प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
सारांश
- विश्व वातावरण दिवसको पाँच दशक लामो इतिहासमा मानव सभ्यता विकासका नाममा पृथ्वीमा वातावरणीय संकट बढेको छ ।
- प्लास्टिक प्रदूषण मानव सभ्यताकै गम्भीर समस्या र वातावरणीय चुनौती बनेको छ, जसले जल, जमिन र वायुमण्डललाई विनाश गरिरहेको छ ।
- प्लास्टिक प्रदूषण न्यूनीकरणका लागि व्यक्तिगत बानी परिवर्तन गरी सामूहिक संकल्पबाट अघि बढ्नुपर्ने सन्देश विश्व वातावरण दिवसले दिएको छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्षको जुन ५ का दिन विश्वभर मनाइन्छ । वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूबारे जनचेतना जगाउनु यस दिवसको मुख्य ध्येय हो । प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनका असरहरू कम गरी सुरक्षित भविष्य निर्माणमा जोड दिनु अहिलेको दीर्घकालीन उद्देश्य रहेको छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतनाको खाँचो महसुस भएपछि संयुक्त राष्ट्र संघको महासभाले सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म स्टकहोममा विश्व वातावरण सम्मेलनको आयोजना गर्यो । सोही सम्मेलनको निर्णयअनुसार एक वर्षपछि ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरियो ।
त्यसयता संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नेतृत्वमा संसारका सम्पूर्ण राष्ट्रहरूले विश्व वातावरण दिवस मनाउँदै आएका छन् ।
यसको पाँच दशक लामो इतिहासमा विश्व वातावरण दिवस एक सय पचासभन्दा बढी देशहरू सहभागी हुने संसारकै सबैभन्दा ठुलो वातावरणीय मञ्च बन्न सफल भएको छ । अर्कोतिर विश्व वातावरण दिवसको यही लामो अवधिमा मानव सभ्यता विकासका नाममा पृथ्वीमा अझ बढी वातावरणीय संकट पनि बढ्दै गएको छ । वैश्विक तापमान अनपेक्षित र अनियन्त्रित रूपमा बढेर गएको छ । विकसित भनिएका देशहरूले नै मानव सभ्यतालाई विनाशको डिलमा पुर्याइरहेका छन् ।
पाँच दशकअघि सामान्य चेतना जगाउन सुरु गरिएको यो वातावरण संरक्षण अभियान अहिले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषणको चरम संकटसँग लड्ने मुख्य माध्यम बनेको छ । त्यसै अभियानको छायामा यी समस्याहरू फरक स्वरूपमा डरलाग्दो अवस्थामा पुगेको हामीले थाहा पाइरहेका छौँ ।
पाँच दशकको इतिहासलाई नियाल्दा वातावरण दिवसका नारा र एजेन्डाहरू समयको मागसँगै बदलिँदै गए । सुरुवाती १९७० को दशकमा ‘पृथ्वी एक’ भन्ने नाराका साथ मानव बस्ती र वातावरणको आधारभूत सम्बन्धका बारेमा संसार केन्द्रित थियो ।
सन् १९८०–२००० को दुई दशकमा ओजोन तहको विनाश, दिगो विकास र हरित सहर निर्माणजस्ता नीतिगत विषयहरू विश्व वातावरण दिवसको प्राथमिकतामा परे । त्यस्तै २१औँ शताब्दीका दशक र पछिल्ला वर्षहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण र पारिस्थितिक प्रणालीको पुनर्स्थापनामा तत्कालै कदम चाल्नुपर्ने चुनौतीहरूमा यो केन्द्रित रहेको देखिन्छ ।
प्लास्टिक प्रदूषणको असर र त्यसको न्यूनीकरणको प्रयास एक महत्त्वपूर्ण विषय हो । प्लास्टिक प्रदूषण मानव सभ्यताकै सर्वाधिक गम्भीर समस्या र वातावरणीय चुनौतीका रूपमा देखा परेको छ । यसले पृथ्वीको जल, जमिन र वायुमण्डललाई तीव्र गतिमा विनाश गरिरहेको छ ।
प्लास्टिक माटोमा नकुहिने पदार्थ भएकाले यसले माटोको उर्वराशक्ति घटाई भूमिगत जलस्रोतको प्राकृतिक प्रक्रियालाई अवरुद्ध गर्छ । त्यसैगरी नदीहरू हुँदै समुद्रमा मिसिने प्लास्टिकले सामुद्रिक जीवको विनाश गर्छ, जसको असर समुद्री खाद्य सञ्जालमा पर्छ ।
यसभन्दा पनि खतरनाक कुरा माइक्रोप्लास्टिक अदृश्य विष हो । प्लास्टिक टुक्रिएर बन्ने माइक्रोप्लास्टिकले खानेपानी, नुन र श्वास हुँदै मानिसको शरीर अर्थात् रगत र आमाको दूधसम्ममा प्रवेश गरिसकेको छ, जसले गम्भीर प्रकृतिका रोगहरूको जोखिम बढाएको छ ।
यसका अतिरिक्त जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण अर्को गम्भीर विषय बनेको छ । विश्व वातावरण दिवस २०२६ को नारा प्रकृतिबाट प्रेरित भएर ‘अब जलवायुका लागि’ रहेको छ । यो नाराले जैविक विविधताको ह्रासलाई नै सम्बोधन गर्न खोजेको देखिन्छ ।
बढ्दो जनसंख्या र अव्यवस्थित मानवीय क्रियाकलापले गर्दा प्रकृतिमाथि नै गम्भीर संकट उत्पन्न भइरहेको बेला यो नारा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । वातावरण संरक्षण गर्न र जैविक सन्तुलन जोगाउन हामी सबैले प्रकृतिलाई बुझ्नु आवश्यक छ भन्नु नै यस नाराको भाव हो । सन्तुलित जलवायु र हाम्रो सुरक्षित भविष्यका लागि प्रकृतिबाटै प्रेरणा लिनुपर्ने अवस्था छ ।
प्रकृति भनेको सूक्ष्म रूपमा पञ्चतत्व अर्थात् धरती, पानी, वायु, आकाश र तापको सन्तुलित सम्मिश्रण हो । भौतिक रूपमा भन्नुपर्दा हामी मानव र हाम्रा वरिपरि रहेका जगत्, वनस्पति, जीवजन्तु आदि यिनै पञ्चतत्वबाट उत्पन्न भएका अवयव हुन् । यिनीहरूको जीवनको निरन्तरता र सन्तुलन नै प्रकृतिको उद्देश्य हो । यस वर्षको कार्यक्रम जलवायु परिवर्तन र प्रकृतिको संरक्षणमा केन्द्रित रहेको छ ।
विश्वका सबै राष्ट्रहरूले उच्च महत्त्वका साथ विश्व वातावरण दिवस मनाउने गरेका छन् । तर, प्रत्येक वर्ष एक विशेष राष्ट्र विश्व वातावरण दिवसको आयोजक राष्ट्र रहने गर्छ । यस वर्ष आयोजक राष्ट्र अजरबैजान हो । गणतन्त्र अजरबैजानले एसिया र युरोप महादेशको सीमा साझा गर्छ । अजरबैजानको राजधानी बाकु हो ।
विश्व वातावरण दिवसको आयोजक राष्ट्रले मुख्य विश्वव्यापी कार्यक्रमको नेतृत्व गर्छ । आयोजक राष्ट्रले राष्ट्रसंघीय वातावरण कार्यक्रमसँग सहकार्य गर्दै विश्वभर वातावरणीय सचेतना बढाउने र पर्यावरण संरक्षणका व्यावहारिक कार्यहरूलाई प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी निर्वाह गर्छ । आयोजक राष्ट्रले आफ्नो देशका विशिष्ट वातावरणीय प्रयासहरू विश्वसामु प्रस्तुत गरी विश्वलाई उदाहरणीय सन्देश दिन्छ ।
अजरबैजानले ‘सीओपी ट्वेन्टी नाइन’ (COP29) को निरन्तरतास्वरूप हरित ऊर्जा, शून्य–उत्सर्जन क्षेत्रको विकास र एकल–प्रयोग प्लास्टिकमा प्रतिबन्धजस्ता नीतिहरू अघि सारेको छ । साथै, यसले पृथ्वीको जलवायु संकट समाधान गर्न ‘नाउ फर क्लाइमेट’जस्ता अभियानको थालनी गरी यसमा जोडिन विश्व समुदायलाई आह्वान गरिरहेको छ ।
संयुक्त राष्ट्र संघले सन् २०२४ को अन्त्यसम्ममा प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी सन्धि लागू गर्ने प्रयास गर्दै आएको भए पनि हामीकहाँ यसको प्रभाव कत्तिको परेको छ त भन्ने कुरा हामी नेपालीले आफ्नै भान्सा र घरबारी नियाले मात्रै पनि थाहा हुन्छ । युरोपेली युनियन र थुप्रै विकसित देशहरूले स्ट्र, प्लेट, चम्चाजस्ता एकल–प्रयोग प्लास्टिकलाई पूर्ण रूपमा प्रतिबन्धित गरेका छन् ।
उद्योगहरूले यसको प्रयोग अस्वीकार गर्ने, घटाउने र पुनः प्रयोग नगर्ने अवधारणाहरू सार्वजनिक गरिसकेका छन् । तर, हामी नेपालीले सरकारी र गैरसरकारी स्तरबाट हुने यस्ता प्रयासहरूलाई मजाक बनाउने गरेका छौँ ।
नेपालजस्ता देशहरूमा माटोको उर्वराशक्तिको ह्रास र भूमिगत जल नवीकरणमा बाधा पुर्याउनुका अतिरिक्त प्लास्टिकका झोला र बोतलले ढल निकास बन्द गराई बर्खायाममा कृत्रिम बाढी र सडक जलमग्न हुने समस्याको सामना पनि गरिरहनुपरेको छ ।
नेपाल सरकारले ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलालाई प्रतिबन्ध लगाउने घोषणा पटक–पटक गरे पनि प्रभावकारी अनुगमनको अभावमा यसको कार्यान्वयन फितलो भएको छ । पोखरा, इलाम र काठमाडौँका केही वडाहरूले स्थानीय स्तरमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने र कपडाका झोला प्रवर्द्धन गर्ने प्रयास गरिरहेका छन् । तर, ती प्रयासहरूको विस्तार गर्न स्थानीय तह सजग हुन सकेका छैनन् ।
बढ्दो प्रदूषण, जैविक विविधताको विनाश र जलवायु संकटको समाधान खोज्ने विश्वको प्रयासमा नेपाली जनता एकताबद्ध हुने चेतनाको अभिवृद्धि अत्यन्तै मन्द गतिमा भइरहेको छ ।
प्लास्टिक प्रदूषण न्यूनीकरण, वृक्षारोपण र प्राकृतिक स्रोतहरूको दिगो प्रयोगका लागि सरकारी तथा गैरसरकारी स्तरमा चलाइएका अभियानहरू भ्रष्टाचारका कारणले गर्दा आमनागरिकको पहुँचमा पुग्न सकेका छैनन् ।
तथापि स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आ–आफ्नो स्थानबाट सरसफाइ र प्रकृतिको सम्मान गर्ने नागरिक भूमिकाका लागि नेपाली जनता स्वतःस्फूर्त रूपमा अघि बढ्नुको विकल्प छैन । नागरिक स्वयंले प्लास्टिकको प्रयोग त्याग्ने सामूहिक संकल्पबाट ओतप्रोत नभएसम्म यो संकट टर्नेवाला छैन ।
प्लास्टिक प्रदूषणलाई फोहोर व्यवस्थापनको समस्या मात्र बुझेसम्म यो समस्याको अन्त्य सम्भव छैन, बरु समस्या झन् विकराल बन्दै जानेछ । यसलाई उपभोग गर्दाकै अवस्थामा नियन्त्रित गर्नुपर्छ । सरकारले कडा कानुन र अनुगमन प्रणाली लागू गर्ने, उद्योगहरूले विकल्पहरू उत्पादन गर्नेजस्ता कुराहरू सैद्धान्तिक सीमामा सीमित रहेसम्म अर्थपूर्ण हुन सक्दैनन् ।
यसर्थ, आज विश्व वातावरण दिवसले यसको संरक्षणका लागि तत्कालै सामूहिक कदम चाल्नुपर्ने गरी दिएका सन्देशहरूलाई फेहरिस्तका रूपमा बुझिनु आवश्यक छ । व्यक्तिगत स्तरमा हाम्रा साना र दैनिक बानीहरू परिवर्तन गरेर प्लास्टिक प्रदूषण न्यूनीकरणमा ठुलो योगदान पुर्याउन सकिन्छ । हामी आफैँले आजैदेखि सुरु गर्न सक्ने कुराहरू के–के हुन् त भन्ने कुराको चेतना र कटिबद्धता हुन सके मात्र विश्व वातावरण दिवस अभियानले सही बाटो समातेको भन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण