केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोभिडको उपचारमा सरकारको बौलट्टी निर्णय :

स्वास्थ्यकर्मी नै संक्रमित बन्दै जाँदा भयावह स्वास्थ्य स्थिति आउने खतरा !

डा. शेरबहादुर पुन र डा‍ समीरमणि दीक्षित भन्छन् : कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा उपचार गराउनु बेठीक

person explore access_timeभदौ ६, २०७७ chat_bubble_outline0

कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ बनेको छ । सरकारले संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

कस्ता अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने र कस्ता अस्पतालमा अन्य रोगका बिरामीको उपचार गर्ने भन्ने स्पष्ट मापदण्ड छैन । आवश्यक परेमा सबैजसो अस्पतालमा कोभिड–१९ का संक्रमितलाई राख्ने गरी सरकारले तयारी गरेको छ ।

सरकारले आवश्यकताअनुसार जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्र उपचारमा लगाउन सक्नेगरी तयारी गरेको छ । हालै मन्त्रिपरिषद बैठकले निजी, सहकारी, सरकारी तथा सामुदायिक गरी जुनसुकै प्रकारका अस्पताललाई कोरोना डेडिकेटेड बनाउने निर्णय गरेको हो ।

विज्ञहरु भने यसरी हरेक अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने व्यवस्था गर्नुभन्दा पनि ठूला क्षमताका केही अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र केही अस्पताललाई ननकोभिड अस्पतालका रुपमा नियमित स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित गर्नु उपयुक्त हुने बताउँछन् ।


विज्ञहरु भने यसरी हरेक अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने व्यवस्था गर्नुभन्दा पनि ठूला क्षमताका केही अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने र केही अस्पताललाई ननकोभिड अस्पतालका रुपमा नियमित स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित गर्नु उपयुक्त हुने बताउँछन् ।


तर आवश्यकता अनुसार सरकारले जुनसुकै अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्न सक्ने निर्णयले अन्यौल खडा गरेको छ । यसले गर्दा सरकारले आफ्नो ध्यान सम्पूर्ण रुपमा कोरोनामा केन्द्रीत गरेको र दीर्घकालीन रुपमा जनस्वास्थ्यको हिसाबले कोरोनाभन्दा पनि जटील र खतरनाक अन्य रोगका उपचारहरुलाई चाहिँ गौण रुपमा लिएको देखिन्छ । यसले गर्दा कोरोना पीडित नभएका तर अन्य दीर्घरोगले सताएका बिरामीहरु मर्कामा पर्ने देखिन्छ ।

खासगरी मिर्गौला, मुटु रोग, क्यान्सर, हाडजोर्नी, नसा लगायत दीर्घरोगका बिरामीको उपचारका लागि कोरोना महामारीको समयमा समस्या हुँदै आएको छ । सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमणबाहेकका बिरामीहरुको स्वास्थ्योपचार प्राथमिकतामा नपर्ने पो हो कि भन्ने आशंका बढाएको हो । त्यसैपनि अहिले कोरानाको नाममा अन्य घातक दीर्घरोगीहरुको उपचार सेवा दुरुह बन्दै गइरहेको छ ।

सत्य कुरा बोल्दा सरकारी कोपभोजनको शिकार बन्नुपर्ने खतराका कारण नाम उल्लेख गर्न नचाहने शर्तमा एक विज्ञले उल्लेख गरेअनुसार, अहिले कोरोनाको नाममा मृतक दरिएका धेरैजसोको मृत्युको वास्तविक कारण कोरोना नभई उसको दीर्घरोगको बेलैमा समुचित उपचार पाउन नसकेर पो भएको हो कि भन्ने कुरा पनि एउटा ठूलै अनुसन्धानको विषय बन्न सक्छ ।

अर्कोतिर सबैजसो अस्पतालमा कोरोना संक्रमितका लागि आइसोलेसन बेडको व्यवस्था गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मी समूहगत रुपमै संक्रमित हुन थालेको देखिन्छ । यसले गर्दा आगामी दिनमा स्वास्थ्य सेवा नै धर्मराउने अवस्था आउने त होइन भन्ने चिन्ता व्याप्त छ ।

‘कोभिड र ननकोभिड अस्पताल छुट्याउन जरुरी’

नेपालमा कोरोना  संक्रमितको तुलनामा दीर्घरोगी बढी छन्, अन्य रोगीलाई पनि बचाउन उत्तिकै जरुरी हुन्छ । त्यसैले पनि कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न हुँदैन : डा समीरमणि दीक्षित


जनस्वास्थ्यविद् डा समीरमणि दीक्षित सबै अस्पतालमा कोरोनाका रोगी पठाइदिँदा अन्य रोगीमा पनि कोरोना सर्न सक्ने सम्भावना बढ्ने बताउँछन् । ‘नेपालमा कोरोना  संक्रमितको तुलनामा दीर्घरोगी बढी छन्, अन्य रोगीलाई पनि बचाउन उत्तिकै जरुरी हुन्छ,’ उनले भने, ‘त्यसैले पनि कोरोनाका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न हुँदैन ।’

दुर्गम क्षेत्रतिर कोभिड–१९ का संक्रमितलाई राख्ने छुट्टै अस्पताल तोक्न सम्भव नहुने र चीनमा जस्तो रातारात कोभिड विशेष अस्पताल निर्माण गर्न पनि सम्भव नहुने भएकाले त्यस्तो अवस्थामा अस्पतालकै छुट्टै भवनलाई कोभिड संक्रमितका लागि आइसोलेसन कक्ष बनाउन सकिने उनले बताए । निजी, सामुदायिक र सरकारी अस्पतालले कोभिड उपचारको लागि छुट्टै भवन व्यवस्थापन गर्न नसकेको खण्डमा कोभिडका बिरामी राख्न र उपचार गर्नका लागि एउटा तला छुट्याउनुपर्ने उनको भनाइ छ ।

‘यतिमात्र होइन, आउजाउका लागि पेटी, भर्‍याङ समेत छुट्याउनुपर्छ,’ उनले भने, ‘उपचार गर्ने स्वास्थ्यकर्मी, सरसफाई गर्ने कर्मचारी पनि छुट्टै राख्नुपर्छ । यदि यो गर्न पनि सकिएन भने सरकारले कुनै अस्पताललाई अस्थायी रुपमा कोभिडको बिरामी मात्रै उपचार गर्ने अस्पताल बनाउनुपर्छ ।’

कोभिड र ननकोभिडका बिरामी एउटै अस्तालमा उपचार गराउँदा दीर्घरोगीको ज्यान खतरामा पर्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि कोभिड–१९ का संक्रमितलाई राख्न छुट्टै अस्पताल तोक्नु उपयुक्त हुने बताउँछन् । सम्भव भएसम्म एउटै अस्पतालमा कोभिड–१९ का बिरामी र अन्य रोगका बिरामी राख्नु उचित नहुने उनको भनाइ छ ।

उदाहरण दिँदै उनले भने, ‘सरकारले टेकु अस्पताललाई कोभिड अस्पताल बनायो, टेकु अस्पताल छिर्नेबित्तिकै सावधानी अपनाउनुपर्छ है भनेर मनमा आइहाल्ने रहेछ । कोभिड अस्पताल भनेर घोषणा गरेपछि त्यहाँ आफूले सजगता अपनाउनुपर्छ भन्ने कुरा मनमा आफै आइहाल्छ ।’

कोभिड अस्पताल भनेपछि त्यहाँ जाँच गराउन आउने मान्छेसँग कोभिड हुन सक्छ है भनेर हरेक पटक हात सफा गर्ने, सुरक्षा कवच तथा पोशाक पनि लगाइराख्ने र एक अर्कासँग कुराकानी गर्दा भौतिक दूरी कायम गरेर,  मास्क लगाएर नै कुरा गरिने उनको भनाइ छ । ‘यो अस्पताल कोभिडका बिरामीको मात्रै उपचार गर्ने अस्पताल हो त्यसैले हामीले भुलेर पनि सानो गल्तीसमेत गर्नु हुँदैन भन्ने मनमा आभाष भइरहँदो रहेछ,’ उनले भने  ।

व्यवहारिक रुपमा ननकोभिड अस्पतालमा कोभिडका बिरामीको उपचार गराउनु राम्रो  हुँदैन । कोभिडका बिरामीलाई ननकोभिड कोभिड अस्पतालमा उपचार गराउनभन्दा छुट्टै गराउँदा राम्रो हुन्छ : डा. शेरबहादुर पुन


ननकोभिड अस्पतालमा पनि कोरोना संक्रमणको जोखिम भने कायम रहने उनी बताउँछन् । त्यस्ता अस्पतालमा फोक्सो, मुटु, मिर्गौला, विभिन्न किसिमका दीर्घरोगी उपचार गराउन आउने र हरेक बिरामीलाई अस्पतालमा प्रवेश गर्ने बेलामा कोरोना छ कि छैन भनेर जाँच गर्न सम्भव पनि नहुने भएकाले कोरोना संक्रमित मानिस पनि अरु रोगको उपचारका लागि अस्पताल आउन सक्ने उनको भनाइ छ । अन्य रोग लागेर उपचार गराउन आएकालाई कोरोना संक्रमण पुष्टि भएको घटना प्रशस्त रहेको उनले बताए ।

डा. पुनका अनुसार ननकोभिड अस्पतालमा कार्यरत कतिपय स्वास्थ्यकर्मीलाई सुरक्षात्मक कवच कसरी लगाउने र खोल्ने भन्ने बारेमै राम्रोसँग थाहा नहुन पनि सक्छ । यो अवस्थामा काम गर्न डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी, कर्मचारी मानसिक रुपमा कति तयार छन् भन्ने प्रश्न उठ्ने उनको भनाइ छ ।

‘कोभिड अस्पतालमा त कोभिड कै परीक्षण तथा उपचारमा आउँछन् भन्ने हुन्छ,’ उनले भने, ‘यहाँ आउने हरेक मानिस कोभिड कै बिरामी हुन् भन्ने मनमा राखेर काम गरिन्छ । तर ननकोभिड अस्पतालमा यस्तो हुँदैन ।’

कोभिड अस्पताल भनेर तोकिएका ठाउँमा प्रायः चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमण नहुने उनको भनाइ छ । ‘आजको मितिसम्म टेकु अस्पतालमा स्वास्थ्यकर्मीलाई संक्रमण भएको छैन,’ उनले भने, पाटन अस्पतालमा छुट्टै कोभिडको विभाग छ, त्यहाँ अहिलेसम्म स्वास्थ्यकर्मीमा संक्रमण भएको सुनिएको छैन । अनि एफिएफ अस्पतालमा समस्या सुनिएको छैन । ननकोभिड अस्पतालमा कोरोना फैलिएको छ ।’

व्यवहारिक रुपमा ननकोभिड अस्पतालमा कोभिडका बिरामीको उपचार गराउनु राम्रो नहुने डा. पुनको भनाइ छ । ‘कोभिडका बिरामीलाई ननकोभिड कोभिड अस्पतालमा उपचार गराउनभन्दा छुट्टै गराउँदा राम्रो हुन्छ,’ उनले भने, ‘चाइना, अमेरिका, बेलायत लगायतका स्थानमा कोभिडका बिरामीलाई उपचार गर्न लागि छुट्टै अस्पताल बनाइएको थियो । यहाँ कोभिडका बिरामीलाई उपचार गर्नका लागि छुट्टै भवन तथा अस्पतालहरूको व्यवस्था गर्न सुरु गरे सहयोगी हात अगाडि बढ्न सक्छन् ।’

ननकोभिड अस्पतालमा उपचाररत दीर्घरोगीमा कोरोना संक्रमण भएमा ठूलो समस्या पर्न सक्ने उनले बताए । ‘चिकित्सक नर्सको मात्रै कुरा होइन, अस्पतालमा काम गर्ने अन्य कर्मचारी, सफाइकर्मी, प्रशासनिक काम गर्ने लगायत हरेक क्षेत्रमा डबल कर्मचारी राख्ने सम्भावना हुँदैन,’ उनले भने, ‘भुइँ पुछ्ने, लुगा धुने कर्मचारीमात्र पनि ननकोभिड अस्पतालमा कोभिड उपचार कक्ष अन्य रोगका बिरामी उपचार गर्ने कक्षमा यताउता गर्दै सावधानी अपनाएनन् भने ठूलो समस्या हुन्छ ।’

सुविधा तथा भत्ता घोषणामै सीमित

कोभिड–१९ को उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सरकारले भत्ता तथा सुविधा उपलब्ध गराउने घोषणा गरे पनि त्यस्तो सुविधा तथा भत्ता नपाएको चिकित्सक एवं स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले घोषणा गरेको सुविधा तथा भत्ता पाउने त परै जावस्, आफ्नै घरमा, डेरामा बस्नसमेत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समस्या हुन थालेको छ ।


कतिपय ठाउँमा चिकित्सक एवं नर्समा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखा परेको छ । कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन् ।


कतिपय ठाउँमा चिकित्सक एवं नर्समा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखा परेको छ । कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन् । यसतर्फ पनि सरकारले खासै ध्यान दिन सकेको छैन ।

 


स्वास्थ्य सुरक्षाका सामग्री आफैले किन्नुपर्ने बाध्यता

कोभिड–१९ संक्रमणबाट जोगिनका लागि स्वास्थ्यकर्मीले लगाउनुपर्ने सुरक्षा सामग्रीको पनि चरम अभाव हुन थालेको छ । कतिपय अस्पतालले स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सामग्रीसमेत उपलब्ध गराउन नसकेको पीडितहरुको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अस्पताल प्रशासनले आफूहरुलाई पीपीईसमेत आफ्नै पैसाले किन्न निर्देशन दिएको सो अस्पतालका नर्स बताउँछन् ।

‘सुरक्षा सामग्री तथा पीपीई माग्दा अस्पताल प्रशासनले आफ्नै खर्चमा ल्याउनु भनेर पन्छिने गरेको छ,’ पीडित एक नर्सले भनिन्, ‘दैनिक आफ्नै खर्चमा पीपीई किनेर लगाउन सम्भव हुँदैन, अस्पतालले दिँदैन, कि त जोखिम मोलेर काम गर्नुपर्‍यो, कि त जागिर नै छोडेर घरमा बस्नु पर्‍यो, अरु विकल्प नै छैन ।’

स्वास्थ्यकर्मीहरु नै संक्रमित बन्दै !

कोरोना संक्रमणको लहर बढ्दै गएपछि सरकारले सबै अस्पतालहरुलाई कोरोना अस्पतालको रुपमा परिणत गर्न सक्ने ‘हचुवा’ निर्णय त गरेकै छ, त्यो भन्दा पनि गम्भीर गल्ती र लापरवाही चाहिँ कोरोनाका विरुद्ध लड्नका लागि आवश्यक न्यूनतम स्वास्थ्य सामग्रीहरु समेत उपलब्ध गराउनेतर्फ खासै तत्परता देखाइरहेको छैन । फलतः सरकारको हचुवा नीतिका कारण धमाधम स्वास्थ्यकर्मीहरु नै पनि कोरोना संक्रमणको शिकार बन्दै गइरहेका छन् ।

उदाहरणको लागि, वीर अस्पताललाई नै लिन सकिन्छ । मुलुककै सबैभन्दो जेठो अस्पताल तथा आम गरिब निमुखाहरुले तुलनात्मक रुपमा सस्तोमा उपचार सेवा पाउने वीर अस्पताललाई सरकारले कोरोना उपचार अस्पताल घोषणा गरेको छ । तर कोरोनाका विरुद्ध लड्नका लागि चाहिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने काम चाहिँ भइरहेको छैन ।


गरिब निमुखा जनताको उपचार गर्ने सबैभन्दा ठूलो अस्पताल वीर अस्पताललाई कोरोना उपचार अस्पतालाई बनाइएपछि विरामीहरुमा आतंक छाएको छ । वीरमा कार्यरत एक चिकित्सकका अनुसार, अहिले त्यहाँ अन्य राेगका उपचार गराउन आउने विरामीको चाप ह्वात्तै घटेको छ । उनका अनुसार सरकारी अनुदान र न्यूनतम शुल्कमा विरामीको उपचार गरेर जेनतेन खर्च चलाइरहेको वीरमा यतिखेर विरामीको चाप घटेपछि आम्दानी पनि सुकेर गएको छ ।


गरिब निमुखा जनताको उपचार गर्ने सबैभन्दा ठूलो अस्पताल वीर अस्पताललाई कोरोना उपचार अस्पतालाई बनाइएपछि विरामीहरुमा आतंक छाएको छ । वीरमा कार्यरत एक चिकित्सकका अनुसार, अहिले त्यहाँ अन्य राेगका उपचार गराउन आउने विरामीको चाप ह्वात्तै घटेको छ । उनका अनुसार सरकारी अनुदान र न्यूनतम शुल्कमा विरामीको उपचार गरेर जेनतेन खर्च चलाइरहेको वीरमा यतिखेर विरामीको चाप घटेपछि आम्दानी पनि सुकेर गएको छ । फलतः यतिखेर वीर अस्पतालमा तलब खुवाउन समेत धौ धौको स्थिति पैदा भएको छ ।

अर्कोतिर सुरक्षाका उचित प्रबन्ध गराउन नसक्दा  वीर अस्पतालमा काम गर्ने डाक्टर, नर्स, सवारी चालक र अन्य स्वास्थ्यकर्मी गरी १० जनाभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ ।

वीर अस्पताल प्रशासनले समेत कोभिड उपचारमा खटिएका फस्टलाईन डाक्टर तथा आवासीय चिकित्सक र नर्सहरुलाई समेत मास्क, ग्लोभ्स, चस्मा, पीपीई जस्ता सुरक्षाका न्युनतम साधनहरु उपलब्ध गराउन नसक्दा चिकित्सक, नर्स, प्यारामेडिक, सफाई कर्मचारी र अन्य प्रशासनिक कर्मचारीहरु असुरक्षित रुपमा काम गर्न बाध्य भएको सो अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

नाम नबताउने शर्तमा एक चिकित्सकले गुनासो पोखेअनुसार, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेन्चुरीको चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) तथा मन्त्रालयसामु स्थितिको गम्भीरतालाई बुझाउने गरी अडान राख्न नसक्दा यतिखेर ‘मन्त्रालयको हेपाइको शिकार’ वीर अस्पताल बन्न पुगेको छ । सरकारले कोभिड अस्पताल घोषणा गर्दा पनि सुरक्षाका आधारभूत सामग्रीहरु जुटाउन नसक्नु र स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य हुनुको जिम्मेवारी  निर्देशकले लिनुपर्ने उनीहरु बताउँछन् ।

उक्त अस्पतालका नर्सहरुले मास्क र ह्यान्ड स्यानिटाईजर समेत आफैले जोहो गर्नु परेको गुनासो गरेका छन् । वीर अस्पतालका चिकित्सकहरुले साउन ३२ गते नै अस्पताल प्रशासनसमक्ष न्यूनतम सुरक्षाका साधन उपलब्ध गराउन लिखित मागनै पेश गरेका थिए । मागपत्रमा उनीहरुले ‘फ्रन्टलाइनमा खटिन तयार मेडिसिन विभागका रेसिडेण्ट लगायत सम्पूर्ण चिकित्सकहरुको सुरक्षाको लागि अन्तर्राष्ट्रिय स्टाण्डर्डको प्रोटोकलबमोजिमको पूर्ण पीपीई सेटहरुको अग्रीम व्यवस्था हुनुपर्ने तथा नियमित रुपमा उपलब्ध गराउनुपर्ने’ माग गर्दै ‘त्यसको तयारी प्रत्याभूतिबिना सेवामा खटिन नसकिने’ जानकारी समेत गराएका छन् ।

तर उनीहरुले पेश गरेको मागमा  गरेकोमा अहिलेसम्म पनि सुनुवाई हुन सकेको छैन ।


घोषणा गर्ने, सुविधा नथप्ने !

अर्को विडम्बना के पनि देखिएको छ भने सरकारले भटाभट कोभिड अस्तपताल चाहिँ घोषित गर्ने तर कोभिडका विरामीहरुको उपचारका लागि आवश्यक स्रोत साधनहरुको बढोत्तरीका बारेमा चाहिँ खासै ध्यान दिएको छैन । कोभिड अस्पताल घोषणा गरिसकेपछि आवश्यक आईसीयु, भेन्टिलेन्टर तथा उपचारमा आवश्यक औषधिहरुको बन्दोबस्त, व्यक्तिगत सुरक्षा सामग्रीहरु, सरसफाइ, कर्मचारीहरुलाई आइसोलेसनमा रहने गरी सुरक्षित आवासको व्यवस्था जस्ता अत्यावश्यक कुराहरुमा सरकारको ध्यान जान सकेको पाइँदैन । अहिले विभिन्न अन्तर्राष्ट्रिय खोज अनुसन्धानहरुबाट कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेमडेसिभिर औषधिको बन्दोबस्त सरकारले गर्न नसक्दा केही हजारमा उपलब्ध हुन सक्ने उक्त औषधीको भयानक कालोबजारी चलिरहेको पाइन्छ । यतिखेर कोभिडको उपचारमा खटाइएका स्वास्थ्यकर्मीहरु व्यक्तिगत सुरक्षा सामग्रीका लागि महावीर पुनःको सौजन्यमा भरपर्नुपर्ने या व्यक्तिगत खर्चमा त्यस्ता सामग्रीहरुको आफैं जोहो गर्नुपर्ने लाजमर्दो स्थितिबीच मनोबलहीन अवस्थामा जबरजस्ती उपचारमा खटिनुपर्ने स्थिति छ । स्वास्थ्यकर्मीहरुको स्थिति युद्ध मैदानमा खटेका तर हतियार एवं गोलीगठ्ठाविहीन सिपाहीको रुपमा रहेको एक स्वास्थ्यकर्मी बताउँछन् ।

Graphics use in title photo: Background vector created by Harryarts - www.freepik.com,Doctor vector created by freepik - www.freepik.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.