क्वारेन्टाइनका लागि सांसद राउतले दिइन आफ्नो होटल
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएकी छिन् ।
प्रदेश २ को महोत्तरी बर्दिवासमा रहेको आफ्नो होटेल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि दिएको राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव झाले जानकारी दिए । प्रदेश २ को सरकारले आवश्यक परे क्वारेन्टाइनका लागि सो होटल प्रयोग गर्न सकिने सांसद निर्जला राउतले बताइन् ।
साढे दुई कट्ठामा फैलिएको सो होटलमा ४५ वटा कोठा रहेका छन् भने तीनवटा ठूला ठूला हलहरु रहेका छन् । पार्किङ्गको पनि पर्याप्त सुविधा रहेको छ । कोरोना भाइरसको संक्रमण शुरु भएपछि सांसद राउतले सो होटेल बन्द गराएकी थिइन् । उनले भनिन्, ‘यो अवस्थामा देशका लागि केही गर्न पाउनु नै ठूलो कुरा हो, मसँग यही थियो अहिले तत्कालका लागि क्वारेन्टाइनका लागि दिने घोषणा गरेको छु, पछि सक्ने अरु पनि सहयोग गर्छु ।’
प्रदेश २ सरकारले हिजै मात्र विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने घोषणा गरेको थियो । समाजिक विकास मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिअनुसार वीरगञ्जको केडिया डेन्टल कलेज, गौरको गौर नर्सिङ इन्स्टिच्युट, होटल सिया पैलेस र धनुषाको मिथिला आयुर्वेद केन्द्र नगराइडमा क्वारेन्टाइन केन्द्रहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरसका रोगीको उपचारका लागि वीरगञ्ज मेडिकल कलेज, जनकपुरको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई प्रदेश २ सरकारले तोकेको छ । त्यसका साथै प्रदेशका सबै जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड तयार गरी संचालनमा ल्याउने निर्णय भएको छ । कोरोना भाइरसका शंकास्पद व्यक्तिहरु, रोगीहरुलाई एम्बुलेन्स सेवा, तथा क्वारेन्टाइन केन्द्रहरु र अस्पतालहरुलाई सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रशासन अनुरोध गर्ने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग