शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा: मन्त्री विश्वकर्मा

बिहीबार, १२ मङ्सिर २०७६, १४ : ३६
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन् । उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समुद्घाटन गर्नुहुनेछ ।’ 

साक्षात्कारमा मन्त्री विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।  १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए । उनकाअनुसार महिला र पुरुष भलिबलका खेलहरु सुरु भैसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो ।’–उनले भने । 

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै उनले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ उनले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिंगार्ने काम पनि भैरहेको जानकारी दिए । 

उनले उद्घाटन समारोहमा देशका ख्यातीप्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने, ‘सबै हिसाबले तयारी पुरा भैसकेको छ ।’
सागलाई सफल तुल्याउनको लागि सबै क्षेत्रबाट साथ र सहयोग भएको भन्दै उनले धन्यवाद दिए । सागको समापन यही मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाहुनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ । 
सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिइएको उनले बताए । मन्त्री विश्वकर्माले भने, ‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’  दक्षिण एसियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराइने तयारी रहेको पनि उनले जनाए । उनले भने, ‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।  सागलाई व्यवस्थित गर्नको लागि स्वयम्सेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि उनले स्पष्ट पारे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप