मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो अण्डाको मूल्य, लकडाउनको अवधिमा तेस्रो पटक मूल्यवृद्धि

तर, संघ भन्छ – किसान अझै घाटामा छन्
मङ्गलबार, ०९ असार २०७७, ११ : ५४
मङ्गलबार, ०९ असार २०७७

काठमाडौँ । अण्डाको माग बढेपछि अण्डा उत्पादक संघले मूल्यवृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै अण्डाको माग बढेको तर उत्पादन कम भएकोले मूल्यमा वृद्धि गरेको बताइएको छ । संघले बैशाखदेखि हालसम्म तीनपटक अण्डाको मूल्यवृद्धि गरिसकेको छ ।

२८५ रुपैयाँ पर्ने क्यारेटको मूल्यमा २० रुपैयाँ वृद्धि गरी ३०५ रुपैयाँ पुर्याएको छ । लकडाउनको शुरुवातमा प्रति क्यारेट २४० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २६० रुपैयाँ प्रति क्यारेट मूल्य कायम भएको थियो । लकडाउन खुकुलो हुने हल्ला भएपछि एकैचोटी २५ रुपैयाँ वृद्धि गरेकोमा हिजो मात्र पुनः २० रुपैयाँ वृद्धि गरेको छ ।

किसानको फर्ममा ३०३ रुपैयाँ पर्ने अण्डाको क्यारेट उपभोक्ताको भन्सासम्म पुग्दा ३५० देखि ३६० सम्म पर्ने भएको छ ।

संघका महासचिव प्रविण केसीले कुखुरा उत्पादन कम भएको कारण अण्डा उत्पादनमा पनि कमी आएको छ तर लकडाउन खुकुलो भएसँगै दिनदिनै अण्डाको माग बढी रहेको बताए । माग भए अनुपातमा अहिले अण्डाको उत्पादन छैन । ‘अहिले दैनिक १८ लाख वटा अण्डा मात्र उत्पादन भइरहेको छ भने माग २५ लाखभन्दा बढी रहेको छ,’ उनले भने, ‘उत्पादन भन्दा माग बढी रहेको हुनाले अण्डाको मूल्यमा वृद्धि भएको हो । यस्तै अवस्था रह्यो भने अण्डाको मूल्य अझै बढ्न सक्छ ।’

नेपाल अण्डामा आत्मनिर्भर रहेको घोषणा गरेको छ । तर यस्तै अवस्था रह्यो भने परनिर्भर रहने सम्भावना पनि बढ्दै गइरहेको व्यपारीहरु बताउँछन् । यद्यपी भारतलगायतका देशबाट लुकिछिपी आउनेबाहेक अण्डा अयातमा पूर्णरुपमा बन्देज लगाइएको छ ।

मूल्यवृद्धि गर्दा पनि अहिले किसानले लागतमूल्य भन्दा घाटामा अण्डा बेचिरहेको उनले दावी गरे । किसानले एउटा अण्डामा एक रुपैयाँ १६ पैसा घाटामा अण्डा बेच्दै आइरहेको उनले दावी गरे ।

फर्महरुमा कुखुरा नै छैन । लकडाउन शुरु भएपछि दानाको अभाव भयो । दाना नपाएर कुखुरा उत्पादनमा समस्या भयो । कुखुरा र त्यसका चल्ला नै कतिपय ठाउँमा गाड्ने अवस्था आयो । बाँकी रहेका कुखुराले पनि पर्याप्त दाना खान पाएन जसले अण्डा उत्पादनमा कमी हुन शुरु भएको उनले बताए । ‘अहिले कुखुरा नै छैन अनि अण्डा कहाँबाट आउनु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप