आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

४७ प्रतिशतले पाए कोरोना बीमा भुक्तानी, ढिलो हुनुमा यस्तो छ बीमा समितिको प्रष्टीकरण

बिहीबार, २५ मङ्सिर २०७७, १५ : ५९
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । कोरोना बीामाको मागदाबी गरेका ४७ प्रतिशत बीमितले कारोना बीमाको भुक्तानी पाएका छन् । बीमा समितिको तथ्याँकअनुसार बुधबारसम्म ८ हजार १ सय ४५ जना बीमितले कोरोना बीमाको दाबी भुक्तानी पाएका हुन् । सो दिनसम्म कूल १७ हजार २ सय ३५ जनाले बीमाको भुक्तानीका लागि मागदाबी गरेका थिए । बीमा मागदाबी गर्ने र भुक्तानी पाउनेको यो अनुपात करिब ४७.२६ प्रतिशत हो । अझै ५२.७४ प्रतिशतले भुक्तानी पाउन बाँकी रहेको अवस्था छ । 

अहिले कागजात पूरा भएर पनि बीमा मागदाबी भुक्तानी पाउन बाँकी रहेको बीमित ९ हजार ९० जना रहेको छ, उक्त संख्यामध्ये ४ हजार १ सय ५२ जनाको माग दाबीको भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको छ । त्यसरी पठाइएको मध्ये २ हजार ४ सय ९३ जनाको दाबी भेरिफिकेसन भएर आइसकेको बीमा समितिले जनाएको छ । 

कोरोना बीमाको पुल व्यवस्थापक रहेको शिखर इन्स्योरेन्सले गरिरहेको छ । बीमा समितिले बुधबार सो इन्स्योरेन्सको कार्यालयमा गएर स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा मागदाबीका लागि पेश भएकामध्ये हालसम्म १ हजार १ सय ३६ जनाको कागजात पूरा नभएकोले सम्बन्धित बीमा कम्पनीलाई फिर्ता पठाइएको देखिएको बीमा समितिले जनाएको छ । 

किन ढिला भयो भुक्तानी ?

अर्थ मन्त्रालयले अघिल्लो साता बीमा समितिलाई सर्कुलर गर्दै ३ दिनभित्र कागजात पुगेका मागदाबीको भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । अर्थ मन्त्रालयले दिएको निर्देशनअनुसार बीमा समितिले बीमा पुल व्यवस्थापकलाई भुक्तानीका लागि निर्देशन दिएपनि अझै ५२.७४ प्रतिशत बीमितले दाबी भुक्तानी पाउन नसकेको समितिको तथ्याँकले देखाएको हो । 

तर यसरी भुक्तानी ढिला हुनुमा बीमा समितिले ४ वटा कारण रहेको जनाएको छ । निर्जीवन बीमा कम्पनीहरुले आफूलाई प्राप्त भएको मागदाबीका सबै कागजातहरु रुजु गरेर मात्रै पुल व्यवस्थापकलाई पठाउनुपर्नेमा केही कम्पनीले कागजात नै पूरा नगरी पठाएको र पुलले त्यसलाई फेरि रुजु गर्नु परेकोले भुक्तानीमा ढिलाई हुन गएको समितिको तर्क छ । 

त्यस्तै, मापदण्डअनुसार स्पष्ट नभएका कोरोना बीमाको भुक्तानीका लागि भेरिफिकेसज गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्ने भएकोले पनि त्यस्तो भुक्तानीमा केही समय लाग्ने गरेको समितिको दाबी छ । त्यस्तै, दोहोरो पर्न गएका बीमालेखको दोहोरो भुक्तानी नियन्त्रणका लागि समेत भेरिफिकेसन गर्नुपर्ने भएकोले पनि यसमा ढिलाई हुन गएको समितिको तर्क छ । 

उता, बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुमा समेत पछिल्लो समय कोरोना संक्रमण देखिएका कारण दाबी भुक्तानी प्रक्रिया अवरुद्ध हुने गरेको पाइएको भन्दै यसले भुक्तानीको चाप पर्न गएकोले पनि यो प्रक्रियामा केही ढिलाई भएको समितिले जनाएको छ । यस्तो अवस्थामा समितिले बीमितलाई धैर्य गरिदन अनुरोध समेत गरेको छ । 

सबैले भुक्तानी पाउँछन्, ढुक्क हुनुस् : अध्यक्ष

समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ कोरोना बीमाको मागदाबीमा प्रक्रियागत कारणले ढिलो हुन गएको भए पनि कुनै पनि बीमितले भुक्तानी नपाउने अवस्था नरहेको बताउँछन् । कोरोना बीमामा ४ अर्ब रुपैंया बीमा क्षेत्रबाट जुटेको र त्यसभन्दा बढी दायित्वको जिम्मा सरकारले लिएका कारण प्रक्रिया पूरा गरेर सबैलाई भुक्तानी दिने उनले बताए । 

‘हामीले करिब ४ अर्ब रुपैंया आफैं जुटाएका छौं, त्योभन्दा धेरै दायित्व भए सरकारले व्यहोर्छ भनेर अर्थ मन्त्रालयले लिखित रुपमै सहमति दिएको छ । त्यसैले कसैले पनि भुक्तानी नपाउलान् कि भन्ने आशंका नगरे हुन्छ’ अध्यक्ष चापागाइँले भने । कोरोना बीमाको भुक्तानी नपाएको बारम्बार गुनासो बढेपछि अर्थ मन्त्रालयले यसमा चासो देखाएको थियो । दोस्रो पटकको ताकेतापछि भुक्तानीमा केही सुधार आएपनि कागजात पूरा भएकामध्ये अझै आधा भन्दा बढीले भुक्तानी पाउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप