शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा खाद्यान्नको कुनै समस्या छैन, हामीसँग तीन महिना धान्ने भण्डार छः व्यवसायी

मङ्गलबार, २७ फागुन २०७६, १८ : ०४
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । बजारमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको व्यावसायीहरुले बताएका छन् । मंगलबार राजधानीमा चेम्बर अफ कमर्सद्धारा आयोजित कार्यक्रममा बोल्दै खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधी व्यवसायी लगायत माक्स तथा सेनिटाइजेसनका व्यववसायीहरुले बजारमा वस्तु तथा सेवाको कुनै खालको अभाव नभएको बताएका हुन् । 

कार्यक्रममा बोल्दै व्यवसायीहरुले बजारमा खाद्यन्न तथा दैनिक उपभोग्य वस्तुहरुको कुनै अभाव नभएको तर हल्लाले गर्दा उपभोक्ताहरुको मानस्थिति तरङ्गित हुँदा आवश्यकता भन्दा बढि सामान किन्न उद्दत भएको बताएका छन् । यसले वस्तु खपत धेरै हुन गई केहि समय बजारमा समस्या आएको बताएका छन् । 

नेपाल खाद्यान्न संघले विश्व कोरोनाको महामारीको सन्त्रासका बीचमा उपभोक्ताहरुले डरको मानसिकताले बजार अभाव हुने आशंकामा संयमितता गुमाउँदा समस्या आएको बताएको छ ।  संघले बजारमा हल्ला फैलिएजस्तो समस्या नभएको भन्दै संयमितता नगुमाउन र आवश्यकता भन्दा बढि वस्तु तथा सेवा खरिद नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । यस्तो समयमा व्यावसायीहरुले वस्तुको बजार मूल्य भन्दा बढि मूल्य समेत नलिएको बताएका छन् । 

नेपाल तेल दाल चामल व्यवसायी संघले बजारमा त्यस्तो कुनै समस्या नभएको बताउँदै उपभोक्ताहरुलाई हतोत्साहित नहुन र संयमित हुन आग्रह गरेको छ । संघका पदाधिकारी अजय पराजुलीले अहिलेको अवस्थामा कहि कतैबाट पनि आपूर्ति नभएपनि मुलुकलाई ३ महिनासम्म धान्ने खाद्यान्न स्टोर रहेको जिकिर गरे ।

‘बजारमा दाल चामल तेल लगायतका खाद्यान्नलाई लिएर चिन्ता दिनुपर्दैन,  हामीसँग तीन महिनालाई धान्ने खाद्यान्न स्टोर छ । र अरु आपूर्ति हुने क्रममै छन् ।’ व्यवसायी पराजुलीले भने, ‘यस्तो अवस्थामा धैर्यता नगुमानुहोस्, हामी तपाईहरुलाई सहज आपूर्तिको प्रतिबद्धता दिन्छौं ।’

यसै अवसरमा पराजुलीले बजार अभावका क्रममा व्यवसायीहरुले आफु खुशी मूल्य वृद्धि गरेको भन्ने विषयमा प्रष्ट्र पार्दै त्यस्तो कहि कतै नभएको र भूकम्पको बेलामा समेत सहज आपूर्ति व्यवस्था मिलाएको स्मरण गराए । त्यस्तै, खाद्यान्न व्यवसायी देवेन्द्रभक्त श्रेष्ठले ३ महिनालाई पुग्ने खाद्यान्न आफुहरुसँग भएपनि उपभोक्ताहरुको सन्त्रासको मानसिकताले समस्या निम्तिएको बताए । 

त्यस्तै, मुलुकमा नुनको एकाधिकार पाएको नेपाल साल्ट ट्रेडिङ्गले पनि बजारमा नुनको अभाव नभएको र भोलिका दिनमा पनि अभाव हुन नदिने बताएको छ । साल्ट ट्रेडिङ्गका अध्यक्ष उर्मिला श्रेष्ठले आफुहरुसँग प्रयाप्त नुन, चिनी रहेकाले उपभोक्ताले आत्तिनुनपर्ने बताए । 

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले हाल साल्ट ट्रेडिङ्गसँग ५० हजार बोरा चिनी स्टक रहेको र बाँकी १ लाख बोरा आउदै गरेका बताइन् । त्यस्तै करिब २० लाख मेट्रिक टन नुन स्टोर रहेको उनले बताइन् । यता, ग्यासका व्यवसायी गोकुल भण्डारी ग्यासमा कुनै समस्या नरहेको बताउँदै उपभोक्ताहरु आत्तिनु नपर्ने बताएका छन् । दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुने गरेकोमा ८ लाख सिलिन्डर भर्न पुग्ने ग्यास आपूर्ति भइसकेको अवस्थामा आत्तिनु नपर्ने उनले बताए । त्यस्तै,  पेट्रोलियम पदार्थ व्यावसायी लिलेन्द्रप्रसाद प्रधानले समेत ग्यास, तेल जस्ता पदार्थमा बजार अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

कोरोनाको सन्त्रासकाबीच बजारमा औषधीहरुको अभाव भएको हल्ला चलेकोमा त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै नेपाल औषधी व्यवसायी संघका पूर्व अध्यक्ष शंकर घिमिरेले औषधी आपूर्तिमा समेत सहजता भएको बताए । 

कार्यक्रममा बोल्दै घिमिरेले भारतमा बन्ने औषधिको ८० प्रतिशत कच्चा पदार्थ चीनबाट आयात हुने हुँदा सो रोकिँदा केहि समय समस्या आएको तर अहिले सहज भएको बताएका छन् । यसको विकल्पमा अन्य मुलुकहरुबाट समेत औषधि आयातको व्यवस्था मिलाइएकोले बजारमा कुनै समस्या नआउने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप