शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

शुक्रबार, २४ माघ २०७६, १५ : ३९
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 
  

 बाग्लुङको तमानखोला गाउँपालिका-३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याग्दी मालिका गाउँपालिका-२ जेम बस्ने २१ वर्षीया रिता पुन समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्वास्थ्य चौकी बोङ्गादोभानमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङतर्फ पठाइएको छ । 

    यसैगरी महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवास्थित सडकमा ज.१ ख ७५८ नम्बरको बसले ज.७ प ८५४५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक पिपरा गाउँपालिका-५ बस्ने १७ वर्षीय राजेन्द्र शर्माको घट्नास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

    यता कञ्चनपुरको भिमदत्त नगरपालिका-१९ बागफाँटास्थित सडकमा पनि म.२ प ७३५८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री ८० वर्षीया तुलसी देवी चन्दको महाकाली अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    बैतडीको  दशरथचन्द नगरपालिका-२ हुसिल्लामोडस्थित सडकमा बा.६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका-९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ। 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप