शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय राजदूतको बिदाइमा देउवाले गरे निवासमा भोज

सोमबार, ०७ पुस २०७६, १३ : ०५
सोमबार, ०७ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् । 

सोमबार  देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो । 
सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ । 

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् । 

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो । 

काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहकाबीच राजपाले राजदूत पुरीको बिदाइ गरेको थियो ।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए । 

यसअघि आइतबार पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका थिए ।

यस्तै मंसिर २३ गते राजदूत पुरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर विदाइ भेट गरेका थिए । 

पुरीको कार्यकाल सकिएसँगै नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप