बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

किन घट्यो सुनको भाउ ?

बुधबार, १७ असार २०८३, १५ : १८
बुधबार, १७ असार २०८३

न्यूयोर्क । विश्व बजारमा बुधबार बहुमूल्य धातु सुनको भाउ घटेको छ। अमेरिकामा सरकारी ऋणपत्र (ट्रेजरी बिल)को प्रतिफल बढेपछि सुनको भाउ दबाबमा परेको हो।

अमेरिका र इरानबीच स्थायी सम्झौता हुने सम्भावना घट्दै जाँदा मुद्रास्फीति बढ्ने र अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)ले ब्याजदर थप बढाउन सक्ने अपेक्षाले पनि सुनको भाउमाथि दबाब बढाएको हो।

बुधबार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य करिब १ दशमलव २१ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ९७६ डलर ७४ सेन्टमा आएको थियो। कोमेक्समा कारोबार सुरु भएदेखि नै सुनको भाउ ओरालो लाग्न थालेको थियो।

बुधबार सुनको भाउ प्रतिऔंस ३ हजार ९६१ डलर ४५ सेन्टसम्मको न्यूनतम बिन्दुमा झरेको थियो। यो गएको नोभेम्बरयताकै सबैभन्दा न्यून स्तर हो। उता, अगस्ट डेलिभरीका लागि अमेरिकी गोल्ड फ्युचर्सको भाउ पनि १ दशमलव ४ प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ९८२ डलर ९ सेन्टमा कारोबार भइरहेको थियो।

विश्लेषकहरूका अनुसार पश्चिम एसियामा जारी तनावका कारण मुद्रास्फीति बढ्ने चिन्ता कायम रहेकाले फेडले ब्याजदर बढाउने सम्भावना बलियो बनेको छ। यसले सुनमा लगानीकर्ताको आकर्षण घटाएको छ। टेस्टीलाइभका ग्लोबल म्याक्रो प्रमुख इलिया स्पिभाकका अनुसार अमेरिकी ट्रेजरी प्रतिफल र अमेरिकी डलर दुवै मजबुत बनेकाले सुनमाथि थप दबाब परेको हो। अमेरिकी डलर बलियो हुँदा अन्य मुद्राधारकका लागि सुन महँगो पर्न जान्छ, जसले मागमा असर पार्न सक्छ।

यसैबीच, क्लिभल्यान्ड फेडरल रिजर्भ बैंककी अध्यक्ष बेथ ह्याम्याकले मुद्रास्फीति अपेक्षाअनुसार नघटेमा ब्याजदर थप बढाउनुपर्ने अवस्था आउन सक्ने बताएकी छन्। बजार विश्लेषणअनुसार सेप्टेम्बरमा अमेरिकी फेडले ब्याजदर बढाउने सम्भावना करिब ६७ प्रतिशत रहेको अनुमान गरिएको छ। लगानीकर्ताको ध्यान अहिले अमेरिकाको जुन महिनाको निजी क्षेत्रको रोजगारी प्रतिवेदन र बिहीबार सार्वजनिक हुने गैरकृषि रोजगारीसम्बन्धी तथ्याङ्कतर्फ केन्द्रित छ। यी विवरणले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

यता, इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल वार्ता नगर्ने बताएपछि अमेरिका–इरानबीच छिट्टै कूटनीतिक समाधान ननिस्कने अनुमान बलियो बनेको छ। त्यसको प्रभावस्वरूप अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ।

बुधबारको कारोबारमा अन्य बहुमूल्य धातुको भाउ पनि घटेका छन्। चाँदीको मूल्य १ दशमलव ८ प्रतिशतले घटेर प्रतिऔंस ५७ डलर ५३ सेन्टमा आएको छ। प्लेटिनमको भाउ शून्य दशमलव ६ प्रतिशतले घटेर प्रतिऔंस १ हजार ५४१ डलर ९५ सेन्टमा झरेको छ भने प्यालाडियम १ दशमलव ४ प्रतिशतले घटेर प्रतिऔंस १ हजार १८७ डलर ९ सेन्टमा आएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप