शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : संघीय संसदको हिउँदे अधिवेशन सुरु, अन्तर्राष्ट्रिय खेलाडी छनोटमा सकस

शुक्रबार, ०४ पुस २०७६, १९ : १९
शुक्रबार, ०४ पुस २०७६

संसद अधिवेशन 

संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेश औपचारिक रुपमा आरम्भ भएको हो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशनको आव्हान र अन्त्य भएको घोषणा गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उपभामुख तुम्बाहाम्फेले पढेर सनाएकी थिइन् ।

त्यसैगरी, शुक्रबार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।यसैबीच, प्रतिनिधिसभाको पुस ११ गते बस्ने प्रतिनिधिसभा बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको छ ।

शुक्रबार बसेको कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरको हो । अधिवेशको पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको हो ।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिने गरिन्छ । संसदको पाँचौ अधिवेशन अर्थात् विधेयक अधिवेशनमा छलफलका लागि तयारी अवस्थामा रहेका विधेयकहरु अधिकांश विवादित छन् ।

चौथो अधिवेशनपछि राष्ट्रियसभामा २ वटा र प्रतिनिधिसभामा ६ वटा  नयाँ विधेयक दर्ता भएका छन् । चौथो अधिवेशनमा पारित हुन बाँकी ८ वटा विधेयक सांसदलाई अध्ययनका लागि बाडिएको छ । १५ वटा विधेयक विषयगत समितिमा छलफलका क्रममा छन् ।

दिनानाथ शर्मा

यता, राष्ट्रियसभाको पाँचौ अधिवेशनको पहिलो दिन राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताएको छन् । बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताए ।

एक फरक प्रशंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागि नुहने गुनासो आएको बताए । समितिका सभापतिहरुले आफ्नो विधेयकहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भए पनि सम्बन्धित मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगाडि बढाउन समस्या आउने गरेको उनले बताए ।

उनले यही अधिवेशनबाट केही सांसद विदा भएर जाँदा दुःख लागेको बताउँदै नयाँ सदस्यहरु भित्र्याउँदा राष्ट्रियसभाको गरिमा उच्च राख्न अझ बौद्धिक र अनुभवि व्यक्ति ल्याउन राजनीतिक दलहरुलाई आग्रह गरे ।

शिक्षा समिति

शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा अड्किएको छ । अन्तर्राष्ट्रिय खेलमा सहभागि भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागि हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ ।

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिइन् ।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागी हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताए ।
सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागि हुनु फरक कुरा भएकाले सहभागि हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताए ।

प्रकृया पुरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएपनि सहभागिलाई समेत मान्यता दिनुपर्ने धारणा उनको थियो ।  

विकास समिति 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन् ।

विकास तथा प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए । 

उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढ्कालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए ।

त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको बताए ।

सार्वजनिक यातायातहरुले सेवामुखिभन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा दुर्घटना बढेको उनले बताए ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भइसेको छ । यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानविय र यान्त्रीक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए ।

त्यसैगरी विकास समितिमा सांसदहरुले सरकार यातायात व्यवसायीको नियन्त्रणमा भएकाले सवारी दुर्घटना बढेको बताएका छन् । सांसदहरुले मन्त्रालयले मानविय र यान्त्रीक कारणले दुर्घटना बढेको भन्दै तथ्याङ्क जम्मा गरेर बस्ने काम मात्रै गरेको भन्दै आलोचना गरेका थिए ।

कर्णाली स्वास्थ्य 

कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामी सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाण्डौ जाँदा हेलिकोप्टर चाटर्डमा राज्यकोषको ठूलो रकम दुरुपयोग भइरहेको छ । 

जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय सैया छन् । प्रतिष्ठानले सबै जिल्लाका बिरामीलाई उपचार गर्न सक्ने क्षमता पनि राख्दछ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्दा कुनै विकसित शहरको मेडिकल अस्पताल भन्दा कम लाग्दैन । तीन बेडको सघन उपचार कक्ष (आइसीयु) पनि सञ्चालनमा छ । मेडिकल कलेजको रुपमा विकास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक किसिमका जटिल रोगहरुको पनि उपचार संभव छ ।

तर छोटो दुरीको प्रतिष्ठानमा उपचार नगराई त्यस क्षेत्रका विरामीलाई सुर्खेत र काठमाण्डौ लैजाने गरिएको र सो क्रममा राज्यकोषको ढुकुटी दुरुपयोग भएको दाबी जिल्ला समन्वय समितिको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिको अनुगमन टोलीसँगको अन्र्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले हेलिकोप्टर चाटर्ड गर्दा राज्यको लाखौं रुपैया दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।

नजिकै सुविधा सम्पन्न अस्पताल हुदा हुदै उपचारको नाममा भएको रकमको दुरुपयोग रोक्ने प्रयास नगरि राज्यले आफ्नो निरिहता देखाएको आरोप पनि उनले लगाए । डोल्पा, हुम्ला लगायतका स्थानबाट आधा घण्टामा प्रतिष्ठानमा हेलिकोप्टरबाट पुग्न सक्ने भएपनि त्यस क्षेत्रका बिरामीलाई सुर्खेत तथा काठमाडौं ल्याईने गरिएको छ । 

त्यसो गर्दा लामो दुरीका कारण कतिपय विरामीको बाटो मा नै मृत्यु हुने गरेको छ ।  प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन कुमार रोकायले २० जना मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकसहित २८ जनाले सेवा दिइरहेको बताए ।
दुर्गम हिमाली जिल्ला भएकाले प्रतिष्ठानमा विद्युतको समस्या सबैभन्दा बढी छ । विद्युत कै कारण विभिन्न मेडिकल उपकरणहरु सञ्चालनमा समस्या रहेको डा. रोकायले बताए । 

उनले हिंउँदमा हिउँ पर्ने र वर्षादको समयमा बाटो अवरुद्ध हुने हुुँदा औषधिको अभाव हुन गई विरामीको उपचारमा कठिनाई हुने गरेको समेत बताए । तर पनि चिकित्सकहरुको सावधानी र विज्ञताले जटिल रोगहरुको उपचार तथा सल्यक्रिया पनि भइरहेको उनले बताए ।

दुर्गम क्षेत्र भएकाले प्रतिष्ठानमा विद्युत् आपूर्ति, औषधी, रगत तथा रगतजन्य सामग्रीहरुको अभाव हुँदा बिरामीको उपचारमा बेला बेलामा समस्या देखिने गरेको छ ।

यस्ता समस्यालाई सम्बोधन गर्दे उपचार संभव भएर पनि ठूलो रकम खर्चेर टाढाको अस्पताल लैजाने प्रवृत्तिको अन्त्य गर्ने तर्फ सरकारले समयमै सोच्नुपर्ने देखिन्छ । अन्यथा प्रतिष्ठान र उपचारको नाममा हेलिकोप्टर चाटर्डमा राज्यकोषबाट हुने दोहोरो खर्च रोकिने देखिदैन ।


अनलाइन पत्रकारीता 

नेपालमा अनलाइन पत्रकारीताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।  अनलाइन पत्रकारीताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा सरोकावालाहरुले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाईनहरुको संख्या बढेको बताए । 

समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचारमाथिको विश्वसनियतामा अझैपनि पाठक ढुक्क बन्न नसकेको उनको धारणा थियो ।

प्रवेश सुवेदीले अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताए ।

आइसीटी भेला

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रविधिको क्षेत्रमा उन्नती नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने बताए । आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको उद्घाटन शत्रमा बोल्दै सचिव सुवेदीले डिजिटल नेपालको अभियान पनि यसैका लागि भएको बताए । उनले कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन तथा वित्त क्षेत्रमा डिजिटल नेपालको ढाँचा अनुसार काम भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्ने बताए ।

डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिन मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताए ।

५० वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरुले बनाएका नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएको उनले बताए । मेलामा रोवर्टहरुको फुटबल, नास्टले तयार पारेको नानो स्याटेलाईट तथा नेपालीहरुले नै बनाएका रकेट स्याटेलाइटहरुको प्रदर्शनी मुख्य आकर्षण रहेको उनले बताए  ।

किया मोटर्स

किया मोटर्सको आधिकारीक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । 

विश्व प्रख्यात कोरियन गाडी उत्पादक कम्पनीको यो शोरुममा विक्री, सर्भिस, स्पेयर पार्ट लगायतका सबै सेवा पाउन सकिने कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।

शोरुममा किया मोटर्सले उत्पादन गरेका विभिन्न भेरियन्टका गाडी पाउने समेत कम्पनीले जनाएको छ । 

शोरुम सञ्चालनमा ल्याएसँगै कम्पनीले किया सेल्टोसको पनि अनावरण गरेको छ । कम्पनीले ग्राहकहरुको अत्याधिक माग रहेपछि किया सेल्टोसको पनि विक्री सुरु गरिएको जनाएको छ ।

गाडीमा एसयूभी इलोक्ट्रोनिक पार्किङ ब्रेक, आकर्षक टच स्क्रिन, ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल लगायतका विशेषता रहेको छ । 

त्यस्तै यो गाडीको विभन्नि ५ भेरियन्ट विक्रीका लागि नेपाल ल्याउन लागिएको समेत कम्पनीले जनाएको छ । कम्पनीले सेल्टोस गाडीको मूल्य विभिन्न फरक भेरियेन्ट अनुसार ४९ लाख ९० हजार रुपैयाँ देखि ६६ लाख ९० हाजर रुपैयाँ सम्म तोकेको छ । किया जाउलाखेलले शोरुम सञ्चालनमा ल्याएसँगै १ लाख ५० हजार सम्मको नगद छुट दिएको समेत जनाएको छ ।

 त्यस्तै किया जाउलाखेलबाट अत्याधुनिक सुबिधा सहितका बिद्युतिय गाडीपनि नेपाली बजारमा बिक्री सुरु गरिएको छ । कियाले यस अघि बिक्री गर्दै आएको  स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप