शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

८ बुँदे निर्णय गर्दै प्रदेश कमिटी बैठक सम्पन्न
शुक्रबार, १७ पुस २०७७, १३ : ११
शुक्रबार, १७ पुस २०७७

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले ८ बुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो पक्षका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेकाले सो कदमविरुद्ध आन्दोलनको शंखनाद भएको बताए ।

पूर्वमन्त्री समेत रहेका पोखरेलले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनको उपलब्धिस्वरुप रहेका संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष तथा समावेशी सहितका उपलब्धिको रक्षार्थ आन्दोलन आवश्यक रहेको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कानूनमा नभएको कुराहरु गरेर देश र पार्टीमा अराजकता निम्त्याएकाले कारवाहीस्वरुप अध्यक्ष पदबाट हटाएको उनले स्पष्ट पारे । उनले आफैले संसद विघटन गरी असंवैधानिक व्यवस्था अनुसार मन्त्रीसहित विभिन्न पदमा नियुक्ति लगायतका कार्यहरु गर्नु घोर निन्दनीय रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले ओलीको शैली ‘हिटलरिज्म’ रहेको बताए ।

संसदीय दलका नेता मण्डलमाथि अविश्वास प्रस्ताव 
प्रतिनिधिसभा विघटनपछि नेकपा दुई खेमामा विभाजित भएसँगै एक अर्कालाई कारवाही गर्ने होड नै चलेको छ । प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएसँगै दुवै समूह एक अर्कामाथि कारवाहीमा उत्रिएको हो ।

सोही क्रममा प्रदेश २ मा समेत एक अर्को पक्षका नेतालाई कारबाही, पदमुक्त गर्ने लगायतका गतिविधिले तीव्रता पाएको छ ।
प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल रहेको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रकृया अगाडि बढाइएको प्रदेश सभा सदस्य शत्रुधन महतोले जानकारी दिए । संसदीय दलका नेता मण्डल ओली समूहमा लागेपछि उनीमाथि अविश्वास प्रस्ताव लगाउने प्रकृया अगाडि बढाइएको महतोले बताए ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश–२ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराईसकिएको प्रदेशसभा सदस्य महतोले स्पष्ट पारे । उनका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।  यद्यपि प्रचण्ड–नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यहरुको समर्थन आफुहरु समक्ष रहेको दावी गरे ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा प्रदेशसभा सदस्यहरु गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, रामकुमार यादव, प्रमोदकुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगतप्रसाद यादव, शत्रुघन महतो, भरतप्रसाद साह, मन्जुकुमारी यादव,  बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्लीप्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर छ ।
प्रदेशसभा सदस्यहरु सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेको, तर प्रदेश बाहिर रहेकाले उनीहरुको हस्ताक्षर हुन बाँकी रहेको महतोले बताए ।

संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव लगाउनका लागि एक चौथाई प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित नेकपा संसदीय दलका उपनेता यादवलाई बुझाउनु पर्ने विधान अनुरुप उपनेतालाई २ दिन अघि नै अविश्वास प्रस्ताव दर्ता गराइएको उनले जनाए ।

आन्दोलनका लागि १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठनको घोषणा
प्रदेश २ मा नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउनका लागि प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहको नेतृत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ ।
नेकपा प्रदेशको संयोजक प्रभु साह, सचिव सुशिल प्याकुरेल र इन्चार्ज सत्यनारायण मण्डल ओली समूहमा औचापरिकरुपमा प्रवेश गरिसकेका कारण सहइन्चार्ज विश्वनाथ साहको नेतृत्वमा प्रदेश संघर्ष समिति गठन गरिएको प्रदेश सह–ईन्चार्ज महेन्द्र पासवानले जानकारी गराए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैर संवैधानिक कदमविरुद्ध आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरिएको सहइन्चार्ज महेन्द्र पासवानले स्पष्ट पारे ।

उनका अनुसार पुस १८ गतेदेखि पालिका तह तथा वडा–वडामा संघर्षका कार्यक्रमहरु अगाडि बढाइने भएको छ । जिल्ला र स्थानीय तहले आफ्नो आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु तय गर्न सक्ने उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप