केन्द्रीय संस्करण

विभेद नै उच्च जातको धर्म !

दलित महिला जनप्रतिनिधिको अनुभव

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline1

त्यो दिन सम्झँदा आज पनि मन अमिलो हुन्छ । त्यसबेला म विभेद सहन बाध्य थिएँ । विभेदको प्रतिवाद गर्ने क्षमता ममा थिएन । म ग्रामीण भेगको दलित र गैरदलितहरूको मिश्रित समुदायमा जन्मिएकी हुँ । मैले बाल्यावस्थादेखि नै जातीय विभेद भोग्नु र सहनु पथ्र्यो ।

७ वर्षकी हुँदा एक दिन पँधेरामा पानी लिन प्लास्टिकको सानो ग्यालेन लिएर गएकी थिएँ । पँधेरामा हाम्रो घरभन्दा पारिकी बाहुनी आमै नुहाउँदै थिइन् । म सरासर पँधेरातर्फ लम्किँदै गर्दा उनले भनिन्, “एकछिन पँधेरामा भाँडो नडुबाएस् है नानी, चोखो पानी भर्छु ।” त्यतिबेला हस् भनेर उनको प्रस्ताव स्वीकारेर बसेँ । मनमा लाग्यो, दमाइकी छोरी भनेर आमैले पँधेराको पानीसमेत छुन दिइनन् । जब आमैले पानी भरिन्, त्यसपछि बल्ल ग्यालेन भरेर फर्किएँ ।

अलिक दिनपछि त्यही पँधेरोमा हजुरबाले किनिदिएको सानो माटोको घँैटो लिएर पानी लिन गएँ । त्यस समयमा पनि तिनै आमै नुहाउँदै थिइन् । उनी घोप्टो परेर नुहाइरहेको अवस्थामा घँैटो कोखिलामा बोक्ने आत्तुरीले पधेँरामा घैँटो डुबाइहाले । आमैले तर्सेझैँ गरेर हेरिन् र भनिन्, “के गरिस् ए दमिनी केटी ?” उनको मुखबाट दमिनी शब्द सुन्ने बित्तिकै मनमा रिस उठ्यो । उनको कुरा नसुनेझैँ गरी घैँटो निकाल्न खोजेँ । तर पँधेरोको डिल बनाएको ढुङ्गामा ठोक्किएर घैँटो फुट्यो । घँैटाको मुख मात्रै मेरो हातमा आयो, त्यसको ज्यान पधेँरामै खस्यो ।

पँधेरो गहिरो भएकाले फुटेका घैटोको टुक्रा निकाल्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्था देखेर बाहुनी आमै रिसले आगो भइन् र नानाथरी गाली गर्न थालिन् । म भने घैँटो फुटेकोमा हजुरबाको गाली खाने डरले काँप्दै घरतिर लागेँ । हप्तौँ दिनसम्म घँैटो पँधेरामा डुबेर बसिरह्यो । म दिनदिनै हेर्न जान्थेँ, घँैटोको खपटा त्यहीँ छ कि छैन, बाहुनी आमैले पानी भरिन् कि भरिनन् ? आमै बाध्य थिइन् पानी भर्न । किनभने फुटेको घंैटोका टुक्रा निकाल्न सक्ने क्षमता उनमा थिएन । उनी पानी लिन आएपिच्छे कराउँथिन्, “दमाईको घैँटो चोबिएको पानी खानुपरेको छ, पापीहरू, असत्तिहरू, धर्मछाडाहरू ।”

*****

एउटी साथीले सोधिन्, “किन जाँदिनौ बिहेमा ?” मैले भनेँ, “हाम्रो बा त्यहाँ सिलाउन जानुहुन्छ, त्यसैले मलाई पनि छुवाछूत हुन्छ त्यहाँ । मलाई बिहेमा लाने नै हो भने तिमीहरूले मलाई कहीँकतै एकछिन छोड्न पाउँदैनौँ ।”

*****

यसरी गाली गर्दा मेरा बाआमा सुने पनि नसुनेझैँ गरिरहन्थे । विभेद गर्नु उनीहरूको धर्म थियो, विभेद तोडिनु पापी र धर्मछाडा काम । त्यस घटनापछि पनि उनीहरूका धार्मिक कर्म भोगिरहेँ, पाप गरिरहेँ । कहिले हात थापेर पानी खानुपर्ने, कहिले पानी खाएको गिलास पखालेर घाममा सुकाउनुपर्ने र कहिले आगोपानीले चोख्याइएका भाँडा झुक्किएर छोइँदा बाहुनी आमैहरू सुनपानी छर्कने । जब जब उनीहरूका धार्मिक कर्म व्यवहार देख्थेँ, मनमनै सोच्थेँ, “आखिर मान्छे मान्छेबीच किन यति अमानवीय भेदभाव हुन्छ होला ? यस्तो छुनै नहुने र नपाइने धार्मिक नीति नियम कसले बनायो होला ? हामी पनि मान्छे हुन कहिले पाइन्छ होला ? सम्मान पाउन अझै कति समय कुर्नुपर्ला ?”

यस्ता धेरै प्रश्नको उत्तर स्कुल कलेजका किताबमा कहिल्यै पाउन सकिन । मसँग एउटै स्कुलमा पढ्ने साथीमा धेरैजसो ब्राह्मण समुदायकै थिए । २०६२ सालतिर ११ कक्षामा पढ्दै गर्दा एकजना बाहुनी साथीको बिहे हुने भयो । उनले बिहेमा मलगायत ३,४ जना साथीलाई निम्तो गरिन् । मैले साथीहरूलाई बिहेमा नजाने विचार गरेको बताएँ । डर थियो, दमैको छोरी भएकै कारण मलाई भोजमा छुट्टै राखेर खुवाइन्छ कि ?

एउटी साथीले सोधिन्, “किन जाँदिनौ बिहेमा ?” मैले भनेँ, “हाम्रो बा त्यहाँ सिलाउन जानुहुन्छ, त्यसैले मलाई पनि छुवाछूत हुन्छ त्यहाँ । मलाई बिहेमा लाने नै हो भने तिमीहरूले मलाई कहीँकतै एकछिन छोड्न पाउँदैनौँ ।”


साथीहरूले सहमत जनाउँदै भनेँ, “हिँड, तिमी जसरी पनि जानुपर्छ, नत्र भने हामी पनि जाँदैनौँ ।” दुलही साथीलाई उपहार दिन सबै व्यक्तिबाट बराबर पैसा उठाएर कपसेट किनियो । प्याकिङ पेपरले मोडेर झिलिक्क पारेर बेहुली बनेकी साथीको घरतर्फ लाग्यौँ ।

जाँदाजाँदै विवाहघरको आँगनभरि ब्राह्मण समुदायका मानिस देखेँ । मनमा एकाएक त्रास र शङ्काको बादल मडारियो । कसैले हाम्रो बालिघरे दमैको छोरी आई त भन्दैनन् ? कसैले अपमान गरेमा के गर्ने होला ?

बेहुला बेहुली आँगनमा लगाइएको जग्गेमा बसिरहेका थिए । हामी जग्गेतिरै जाँदै गर्दा दुलहीकी सानिमाले हेरिरहेकी रहिछन् । उनले आत्तिएझैँ गरी मेरो अगाडि हिँडेकी साथीलाई बाटो छेक्दै भनिन्, “जे जात पनि नजिकै आउन खोज्ने, अलि पर छेउतिर बसेर हेरे हुन्छ नि ।”

उनले त्यसो भन्दा झसङ्ग भएँ, नराम्रो सपनाबाट बिउँझेझैँ भएँ । मेरै कारण विचरा साथीहरू पनि बाध्य भएर मसँगै पर छेउतिर बसेर हेर्न । मेरो त बाध्यता थियो, जता भन्यो त्यतै बस्नुपर्ने । ममा प्रतिवाद गर्ने किन आएन ? के सबै त्यसरी नै बाध्य र विवश छन् र ? मैले सर्वश्रेष्ठ बुद्धिजीवी मान्ने मेरो बाको व्यवहार पनि नियालेँ । उहाँले दुव्र्यवहार हुँदा विष्टहरूसँग ठाडो शिर गरेर एक वचन कहिल्यै बोल्नुभएन । बाले सहेको देख्दा घरिघरी रिस पनि उठ्थ्यो, उठ्थ्यो प्रश्न पनि ः किन बा बोल्नुहुन्न ?

एउटा बालिघरे दमाईकी छोरीलाई बाका विष्टहरूले गरेको दुव्र्यवहारले प्रश्न नउठाएको होइनँ, म दमाईकी छोरी किन भएँ ? किन मेरो बाले तिनीहरूको कपडा सिलाउनुुुपर्ने ? सिलाएको ज्याला किन एक मानो चामल रुमालमा थाप्नुपरेको ? चामलको साटो पैसा मागे हुँदैन ? ज्याला दिए हुँदैन ? काम गरेको ज्याला उनीहरूकै घरदैलोमा किन माग्न जानुपर्ने ?

आखिर मेरो बाले सिलाएको कपडा राम्रो मानीमानी लगाउने विष्टहरूको शरीर र हाम्रो बाको शरीर उस्तै छ । शरीरभित्रको रगत पनि त सबैको रातो नै छ । आखिर सबैको रगत रातो हुन्छ भने रगतको आधारमा भेदभाव किन ? बा र बाका छोराछोरीको केले सहन र हेपिन बाध्य पारेको छ ? समान हुन र सम्मान पाउने केले छेकेको छ ? कसले अछुत बनाएर अपमान र पीडा सहन विवश पारेको होला ?

भनिन्छ, समय परिवर्तनशील छ । समयसँगै मानिसहरूको सोँच व्यवहार पनि परिवर्तन हुनुपर्ने हो । खै अझै पनि हामी बाँचिरहेको समयमा पनि जातीय विभेद फेरिएको महसुस गर्न पाइएको छैन । समाजमा अछुत भन्दै दमै, कामी, सार्की, गन्धर्व र वादीजस्ता समुदायलाई गरिने गैरदलितको व्यवहार अझै पनि पशुसरह नै छ । हामीलाई पशुलाई जस्तै व्यवहार गर्ने कसरी मानिस भए ?

राज्यले संविधानमा दलित समुदायको कतिपय हक अधिकार सुनिश्चित गरेको छ । जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि ऐन कानुन पनि बनेका छन् । तर ऐन कानुनको हविगत त्यति बेला प्रष्टिन्छ जतिबेला वर्षमा दलित समुदायका दर्जनौँ व्यक्ति छुवाछूत र दुव्यवहारबाट मारिन्छन्, कुटिन्छन् र गाउँबाट विस्थापित हुन्छन् । मुलुक गणतन्त्रमा आएपछि पनि विष्टको निगाहमा गुजारा गर्नुपर्ने दलित समुदाय बालिघरेका नाउँमा लुगा सिउने दमाई बाहरू र हँसिया, खुकुरी बनाउने कामी बाहरूले कहिले स्वतन्त्र र सम्मानित जीवन भोग्न पाउने होला ?

(परियार पाल्पा, रामपुर नगरपालिका वडा नं. ४ की वडा सदस्य हुन् ।)

कमेन्ट

  1. Nov. 17, 2019, 2:19 p.m. sarthak mahara
    मन छुने अनुभव सहितको लेख ।।। समय फेरियो , व्यवस्था फेरियो बिस्तारै बिस्तारै समाजमा किलाको रुपमा गाडिएर बसेको बिभेदको पर्खाल समेत ढलेर जाला तर अझै पनि भोजमा बोलाएर दलितहरुमाथी मानव भन्ने जातिले गर्ने अमानविय व्यवहारहरु सुन्दा पढदा कहिले सुध्रिन्छ होला यो समाज भन्ने सोच्न बाध्य हुन्छु । मन्दिर जानुको अर्थ धर्म कर्म अनि पुण्य कमाउनु भन्ने विश्वास छ , तर विभेद गर्ने समुदायले यो किन बिर्सेका होलान कि मैले जुनसुकै मन्दिरमा गएर पुजापाठ गरेपनि दलित भनेर वर्गाीकरण गरीएको एक समुदाय माथी विभेद गरेर पुण्य कमाएको होईन अझ कठोर पाप गरिरहेको छु ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...