मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सत्ता राजनीति

सत्ता गठबन्धनमा खटपट, कांग्रेसले खोज्दै छ बहिर्गमन ?

मङ्गलबार, ०६ जेठ २०८२, ०६ : ५६
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको छ, जसले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ।
  • कांग्रेसका नेताहरूले गठबन्धनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्, र सरकारको नेतृत्व परिवर्तन गर्ने संकेत देखिएको छ।
  • गठबन्धन परिवर्तनका लागि कांग्रेसले प्रयास गरे पनि साना दलहरूको विश्वास र अंकगणितीय जटिलताका कारण तत्काल सम्भव देखिएको छैन।

काठमाडौँ ।  सत्ता गठबन्धनमा प्रस्ट रूपमा खटपट देखिन थालेको छ । गठबन्धनभित्रको बेमेलकै कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत ढिलाइ हुँदै आएको छ । 

गठबन्धन सहज रुपमा अघि नबढेको नेपाली कांग्रेसका नेता तथा प्रवक्ता प्रकाशशरण महत स्वीकार गर्छन् । सोमबार नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धनमा आफूहरूका धेरै असन्तुष्टि रहेको बताए । उनले भने, ‘गठबन्धनमा अर्काको प्वाइन्ट अफ भ्युलाई अन्डरस्ट्यान्ड हुनुपर्छ, अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ 

 कांग्रेस प्रवक्ताले मात्र सत्ता गठबन्धनमा समस्या देखेका होइनन्। कांग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र उकुसमुकुस रहेको बताए । सोमबार काठमाडौँमा सुवास घिमिरेद्वारा लिखित बीपी कोइरालाको जीवनकथामा आधारित पुस्तक ‘सान्दाजु’को लोकोर्पण समारोहमा उनले भने, ‘नेपालको सबैभन्दा ठुलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, ऊ हाम्रो, जताततै हाम्रो । तर खुसी हुनुपर्ने नि त कांग्रेस । सबै हाम्रो भएको वेलामा किन खुसी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’

उनी  र महत दुबै नेताको भनाइले सत्ता गठबन्धनमा समस्या उत्पन्न हुन थालेको प्रस्ट बुझिन्छ । नेपाली कांग्रेस राष्ट्रिय शक्ति भए पनि सरकारको नेतृत्वबाट बाहिरै बस्नुपरेको अवस्थालाई महामन्त्री थापाले त्यहाँ बताएका थिए । साथै उनले देखिएको समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको भएको बताएका थिए । उनको यस भनाइले जतिसक्दो चाँडो कांग्रेस नै सत्ताको नेतृत्वमा जान चाहन्छ । 

गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति नहुँदा सोमबार मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको थिएन । 

कांग्रेसका विभिन्न तहका बैठकमा पछिल्लो समय गठबन्धन सही तरिकाले चल्न नसकेको भन्दै कुरा उठ्नसमेत थालेको छ । उक्त पार्टीका नेताहरूले नै यसरी सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आउनुले के गठबन्धन खतरामा पर्न लागेको त होइन ? प्रश्न उब्जिन थालेका छन् । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको गभर्नर सिफारिस समितिको बैठक नबसेको भन्दै मन्त्रिपरिषद् बैठक राखिएन । ‘गभर्नर नियुक्तिको मात्रै एजेन्डा थियो । सिफारिस समितिको बैठक नबसेको र अर्थमन्त्री बजेट निर्माणमा व्यस्त हुनुभएकाले मन्त्रिपरिषद् बैठक पनि स्थगित भयो,’ एक मन्त्रीले भने, ‘गभर्नर नियुक्तिका लागि सिफारिस समिति बैठक बसेपछि मात्रै क्याबिनेट मिटिङ बस्ने होला ।’

गभर्नर सिफारिस र नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएका थिए । तर ७ बज्दासम्म सभापति देउवा पुगेनन् । 

कांग्रेसका विभिन्न तहका बैठकमा पछिल्लो समय गठबन्धन सही तरिकाले चल्न नसकेको भन्दै कुरा उठ्नसमेत थालेको छ । उक्त पार्टीका नेताहरूले नै यसरी सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आउनुले के गठबन्धन खतरामा पर्न लागेको त होइन ? प्रश्न उब्जिन थालेका छन् । 

‘नेकपा एमालेसँग लामो समय काम गर्न सकिँदैन भनी कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइन, अधिकांश नेताले मन बनाइसकेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘तर कांग्रेससँग एमालेको भरपर्दो विकल्प पनि तयार भइसकेको छैन ।’

गठबन्धन फेर्न देउवाले प्रयास नगरेका होइनन्, तर उनले विश्वासिलो मत पाउने निश्चित नदेखिँदा रोकिएको एक नेताको भनाइ छ। 

सरकार बनाउन प्रतिनिधिसभामा १३८ सांसद आवश्यक हुन्छ । गठबन्धन फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपरे कांग्रेससँग १४९ सांसद पुग्ने देखिन्छ । तर देउवाले यो अंकगणितको विश्वास गर्न भने सकिरहेका छैनन् । 

कांग्रेसका ती नेताले भने, ‘गठबन्धन फेर्न कांग्रेसमा पटक–पटक प्रयास भएको हो, बैंककबाट फर्किएपछि गठबन्धन फेरिने लगभग निश्चित थियो, तर भएका संख्यामाथि सभापतिजीलाई विश्वास नलागेपछि पछाडि हट्नुभएको हो ।’

सरकार बनाउन प्रतिनिधिसभामा १३८ सांसद आवश्यक हुन्छ । गठबन्धन फुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपरे कांग्रेससँग १४९ सांसद पुग्ने देखिन्छ । तर देउवाले यो अंकगणितको विश्वास गर्न भने सकिरहेका छैनन् । 

कांग्रेसका जम्मा ८९ सांसदमध्ये हालै मोहन बस्नेत निलम्बनमा परेपछि ८८ जना संसदीय अंकगणितमा सहभागी हुन पाउँछन् । त्यस्तै नेकपा माओवादी केन्द्रका ३२, नेकपा (समाजवादी)का १० र संघीय लोकतान्त्रिक मोर्चा (जसपा नेपाल, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी)का १९ गरी १४९ जना सांसद छन् । अर्थात् देउवाले तत्काल गठबन्धन फेरे यी १४९ जना उनी पक्षमा उभिन सकिने देखिन्छन् ।  

तर कांग्रेसका ती नेताका अनुसार सभापति देउवालाई न माओवादीमाथि विश्वास छ, न लोकतान्त्रिक मोर्चामाथि नै । संसदीय अंकगणितका भरमा मात्र देउवाले यस्तो कदम चाल्न जोखिम रहेको उनले बताए । 

यता नागरिक उन्मुक्ति पार्टीमा श्रीमान–श्रीमतीको विवादले गठबन्धन फेरबदल हुन नसक्ने र भइहाले पनि नटिक्ने समस्या निम्त्याउन सक्ने देखिन्छ । 

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ एमाले पक्षमा खुलेकी छन् भने रेशम चौधरी कांग्रेसको पक्षमा छन् । रञ्जिता कुनै पनि हालतमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको साथ छोड्न तयार छैनन् । 

अर्कोतिर जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पाएको छ । नयाँ गठबन्धन बनेपछि मधेश प्रदेशको सरकार छाडेर निस्किन्छ कि निस्किँदैन कुनै ग्यारेन्टी भने छैन । 

यस्तोमा जनमत पार्टीले पनि शुभ संकेत देखाउन नसक्ने कांग्रेसको बुझाइ छ । जनमतका अध्यक्ष डा.सीके राउत वर्तमान सरकारको विकल्प तत्काल खोज्ने पक्षमा पनि देखिएका छैनन् । 

स्पष्ट रूपमा कांग्रेसलाई साथ दिनेमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र अर्को भनेको जसपा नेपाल हो । तर यी दललाई मात्र बोकेर कांग्रेसले वर्तमान गठबन्धनको विकल्प खोज्ने प्रयाससमेत गर्न सक्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर सरकार बनाउने पक्षमा पनि कांग्रेस देखिँदैन । 

माओवादीले के गर्ला ? 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक धोका दिएका कारण सभापति देउवा तत्काल उनको विश्वास गर्ने अवस्थामा छैनन् । प्रचण्डका अघिल्ला कार्यशैलीलाई राम्रोसँग बुझेका देउवाले यो उनको साथ लिएर भइरहेको गठबन्धन भत्काउने जोखिम मोल्न सक्ने अवस्था देखिँदैन । गठबन्धन सरकार भत्किए प्रचण्डले उल्टै एमालेलाई साथ दिन सक्ने कांग्रेसी नेताहरूको बुझाइ छ । 

यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरे आफूबाट कुनै पनि प्रकारको धोका नहुने वेलावेलामा विश्वास दिलाइरहेका छन् । 

साना दल र मोर्चाप्रति छैन विश्वास

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल (५), महन्थ ठाकुरा नेृतत्वको लोसपा नेपाल (४), डा. सीके राउत नेतृत्वको जनमत पार्टी (६), रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (४), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र वृशेषचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टीलाई मिलेर संघीय लोकतान्त्रिक मोर्चा बनेको छ । तर न त यी मोर्चा आकारमा ठुला छन् न त कांग्रेसले पूर्ण विश्वास नै गर्न सकेको छ । 

यस्तोमा कांग्रेससँग पर्याप्त बहुमत नहुने र सानै समस्याले पनि सरकार ढल्न सक्ने हुनसक्छ । यो जोखिम लिने पक्षमा पनि देउवा देखिँदैनन् । 

तर पार्टीबाट उनीमाथि दबाब छ । एमालेसँगको सरकारलाई निरन्तरता दिइए पार्टीलाई क्षति हुनसक्ने संशकित आवाज कांग्रेसभित्रैबाट उठ्न थासिकेको छ । यो गठबन्धनमा रहिरहे कांग्रेसलाई आगामी चुनावमा के फाइदा हुन्छ भन्नेसम्मका प्रश्नहरू देउवाले सामना गर्न थालेका छन् । 

तर सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके पनि अहिले नै सरकारको विकल्प खोज्ने वेला नभएको कांग्रेसका नेता तथा पूर्वपराष्ट्रमन्त्री एनपी साउदले बताए । ‘बलियो सरकार भए पनि कतिपय अलोकप्रिय काम गरेको छ, जनताले आलोचना गरिरहेका छन्,’ उनले भने, ‘तर अहिले नै विकल्प खोज्ने वेला भएको छैन, सरकारलाई नेतृत्वको गरेको दल सुध्रिनुपर्छ ।’

यता कांग्रेसकै अर्का नेता गुरुराज घिमिरेले भने काम कारबाहीमा सुधार हुन नसके सरकारको विकल्प खोज्नुपर्ने बताए । भने, ‘सरकारको औचित्यमाथि प्रश्न उठेको छ, यसको जवाफ सरकारको नेतृत्व गरेको दलले दिनुपर्छ ।’ दुई ठुला पार्टीले सरकार बनाउँदा जनतामा आशा जागृत भएको तर त्यसअनुसार सेवा प्रवाहमा सरकार चुकेको उनको भनाइ थियो ।

‘सरकार अलमलमा छ, प्रधानमन्त्री र मन्त्रीहरूको काम प्रभावकारी देखिएको छैन,’ उनले भने, ‘सरकारले आफ्नो काम कारबाहीमा सुधार गरेन भने गठबन्धनको औचित्य रहँदैन र त्यतिवेला स्वाभाविक रूपमा विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप