शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ निर्वाचनः के सहमतिको वातावरण बनेकै हो त ?

अन्तिम समयमा सहमतिको खोजी
आइतबार, २३ कात्तिक २०७७, १९ : २५
आइतबार, २३ कात्तिक २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाका लागि नयाँ मिति यही मंसिर ११, १२ र १३ गतेलाई तोकिएको छ । मंसिर ११ र १२ गते महासंघको साधारणसभा गर्ने र १३ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने गरी कार्यतालिका बनिसकेको छ ।

सोही कार्यतालिका अनुसार मंसिर ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम मिति तोकिएको छ ।  साधारणसभा र निर्वाचनको मिति नजिकिएको अवस्थामा महासंघभित्र पदाधिकारी चयनका लागि सहमतिको प्रयास हुन थालेको छ । निर्वाचनको मिति नजिकिएसँगै महासंघभित्र वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारीहरुको चयन सहमतिबाटै गर्नेगरी पहल थालिएको हो ।

यद्यपि वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीका आकांक्षीहरुले आ–आफ्नो प्यानलमा चुनाव प्रचारलाई तीव्र तुल्याएका छन् । स्पष्ट दुई प्यानलमा विभाजित महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र अर्का उम्मेदवार किशोर प्रधान चुनावी मैदानमा छन् । ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन् । 

अर्का उम्मेदवार प्रधानको प्यानलबाट वस्तुगततर्फ अञ्जनकुमार श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । तर यसरी ध्रुवीकरणका साथ चुनावी भिडन्तमा जाँदा अन्ततोगत्वाः महासंघलाई फाइदा नगर्ने भन्दै यतिखेर सहमति खोज्ने अन्तिम प्रयास गरिएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय ढकाल र प्रधान दुवै महासंघका लागि आवश्यक व्यक्तित्व भएकाले सहमतिमा नेतृत्व चयनमा जानुपर्ने व्यवसायीहरुको मत छ । 

त्यसो त यसअघि खुलेरै प्रधान प्यानलमा लागेका हालका वरिष्ठ उपाध्यक्ष तथा ५४औं साधारणसभापछि महासंघको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्ने शेखर गोल्छासमेत यतिखेर सहमतिको पक्षमा देखिएका छन् । केहीदिन अघिमात्र आफ्नो ट्विट वालमा सहमतिको संकेत गर्दै गोल्छाले लेखेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा चुनाव नै सर्वोत्तम तरिका हो । तर अहिलेको विषम परिस्थितिमा उद्योग वाणिज्य महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद् हुने थियो । यो प्रयास जारी राखौं ।’

यता, महासंघका पूर्वअध्यक्षहरु समेत सहमतिको पक्षमा उभिदै अन्तिम समयसम्ममा भए पनि सहमतिको विन्दुमा पुग्नुपर्नेमा जोड दिँदैछन् । सहमतिबाटै पदाधिकारी चयन भएमा महासंघ र सिङ्गो व्यावसायिक क्षेत्रकै लागि लाभदायी हुने उनीहरुको भनाइ छ । ‘महासंघको नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा जानुभन्दा पदाधिकारीबीच सहमति खोज्नु उत्तम विधि हो । यसो गर्दा महासंघ र सिङ्गो व्यावसायिक क्षेत्रकै हित हुन्छ,’ पूर्वअध्यक्ष कुशकुमार जोशीले भने, ‘तर यसका लागि दुवै पक्ष तयार हुन आवश्यक छ । हामीले त पहिलेदेखि नै सहमतिको पक्षमा मत जाहेर गर्दै आएका हौं ।’

अर्का पूर्वअध्यक्ष सुरज वैद्यले पनि सकेसम्म महासंघको पदाधिकारी चयन आपसी समझदारीमै हुनु राम्रो रहेको बताउँदै सहमति जुटाउनु पर्नेमा जोड दिएका छन् ।  ‘उद्योग वाणिज्यजस्तो व्यावसायिक संगठनमा राजनीति हुनु दुःखको कुरा हो । यसले संस्थाको साखमा नकारात्मक नजिर स्थापित हुने खतरा बढ्छ ।

त्यसमाथि अहिलेको कोरोना कहरको विषम् परिस्थितिमा महासंघ स्पष्ट दुई ध्रुवमा विभाजित भएर चुनावी प्रतिस्पर्धामा जानु दुर्भाग्य हो’ उनले भने, ‘बेलैमा सोचेर, विचार पुर्याएर आपसी समझदारीमा पदाधिकारी चयनमा गए सबैका लागि राम्रो हुने हो ।’ त्यसो त महासंघका केन्द्रीय पदाधिकारीदेखि तल्लो तहका व्यावसायिक सदस्यहरुले समेत महासंघको पदाधिकारी चयन आपसी सहमतिमै हुनुपर्ने आवाज उठाइरहेका छन् ।

सहमतिको वातावरण बनेकै हो त ?

अहिले दुई भिन्न पक्षलाई नेतृत्व गरिरहेका ढकाल र प्रधान नै सहमतिका लागि निर्णायक भूमिका निर्वाह गर्नसक्ने पात्र हुन् । उनीहरुका लागि अरुले सहयोगी भूमिका निर्वाह गर्नमात्र सक्छन् । तर यी दुवै पक्ष सहमतिमा आउने सम्भावना त्यति देखिँदैन । 

यसअघि पनि सहमतिको प्रयास नभएको होइन । ढकाल र प्रधानले महासंघको वरिष्ठ उपाध्यक्षमा आ–आफ्नै दाबी नछाड्दा सहमतिको वातावरण बन्न नसकेको हो । तर अहिले चुनावको अन्तिम समयमा आएर पुनः एकपटक सहमतिको प्रयास गरिएको छ । सबै पक्षको चाहना, अपेक्षा र राय सुझावका आधारमा सहमति जुटे आफूहरु त्यसकै आधारमा अघि बढ्न सक्ने दुवै पक्षले बताउन थालेका छन् । तर सहमतिका लागि तत्परता भने दुवै पक्षबाट अहिलेसम्म देखाएका छैनन् ।

‘अहिले महासंघमा अचम्म तरिकाले चुनावी माहोल बन्दैछ । यस्तो माहोल हामीले विगतमा देखेका थिएनौं र भोगेका पनि थिएनौं । यसले संगठनमा नै गम्भीर धक्का लाग्ने पो हो कि भन्ने डर पैदा भएको छ,’ महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘पूर्वअध्यक्ष तथा हालको कार्यसमितिकै जिम्मेवार व्यक्तित्वको हैसियतले संस्थाको भविष्यप्रति चिन्तित छु । कामना गर्छु, अन्तिम समयसम्म भए पनि पदाधिकारी चयनमा सहमतिको वातावरण बनोस् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप