शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोलीद्वारा अनुगमन सुरु

आइतबार, ०६ जेठ २०७५, १४ : ४०
आइतबार, ०६ जेठ २०७५

चितवन– कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ ।  पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा.हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आज बिहानदेखि रगतको नमूनासमेत लिन शुरु गरेको छ । मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण देखिएको छैन भन्दै उनले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताए । 

बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ । प्राविधिक टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट के कसरी भएको छ भन्ने जानकारी पनि लिएको झाले बताए ।  यसैबीच बर्डफ्लु प्रभावित क्षेत्रमा कुखुरा मार्न रोकेका व्यवसायी कुखुरा मार्न राजी भएपछि काम शुरु भएको छ । शनिबार बिहान त्यहाँका दुई खोरमा कुखुरा मार्दामार्दै उनीहरुले कुखुरा मार्न छुट्याइएको चार किल्ला व्यावहारिक छैन भन्दै कुखुरा मार्न रोकेका थिए । 

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले किसान, व्यवसायी र सरकारी प्राविधिक टोलीबीच छलफलपछि कुखुरा पुनः मार्न र कुखुराजन्य पदार्थ नष्ट गर्न थालिएको बताए । सो क्षेत्रमा रहेका कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए । 

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको छ । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप