मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

ढकाल भर्सेस प्रधान : चुनाव जित्ने दुई रणनीति

मङ्गलबार, ०९ मङ्सिर २०७७, १० : ५४
मङ्गलबार, ०९ मङ्सिर २०७७

उद्योग वाणिज्य महासङ्घको चुनाव जति नजिकिदै छ, उम्मेदवार एकले अर्कोलाई कमजोर देखाउने प्रतिस्पर्धा पनि चुलिदै छ । मानौँ महासङ्घको चुनावी प्रतिस्पर्धाभन्दा पनि एकले अर्कोलाई कमजोर देखाउने प्रतिस्पर्धा चलिरहेको छ । प्रजातान्त्रिक प्रणालीको एउटा सुन्दर पक्ष पनि हो चुनावी प्रतिस्पर्धा । यसमा पद र प्रतिष्ठाका लागि पावर शो (शक्ति देखाउने) गरिन्छ । अहिले त्यही भइरहेको छ । सबैले आफ्ना आफ्ना ठाउँबाट ‘पावर शो’ गरिरहेका छन् ।

मानौँ जसले विपक्षीको बढी कमजोरी देखाउन सक्छ, उसले नै जित्छ । तर त्यसो होइन । उनीहरुको विगतको कार्यमूल्यांकन उनीहरुले पाउने मतबाट हुनेछ  । कसले बढी व्यवसायीको हितमा काम गरेको छ र कसले व्यवसायीको मन जितेको छ निर्वाचन पछिको नतिजाबाट स्पष्ट होला ।

अबको पाँच दिनमा महासङ्घको नयाँ कार्यसमितको लागि निर्वाचन हुनेछ । विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत्तः अध्यक्ष बन्ने भएपछि उनले कसैलाई कमजोर देखाएर आफ्नो जित खोज्नु पर्दैन । यस मानेमा उनी ढुक्क छन् । ६४ पदको लागि हुने निर्वाचनमा उम्मेद्वारहरुको चुनावी प्रचारप्रसारको गति र उनीहरुको उत्साहले भन्छ, कोही हार्नेवाला छैन ।

चुनावी मैदानमा चन्द्र ढकाल भर्सेस किशोर प्रधानको प्यानल छ । सबैले आफ्नो जित सुनिश्चित भन्दै हिँडिरहेका छन् । महासङ्घमा एउटा अध्यक्षले तीन वर्ष काम गर्न पाउँछन् । यसो हुँदा पनि कुनै भवितव्य नभए अब बन्ने वरिष्ठ उपाध्यक्ष अबको तीन वर्षपछि स्वत्तः अध्यक्ष हुनेछन् । पद, प्रतिष्ठा पावरसँग जोडिने भएकाले पनि उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुन्छ । यही बेला गुट/उपगुट व्यापक मौलाउँछ ।

योग्य र सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्दै राणाको प्रधानतिरको झुकाव देखिन्छ । यता आफु पनि योग्य भएको भन्दै आफ्नो तर्फ मत आकर्षित गर्न ढकाल प्यानल पनि मरिमेटेर लागेको छ ।

कमजोर देखाउने प्रतिस्पर्धामा क्षमता र अनुभवमाथि नै प्रश्न

प्रधान प्यानल ढकालको अनुभवमाथि प्रश्न गरिरहेको छ । र, ढकाल प्यानल प्रधानको योग्यता र क्षमतामाथि प्रश्न गरिरहेको छ । प्रधान प्यानल ढकाल जुनियर र एकैपटक हाइप्रोफाइलबाट आएकाले ग्राउण्ड लेभलको दुःखका बारेमा उनलाई थाहा नभएको भन्दै मतदाता आफ्नो पक्षमा तान्दै छ भने ढकाल प्यानल पनि महासङ्घमा कोही पेन्सन पकाउन नआएको भन्दै  योग्य र सक्षम व्यक्तिलाई अवसर दिनुपर्ने बताउँदै आएका छन् ।

प्रधान प्यानल ढकाललाई बलियो प्रतिस्पर्धी मान्दैन र पैसाको पावर, प्रचारप्रसार बढी र राजनीतिक पावरमात्र ढकालको बलियो पक्ष मान्छ । एसोसिएट तर्फ सात वर्ष मात्र काम गरेको भन्दै प्रधान उनलाई टपक्क टिपेर महासङ्घमा ल्याउन नमिल्ने तर्क गर्छन् । उनको कुरा सुन्दा लाग्छ  ढकालको महासङ्घमा कुनै योगदान नै छैन र कसैले टपक्क टिपेर ल्याएको हो ।

यता, ढकाल प्यानलको पनि आफ्नै तर्क छ । प्रधानभन्दा पछि आएका शेखर गोल्छासँग उनी साढे तीन वर्षअघि पराजीत भएको र अहिले गोल्छाकै उम्मेदवार हुुँदा शेखरको हकमा सिनियर र जुनियर लागू नहुने र आफ्नो हकमा त्यसलाई इस्यु बनाइन्छ भने त्यसमा कुनै तुक नभएको ढकाल बताउँछन् । योग्य र सक्षम आए उम्मेदवारी फिर्ता लिएर सहमतिमा जाने प्रायः उम्मेदवारले बोल्ने एउटै भाषा हो तर सहमतिमा जान कोही तयार छैनन । यसको मतलब सबैले आफुलाई मात्र सक्षम मानेका छन्, योग्य ठानेका छन् ।


महत्वकांक्षी एजेण्डा

प्रधान प्यानल कसैले कल्पनै नगरेको परिवर्तनको सपना देखाउँदैछ भने ढकाल प्यानल देशको समृद्धिको यात्रामा राज्यले नीजि क्षेत्रको सम्मान आफ्नो जित पछि मात्र गर्ने बताउँछ । यस मानेमा कि ढकालकै भाषामा भन्दा समृद्धिको यात्रामा निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । महासङ्घमा ढकालको उम्मेदवारी त्यो सम्मान पाउनका लागि हो । राज्यबाट अभिभावकत्व पाउनका लागि पनि हो । र, कोरोनाले थलिएको निजी क्षेत्र र देशमा ढकाल आएपछि अर्थतन्त्र उक्सिन्छ ।  यता, प्रधान भारतको विहार र चीनको विकासको उदाहरण दिँदै त्यस्तै विकासको लागि आफुले काम गर्ने आस्वासन दिन्छन् । सरकारले लिएको दोहोरो आर्थिक बृद्धिको लक्ष्यमा उनको जितले मात्र पुर्याउँछ, यो प्रधानको भनाइ हो ।

साझा लक्ष्य

दुबै उम्मेदवारको साझा उद्देश्य पनि छ । दुबै आफ्नो जीत पछि निजी क्षेत्रको शाख फर्कने बताउँछन् । महासङ्घको सुदृढिकरणको लागि आफ्नो जितको आवश्यकता दुबै पक्षले देखेका छन् । दुबै पक्ष कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने सपना देख्छ भने दुबै आम व्यवसायी उद्योगीको भावनाको कदर गर्ने बताउँछ । सरकारसँगको निकता, व्यवसयाी व्यापारी उद्योगीसँगको निकटता, आर्थिक समृद्धि, व्यवसायिक क्षेत्रको समस्यामा देखिएको अन्त्य गर्ने दुबै पक्षको साझा लक्ष्य पनि हो ।

जिल्ला नगर उद्योग वाणिज्य सङ्घको १०७, एसोसिएटको ९२३, वस्तुगतको १०१ जना र द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरुबाट १२ जनाले महासङ्घको निर्वाचनमा मतदान गर्दैछन् । कुन चाहिँ रणनीतिले कसको पल्लाभारी हुने हो केही दिनमा नै थाहा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप