सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

फोन ट्रयाकिङ् गर्ने सरकारको योजना नागरिककै सुरक्षाका लागि हो: मन्त्री ज्ञवाली

बुधबार, १६ पुस २०७६, २२ : ३९
बुधबार, १६ पुस २०७६

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकको राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन् । क्लासिक एफ.एम. १०१.२ मेगाहर्जको २४ औं वार्षिकोत्सव समारोहको उद्घाटन गदै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अहिलेको लोकतन्त्र आउनुमा सञ्चार क्षेत्रले खेलेको भूमिकाको समेत प्रसंशा गरे । मन्त्री ज्ञवालीले नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न नसक्ने बताए । अर्को एक प्रसंगमा मन्त्री ज्ञवालीले फोन ट्रयाकिङ् गर्ने सरकारको योजना नागरिककै सुरक्षाको लागि ल्याउन लागेको दाबी गरे । 

क्लासिक एफएमका निर्देशक तथा राजनीतिक विश्लेषक प्रकाश पोख्रेलले मिडिया विधेयकमार्फत सरकारले संविधानको मर्मविपरित जनताको मौलिक हक कुण्ठित पार्ने खालको प्रयत्न गरिरहेको आरोप लगाए । संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेलमा बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिनुपर्ने जस्ता प्रावधान लोकतन्त्रको भावना र मर्म विपरित रहेको समेत उनले बताए । 

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ को बारेमा सत्तारुढ नेकपाका नेताहरु नै विभाजित भएको बताए ।  पूर्वमन्त्री गिरीले सरकारले अहिले ल्याउन लागेको सूचना तथा सञ्चार प्रविधि नीतिमा पनि नेकपाका नेताहरुमा नै विभाजित भएकोले यो कदम आमसञ्चारमाध्यमको पक्षमा नरहेको जिकिर गरे ।

२०५२ सालमा आजकै दिनदेखि रेडियो नेपालको १०० मेगाहर्जबाट प्रसारण आरम्भ गरेको क्लासिक एफएम नेपालको पहिलो व्यवसायिक एफएम रेडियो स्टेशन हो । यस एफएमका संस्थापक स्वर्गीय राकेश लामिछानेको स्मृतिमा स्थापित ‘राकेश लामिछाने स्मृति बरिष्ठ सञ्चारकर्मी सम्मान’ बाट यस वर्ष बरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्मालाई सम्मानित गरिएको छ । यो सम्मानबाट यसअघि २०७५ सालमा बरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार किरण खरेल र २०७४ सालमा बरिष्ठ सञ्चारकर्मी ध्रुव थापा र गौरी केसी सम्मानित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप