केन्द्रीय संस्करण
मेरो जीवन

साहित्यकार महेश प्रसाईंको जीवन : २२ वर्षपछि ती प्रेमिकाले धोका दिइन्

person explore access_timeसाउन ३, २०७७ chat_bubble_outline1
फोटो : कृष्ण खड्का

नेपाली कवितामा तीसको दशकमा स्थापित साहित्यकार हुन् महेश प्रसाईं । उनी काव्यप्रवृत्ति बौद्धिक विम्बका माध्यमबाट मनुष्य विघटनका सवालहरुलाई लिएर विद्रोही  शैलीमा देखापरेका छन् । प्रयोगवादी कविका रूपमा समेत चिनिएका उनी सहित्य लेखनको माध्यमबाट प्रतिभा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, लघुकथा पुरस्कार, पिस एम्बेस्डर लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल व्यक्ति हुन् ।
पशुपति क्याम्पसलगायत राजधानीका विभिन्न कलेज हुँदै हाल बानेश्वर बहुमुखी क्याम्पसमा प्राध्यापन पेसामा संलग्न कवि प्रसाईं गीत, कविता, कथा, लधुकथा गरेर विभिन्न तीन दर्जन साहित्यिक कृति बजारमा आएका छन् । विसं २०३६ को सडक कविता क्रान्ति, ०४६ को जन आन्दोलन र २०६२–०६३ को आन्दोलनमा पनि विद्रोही कविका रूपमा चिनिएका उनले २०३३ मा प्रेम विवाह गरेका थिए । विवाह पछि पनि उनको प्रेममा थुप्रै उतार चढावको सामना गर्नुपर्यो । देशका टप १० कवि उभिँदा आफ्नो नाम पनि त्यहीँभित्र अटाएको देख्ने चाहना राख्ने साहित्यकार महेश प्रसाईंको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना 
साधारण दालभात तरकारी र अचार नै मेरो मनपर्ने खाना हो । मननपर्ने त्यस्तो केही छैन । धेरै मनपर्ने खीर हो । दूधबाट बनेका खानेकुराको आइटम बढी मनपर्छ । प्रकृतिले दिएका र नेपाली संस्कृतिले खान मिल्ने सबै खानेकुरा खान्छु ।
साथीभाइ, परिवारलगायतसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा बढी खाने भनेको मम नै हो । पकाउन पहिले रुचि थिएन । अहिले घरमा छोरी, म र श्रीमती मात्र भएकाले कहिले काही पकाउनु नै पर्छ । मासुलगायत सबै प्रकारका परिकार मीठो पकाउन सक्छु ।

मेरो फिट्नेस 
फिट्नेसका लागि त्यस्तो केही गर्दिनँ । बिहानबेलुका नियमित तीन किलोमिटर हिँड्छु । बिहान कलेज बढाउने भएकाले कहिलेकाहीँ बिहान हिँड्न भ्याइदिन ।
बेलुका भने नियमित हिँड्छु । अहिलेसम्म हिँडेरै फिट छु । घरमा एक्सरसाइजका केही सामान राखेको छैन ।

मेरो पोसाक
हामीले जहिले पनि लगाउनुपर्ने दौरासुरुवाल कोट नै हो । केटाकेटीदेखि नै सर्टपाइन्ट लगाउने बानी पर्यो । त्यसैले अहिले क्याजुअल पहिरन प्रयोग गर्छु । फर्मल कार्यक्रम तथा विशेष सभा–समारोहमा जानुपर्दा राष्ट्रिय पोसाक दौरासुरुवाल र कोटपाइन्ट प्रयोग गर्छु । 
सेतो, स्काई कलरको पोसाक बढी मनपर्छ । मेरो टाउकोको संरचना त्यस्तै भएकोले टोपी, ह्याटलगायत लगाउने बानी छैन । ब्रान्डेड नै नखोज्ने बानी भएकाले पहिरन खर्च धेरै छैन । त्यस्तै १०, १५ हजार भए पुग्छ । 

मेरो अध्ययन
त्रिभुवन विश्वविद्यालयबाट मैले म्यानेजमेन्ट र एमबीए गरेको छु । अनि एलएलबी तीन वर्षे कोर्स गरेको हो । साहित्य अध्यायनको कुरा गर्ने हो भने पुस्तक पाएसम्म, भेटेसम्म र समयले भ्याएसम्म सबै प्रकारका किताब पढ्ने गरेको छु । यस्तो पढ्छु भनेर आडम्बर कुरा गर्दिनँ ।
मेरो नियमित अध्ययनको समय भनेको साँझ नै हो । कहिलेकाहीँ फुर्सद हुँदा दिनमा पनि अध्ययन गर्छु । कविता, उपन्यास, कथा, व्यक्तिगत जीवनी, मानिसको सङ्घर्षका कथालगायत अध्ययनमा रुचिका विषय हुन् ।
पढेको मध्ये मनपरेको पुस्तक मुनामदन, लेखनाथका कविता, भूपि शेरचनका पुस्तकहरु हुन् ।

मेरो फुर्सद 
बिहानको समय कलेज पढाउने भएकाले ११ बजेपछि म प्रायः फुर्सदमै हुन्छु । यो समय साहित्यिक कार्यक्रम, साथीभाइ भेटघाट, आफन्त भेटघाट, मिडियाकर्मी भेटघाटमा बित्ने गर्दछ । 
म साथीहरु माझ रमाउन मन पराउने मानिस भएकाले साथीभाइ भेट्ने र सामाजिक काममा फुर्सदको समय दिनेसमेत गर्दछु । उत्पादनमूलक र फाइदा हुने काममा समय दिन सकिरहेको छैन ।

मेरो खेलकुद 
खेलकुदमा फुटबल बढी मनपर्छ । स्कुल, कलेज पढ्दा फुटबल धेरै खेल्थेँ । कलेज अध्ययनको समयमा पढाइतिर  बढी ध्यान दिएकाले खेलकुद छुट्यो । अहिले टिभीमा फुटबल हेर्छु । फुटबलका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल हेर्न मनपर्छ ।
 
मेरो मोबाइल
अहिले मसँग सामसुम ब्रान्ड एउटा स्मार्ट मोबाइल छ । फोन गर्ने, उठाउने, फेसबुकमा साथीभाइ, आफन्तको जन्मदिन विस गर्नेलगायत कामका लागि प्रयोग हुन्छ ।
योबाहेक मोबाइल अन्य प्रायोजनामा ल्याउन सकेको छैन । करिव वर्षमा एउटा मोबाइल फेरेकै हुन्छु । त्यसको कारण चाहिँ कि हराउने, कि बिग्रने हो ।

मेरो टिभी 
टिभी बेलुकाको समय हेर्छु । टिभीमा बढी हेर्ने भनेको समाचार मात्र हो । समाचार पहिले देशको हेर्छु, त्यसपछि विदेशका पनि हेर्छु । टिभीमा सिरियल, कमेडी आदि हेर्न मनपर्दैन ।  
 
मेरो चलचित्र
चलचित्र हेर्न मनपर्छ । राम्रा चलचित्र मात्र हेर्छु । राम्रा कलाकार भएका, आर्ट खालका, समीक्षा राम्रो आएका, चलेका फिल्महरु हेर्छु । ‘छक्का पन्जा’ ब्रान्डका फिल्महरु हेरेको छु । 
चलचित्र हलमै हेर्न मनपर्छ । धेरै चलचित्र हलमै गएर हेरेको छु । हिन्दीमा थ्री इडियट्स, डर्टी पिक्चर जस्ता समाजका विसङ्गति, विकृति समेटिएको, राजनीतिक विचलको विरुद्ध आवाज उठाइएका फिल्म बढी हेर्छु । 

मेरो पेसा
पेसा, रुचि जे भने पनि साहित्य नै हो । विसं २०२९ सालदेखि म निरन्तर साहित्यमा छु । कविता, कथा, लघुकथा, निबन्ध, नाटक लगायतमा कलम चलाउँछु ।
साहित्यमा मेरो रुचि हुनुमा पनि एउटा कथा छ । म  जन्मेको तीन महिनादेखि मामाघरमा हुर्किएको हो । भाषाशास्त्री महानन्द सापकोटा मेरो मामाघरको हजुरबुबा हो । म उहाँकै लालनपालनमा हुर्किएको हुँ ।
उहाँका छोराहरु जगदीश न्यौपाने लघुकथाकार हुनुहुन्थ्यो । मेरो मामाघरमा नेपाली काँग्रेसको राजनीति, साहित्य र संस्कृतिको कुरा बढी हुन्थ्यो । घरमा प्रशस्तै साहित्यका पुस्तकहरु पनि हुन्थे । त्यहाँ धेरै किताब पढ्न पाइन्थ्यो । मामाघरको त्यो वातावरणले थाहा नपाई नपाई मेरो साहित्यतिर रुचि बढ्यो । साहित्यमा कलम सानैबाट चलाउन थालेको थिए । स्कुल पढ्दा कविता, गीत लेख्थेँ । साहित्य छापिन थालेको विसं २०२९ बाट हो । त्यो समय म आइकम फस्ट पढ्थे ।
अहिलेसम्म कविता, कथा लगायत गरेर २० साहित्यिक कृति प्रकशनमा आएका छन् । आफैले सम्पादित गरेका कृति भने ४० बढी प्रकाशिन छन् । मेरो रुचि, लगाव, साधना नेपाली सहित्य हो ।

मेरो सपना 
म महत्त्वाकाङ्क्षी मानिस पनि होइन । महत्त्वाकाङ्क्षा रहित भएर जीवन बाँच्ने पक्षमा पनि म छैन । केही न केही सृजनशील काम गराँै नेपाली साहित्यको उत्थानका लागि भन्ने चाहनामा छ ।
म साहित्यको पाटोबाट प्रयोगवादी चिन्तन, प्रगतिशील चिन्तन, अत्याधुनिक चिन्तन राखेर विश्व परिस्थितिमा के भइरहेको छ ? देशको परिस्थितिलाई आत्मसात गरेर लेख्न मन पराउँछु । त्यसैमा आफ्नो उल्लेखनीय प्रस्तुति रहोस् अबका दिनमा पनि । देशका टप १० कवि उभिँदा आफू पनि परियोस् भन्ने चाहना पनि हो । 

मेरो प्रेम
वि.सं. ३१–३२ मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा स्नातक तहमा अध्ययन गर्थें । त्यसबेला स्ववियु सभापति पनि थिएँ म । १८ वर्षको उमेरमै स्नातक तहमै पढ्ने केटीसित प्रेम प्रसङ्ग चल्यो । उनी विराटनगरकी  इन्दिरा थिइन् । राजनीति र साहित्य दुवै क्षेत्रमा हामी सक्रिय थियौँ । पञ्चायतकालको जगजगी थियो । वातावरण खुल्ला थिएन । तथापि उनले नै मसँग प्रेमको प्रस्ताव ल्याइन् । 
उनी समय र संस्कारभन्दा अलि बढी नै उग्र थिइन् । म आफू इनोसेन्ट थिएँ । उमेरको रङ्ग चढेकाले म पनि उनको प्रेममा चुर्लुम्म डुबेँ । हामी भेटघाट गर्दा साहित्यिक एवं राजनीतिक समारोहमा सगोलमा गथ्यौँ । यसो भनेर हामी दुईजना जोडी बनेर खुबै घुम्थ्यौँ ।

त्यसबेलाको विराटनगरमा हाम्रो प्रेमको चर्चाले ठूलै रूप लिएको थियो । उनी शरीरको आकर्षणमा थिइन् । पछि मात्र यो कुरा मैले बुझेँ । तर प्रेमको पवित्रतालाई बचाउने प्रयास गरेँ मैले । 
मेरो विवाह वि.सं. २०३३ साल माघ २६ गते इन्दिराको परिवारको स्वीकृतिबाटै विधिवत् सम्पन्न भयो । उनीबाट मेरा तीन छोरीहरु गीताञ्जली, निकेतिका र अनुकृतिकाको जन्म भयो । विवाहपछि २०५१ सम्म विराटनगरमै घरजम गरेर बस्यौँ ।

२०५१ फागुनमा छोरीहरुको उच्च शिक्षाका लागि काठमाडौँ आयौँ । काठमाडौँ आएपछि २०५१ सालदेखि ०५४ सालसम्म मेरी पत्नीको प्रेम प्रसङ्ग प्रसाईं थरकै व्यक्तिसित हाडनातामा चल्न थालेको रहेछ र २०५५ मा मैले बाध्य भएर कानुनी रूपमा अलग्गिनु प-यो । 

अहिले ती प्रेमीका मेरो साथमा छैनन् । विवाह भएको २२ वर्षपछि उनले धोका दिइन् । त्यसपछि मेरो पारिवारिक जीवन लथालिङ्ग भयो । 
फलस्वरूप जेठी छोरीको सल्लाह बमोजिम मैले अर्को विवाह गर्नुप-यो, छायाँसित । छायाँ मेरो जीवनमा आएपछि एउटी छोरी जन्मिइन् । आजकल जीवन सुखद् ढङ्गबाट अगाडि बढिरहेको छ । मेरो सिर्जना र रचनात्मक कार्य अझ तीव्र गतिमा अगाडि बढिरहेछ । प्राध्यापन पेसामा छु । जीवन चल्ने क्रम जारी छ ।  

मेरो दुःख 
व्यक्तिगत दुःख केही अहिलेसम्म छैन । देशको हिसाबले केही दुःख छन् । संसारको सबैभन्दा सुन्दर देश हो हाम्रो । यहाँ सुन्दर मानिसहरु पनि छन् । यो तपोभूमि, बैद्धिक भूमिसमेत भनेर चिनिएको छ । यो देशमा पहिलेदेखि अहिलेसम्म राजनीतिक बिचलन रहिरह्यो । राजनेताको रूपमा यो देशले विशेस्वरप्रसाद कोइराला बाहेक अर्काे व्यक्ति पाउन सकेन ।
पानी बेचेर पनि सम्पन्न हुन सक्ने प्राकृतिक सौन्दर्यले भरिपूण यो देशले राम्रो राजनेता नपाउनु मेरो मात्र होइन यो देशका सबैको एउटै दुःखको हो । यहाँका राजनीतिक पार्टीले देश बनाउने भन्दा बिगारेका छन् ।  

मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ सुन्छु । हिन्दीमा महमतरफी, लता, आसा भोसले, मुकेस, किशोरकुमार, नेपालीमा नारयण गोपाल, बच्चु कैलास, रामकृष्ण ढकाल, शिशिर योगी, अरुणा लामा, तारादेवीलगायतका गीत मनपर्छ । अनुकुल समय भयो कि गीत सुन्छु । मैले गीत धेरै लेखेको छु । करिब एक दर्जन बढी रेकर्डसमेत भएका छन् । 

मेरो मापसे
म २०५१ मा काठमाडौँ छिरेको थिए । त्यो समय काठमाडौँ मापसे सिकेको थिइन् । व्यक्तिगत जीवनमा आएका तनावले हल्का मापसे गर्न थाले । पेसाले साहित्य लेख्ने, टिचर भएको जथाभावी खान पनि नैतिकताले दिएन ।
साथीभाइ, आफन्तको कारणले कहिले काहीँ खानैपर्ने हुन्छ । मैले अन्तर्जातीय विवाह गरेकाले ससुरालीमा सगुनको रूपमा पनि खानुपर्छ । तर धेरै लिन्न । एक दुई पेक मात्र ।

मेरो भूल
जीवनमा जानीनजानी भूल धेरै भयो होला । भूल नगर्ने मानिस हुँदैन । जीवन जुन रूपमा अगाडि बढाउनुपर्ने हो ।  त्यो मैले गर्न सकिन ।
पहिले म वाणिज्य बैङ्कको स्थायी कर्मचारी थिए । आवेशमा आएर राजीनामा दिए । त्यो नछोडेको भए मेरो अहिले आर्थिक पाटो धेरै राम्रो हुन्थ्यो होला । त्यो एउटा भूल भयो ।
नेपाली साहित्यमा रुचि राख्ने मानिस म । कमर्स र ल पढे  यो पनि अर्काे भुल हो । यसले गर्दा मैले पीएचडी गर्न सकिनँ । कलेजको लेक्चरलमा पुगेर टुङ्गिए । आफ्नो जीवन निर्धारण गर्ने कुरामा म धेरै चुके ।

मेरो रोग
भगवानको कृपाले त्यस्तो ठूलो रोग केही छैन । अहिले आएर अलिअलि सुगर र प्रेसर देखिएको छ । त्यसका लागि औषधि खाँदैछु । कट्रोलमा आएको छ । 

मेरो राशि  
मेरो राशि वृश्चिक हो । ग्रहदशामा हेराउदिनँ । मेरो बुबा गणेसप्रसाद प्रसाईं प्रख्यात ज्योतिष हुनुहुन्थ्यो । ज्योतिषको छोरो म । तर धेरै यसको पछि लागिनँ । 
म आस्तिक पनि हो । तर सधैँ मन्दिर धाउनेमा पर्दिन । गर्नै पर्ने धार्मिक कर्म गर्छु ।
  
मेरो मृत्यु
मृत्यु ध्रुव सत्य हो । जन्मिएपछि एकदिन मर्नैपर्छ । मृत्यु नबिउतिने बोहोसी हो । आफूले गरेको गलत कर्मबाट हुने  ग्लानी पनि एक किसिमले मृत्यु नै हो । 
यो शरीर सदासदाका लागि छोड्ने मृत्यु त थाहा नै हुँदैन । मैले जति पनि साहित्यिक कृति दिएको छु । त्यसले मलाई मृत्यपछि पनि जीवित राख्छ भन्ने विश्वास रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. July 18, 2020, 10:57 p.m. Paras kc
    मितिमा अलि गड्बडी जस्तो लाग्यो। जस्तो नइ प्रकाशनको शुरुवात 2052 मा। वहाहरुको सम्बन्ध अलग 2055 मा। सिलसिला अलि मिलेन। कृपया सच्याउन जरुरी ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.