ्नो गाँस काटेर जम्मा गरेको रकम ठगहरूले खाइदिएर छाती फुलाएर समाजमा हिँडिरहेका छन्,’ थापाले भनिन्– ‘निम्न र गरिब जनताको बचत फिर्ता मात्र होइन, भविष्यमा यस्तो अवस्था आउन नदिने गरी नीतिगत सुधार हुनुपर्छ।’

सहकारी क्षेत्रमा देखिएको गम्भीर बेथिति र सर्वसाधारणको बचत ठगी हुने क्रमलाई रोक्न कडा र व्यावहारिक कानुनको आवश्यकता रहेको उनको भनाइ थियो । सहकारीका नाममा भइरहेको ठगीले निम्न वर्गीय नागरिकको बिचल्ली भएको थापाले बताइन् । 

सहकारीको मूल उद्देश्य सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नति हुनुपर्नेमा अहिले नाफा कमाउने र ठगी गर्ने माध्यम बनेको उनको आरोप छ।  ‘सहकारीमा सदस्य नै मालिक र निर्णयकर्ता हुनुपर्ने हो, तर यहाँ बेथिति बढेको छ। सूर्यदर्शन र सानो पाइलाजस्ता सहकारीका बचतकर्ताहरू अहिले रुँदै हिँड्नुपर्ने अवस्था आउनु दुःखद छ,’ थापाले भनिन् । 

सहकारीको समस्या समाधानका लागि थापाले केही ठोस नीतिगत सुझावहरू समेत पेस गरिन् । उनले सहकारीको गठन प्रक्रियालाई आवश्यकताका आधारमा अघि बढाउन र तिनीहरूको पुँजीको आकारमा निश्चित सीमा लगाउनुपर्नेमा बताइन् ।

‘गरिबका आँसु हेरौँ र मनन गरौँ,’ भन्दै उनले विधेयकलाई समयसापेक्ष बनाउन र समस्याको जड पहिचान गरी नीतिगत व्याख्या गर्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप