बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धितोपत्र बजारमा जोखिममा आधारित सुपरिवेक्षण सुरु : कारोबारमा कस्तो असर गर्छ ?

बिहीबार, १५ असोज २०७७, १० : ३२
बिहीबार, १५ असोज २०७७

काठमाडौं । धितोपत्र बजारमा जोखिममा आधारित सुपरिवेक्षण सुरु भएको छ । धितोपत्र बजारको नियामकीय निकायको रुपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिहीबार (अक्टोबर १) देखि लागु हुनेगरी यस्तो म्यानुअल लागु गरेको हो । यो म्यानुअलको उद्देश्य अवैध क्रियाकलापबाट आर्जित सम्पत्तिलाई धितोपत्र बजारमार्फत् शुद्धिकरण गर्ने प्रयासलाई कम गर्नु हो ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४, सम्पत्ति शुद्धिकरण निवारण नियमावली २०७३ र बोर्ड आफैले यसअघि जारी गरेको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निर्देशन २०७६ का व्यवस्थाहरु लागु गराउन यस्तो म्यानुअल जारी गरी लागु गरेको जनाएको छ । यो म्यानुअल फाइनान्सियल एक्सन टक्स फोर्स (एफएटीएफ) तथा यसअन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) को मापदण्डमा आधारित रही धितोपत्र व्यवसायीको जोखिममा आधारित रहेको समेत बोर्डले प्रष्ट पारेको छ ।

यो म्यानुअल अन्तर्गत कुनैपनि धितोपत्र व्यवसायीको संरचनागत र अन्तर्निहित जोखिम र त्यसको व्यवस्थापनलाई १ देखि ५ सम्मको रेटिङ दिने, उनीहरुको जोखिमको आधारमा स्थलगत वा गैरस्थलगत सुपरिवेक्षण गर्ने, धितोपत्र व्यवसायीले गर्ने परिमाणात्मक र गुणात्मक कारोबार विवरणको गैरस्थलगत सुपरिवेक्षण गर्ने र त्यस्तो सुपरिवेक्षणका क्रममा जोखिम देखिएमा स्थलगत सुपरिवेक्षण गर्ने विषय म्यानुअलमा समावेश गरिएका छन् ।

बोर्डले जोखिम निर्धारणका लागि धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवाको प्रकृति, ग्राहकको प्रकार, भौगोलिक क्षेत्रसम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्तिसम्बन्धी जोखिम, वितरण माध्यमसम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनागत र व्यवस्थापनसम्बन्धी जोखिमलाई आधार लिएर त्यस्तो सुपरिवेक्षण गर्ने जनाएको छ ।

कारोबारमा कस्तो असर गर्छ ?

बोर्डले लागु गरेको यो व्यवस्थाले सामान्य रुपमा हुने कारोबामा कुनै असर गर्दैन । तर, असामान्य कारोबारको हकमा भने जोखिमको आधारमा धितोपत्र बोर्डले यसको निगरानी गर्ने र आवश्यकताअनुसार स्थलगत र गैरस्थलगत सुपरिवेक्षण गर्ने काम गर्छ ।

उदाहरणको लागि कुनैपनि धितोपत्र व्यवसायीको कारोबार गर्ने वस्तु तथा सेवाको प्रकृति असामान्य रुपमा परिवर्तन भएको, कुनै ग्राहकले असामान्य रुपमा ठूलो कारोबार गर्ने वा एकैदिन धेरैपटक कारोबार गर्ने गरेको पाइएमा, उपत्यका बाहिर वा ग्रामीण क्षेत्रमा रहेको व्यवसायीहरुबाट ठूलो र असामान्य रुपमा कारोबार भएको पाइएमा, कुनै सार्वजनिक निकायमा पदधारण गरेका वा सूचीकृत कम्पनीको उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले गर्ने कारोबारलाई समेत बोर्डले निगरानी गरिरहेको हुन्छ ।

त्यसरी असामान्य कारोबार भएको पाइएको अवस्थामा भने सम्बन्धित व्यक्ति वा कारोबार गर्ने धितोपत्र व्यवसायीसँग आवश्यक स्पष्टिकरण लिने, कारबाही गर्ने वा आफ्नो क्षेत्रबाहिरको कारबाहीका लागि सम्बन्धित अरु निकायमा सिफारिस गर्ने काम बोर्डले गर्नेछ । त्यसबाहेक बोर्डले सम्बन्धित धितोपत्र व्यवसायीलाई ग्राहक पहिचान विवरण (केवाईसी) तथा कारोबारमा सम्पत्तिको स्रोत खुलाउने विषयमा थप कडाई गने बोर्डले जनाएको छ । यो म्यानुअल लागु भएपछि धितोपत्र बजार थप व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी हुने विश्वाससमेत बोर्डले व्यक्त गरेको छ ।

सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिसन्धीमा नेपाल पक्ष राष्ट्र भएकोले विश्वमा विभिन्न आतंकवादी क्रियाकलाप गर्ने र नेपालका बैङ्क तथा वित्तीय संस्थामार्फत् त्यसरी कमाएको कालो धनलाई शुद्धिकरण गर्ने प्रवृत्ति निरुत्साहन गर्न वित्तीय कारोबार गर्ने सबै नियामक निकायले यस्तो मापदण्ड लागु गरिसकेका छन् । एफएटीएफ र त्यसअन्तर्गतको एशिया प्यासिफिक ग्रुपले आगामी वर्ष यो कार्यमा नेपाले गरेको प्रगतिको समीक्षा गर्दैछ । नेपालले अहिलेसम्म एफएटीएफको पूर्ण सदस्यता पाएको छैन । तर त्यही अन्तर्गतको एपीजीको भने नेपाल सदस्य राष्ट्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप