बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार

बिहीबार, ०७ साउन २०८३, १० : १८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अर्घाखाँचीमा बाँदरको उपद्रोबाट बाली जोगाउनका लागि डिभिजन वन कार्यालयले २० जना 'बाँदर हेरालु' नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।
  • बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थायी बासिन्दा, ४५ वर्ष ननाघेको र वन संरक्षणमा रुचि भएको हुनुपर्नेछ ।
  • छनोट भएका हेरालुले मासिक १२ हजार ५ सय रुपैयाँ तलब पाउनेछन् र बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने मुख्य जिम्मेवारी निर्वाह गर्नेछन् ।

अर्घाखाँची । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो ।

तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ ।

बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

नियुक्त भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा तथा वन कार्यालयमा जानकारी गराउनुपर्नेछ । मुख्य कुरा, बाँदरलाई कुनै क्षति नपुर्‍याई वातावरणीय मैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउनु उनीहरूको मुख्य जिम्मेवारी हुनेछ ।

752698817_2135051007430586_7691442835436826162_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप