शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

सोमबार, १९ जेठ २०८२, ०५ : २४
सोमबार, १९ जेठ २०८२

सारांश

  • देवघाट गाउँपालिका-५ देखि ठिमुरा पुलसम्मको सडक कालोपत्र गर्ने सम्झौता अवधिभन्दा एक महिना अगावै निर्माण सम्पन्न भएको छ।
  • दक्ष इन्जिनियरिङ चितवनले रु १ करोड ७ लाख ६५ हजारमा सडक कालोपत्र गरेको हो, जसको लागत अनुमान रु १ करोड ५६ लाख थियो।
  • सडक कालोपत्र भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ, कच्ची सडकका कारण हुने धुलो र हिलोबाट मुक्ति मिलेको छ।

तनहुँ। यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ । 

निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्ने प्रयोजनका लागि सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो । निर्माण सम्झौताअनुसार विसं आगामी असार २० गतेसम्ममा कालोपत्र गर्नुपर्ने थियो । 

सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्र ठेक्का लगाइएको हो । कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालय पोखरामार्फत् गरिएको हो । उक्त सडक कालोपत्रका लागि रु एक करोड ५६ लाख लागत इष्टमेट भएपनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले रु एक करोड सात लाख ६५ हजारमा निर्माण गरेको हो । 

देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा सर्वसाधारणलाई सास्ती थियो । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताए । उनले भने, “सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए । अहिले नालासहित सडक कालोपत्र सम्पन्न भएको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप