शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घातक रुपमा संक्रमण फैलाउने नयाँ रुपको कोरोनाभाइरसको संक्रमण नेपालमा छ कि छैन ?

कोरोनाभाइरसको नयाँ स्वरुप बारे जनता भ्रममा, जिन सिक्विन्सिङ गर्नेबारे अझै अलमल
मङ्गलबार, २१ पुस २०७७, १३ : ०६
मङ्गलबार, २१ पुस २०७७

काठमाडौंं भाइरस म्युटेसन भएर नयाँ रुप ग्रहण गर्नु विज्ञानको दृष्टिले साधारण कुरा हो । त्यही अनुसार, विश्वभरि हाहाकार मच्चाइरहेको कोरोनाभाइरसमा म्युटेसन भएर बेलायतमा कोरोनाभाइरसको नयाँ स्वरुप देखापर्यो । बेलायतमा देखापरेको नयाँ रुपको भाइरस चाहिँ यसको माउ भाइरसभन्दा अत्यधिक धेरै छिटो संक्रमण हुने (५० देखि ७० प्रतिशत बढी) खालको भएपछि विश्वमा नयाँ चिन्ता र चासो देखापर्यो । यो भाइरसको प्रसारप्रसारलाई नियन्त्रण र रोकथाम गर्न विश्वका थुप्रै मुलुकहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाए । तर त्यसले उक्त नयाँ रुपको भाइरसको प्रसारप्रसार रोकिएन । हाल विश्वका १३ भन्दा बढी मुलुकहरुमा उक्त भाइरसको संक्रमण फैलिइरहेको छ ।

उक्त नयाँ स्वरुपको भाइरसविरुद्ध प्रतिरक्षात्मक कदम चाल्दै  नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बेलायतबाट स्वदेश आएकालाई अनिवार्य क्वारेन्टिन बस्न सूचना जारी ग¥यो । बेलायतबाट आएका व्यक्तिहरुलाई निःशुल्क कोरोना परीक्षण गर्ने व्यवस्था समेत मिलाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । तर, भारतमा पनि नयाँ स्वरुप भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा पनि स्वभाविक रुपमा जोखिम बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाका पूर्व, प्रमुख डाक्टर बाबुराम मरासिनी उक्त नयाँ रुपको भाइरसबाट संक्रमित भएका व्यक्ति नेपालमा पनि हुन सक्ने  आशंका जताउँछन् ।

बेलायतबाट नेपाल फर्किएकालाई कोरोना भाइरस पुष्टि भएपनि नयाँ स्वरुपको भाइरस हो वा होइन भनेर पत्ता लगाउन सरकारले तदारुकता देखाएको छैन । उक्त नयाँ स्वरुपको भाइरस संक्रमण देखापरेको विभिन्न सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई अन्य मुलुकहरुबाट हवाईमार्ग हुँदै आउनेहरुलाई झैँ कडाइ नगरिएकाले नेपालमा कोरोनाभाइरस नयाँ स्वरुपको संक्रमण झन् तिव्र गतिमा फैलिने खतरा बढेको भन्दै जनस्वास्थ्यविदहरुले चिन्ता  व्यक्त गरेका छन् । 

विगतमा पनि भारत हुँदै आउनेहरुबाट नै नेपालमा कोरोनाभाइरस संक्रमण तिव्ररुपमा फैलिएको थियो । कोरोनाभाइरस महिनैपिच्छे वा समयक्रमअनुसार विस्तारै स—साना म्यूटेट हुँदै जाने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । डा. पुनका अनुसार भाइरसले आप्mनो ‘रिप्लिका’ गर्ने अर्थात प्रतिलिपि बनाउने बेलामा धरै इररहरु पनि कपी गर्ने गर्छन् । त्यसमा पनि आरएनए भाइरसले चाहिँ एकदम बढी मात्रामा कपी गर्ने उनको भनाइ छ । त्यसले गर्दा कतिपय अवस्थामा थाहा नपाइकनै यो म्यूटेसन भइरहन्छ । प्राविधिक रुपमा दक्ष भएका देशहरुले परीक्षण गरेर भाइरसको परिवर्तित स्वरुप पत्ता लगाउने गर्छन् ।

नेपालकै प्रयोगशालामा जिन सिक्वेन्सिङ पत्ता लगाउन सकिन्छ

बेलायतबाट नेपाल फर्किएहरुलाई कोरोना संक्रमण पुष्टि भएपनि भाइरसको कुन स्वरुप कुन हो भनेर अन्योल भइरहेको छ । यस अवस्थामा बेलायतबाट फर्किएकालाई कोरोना पुष्टि भएपनि नयाँ स्वरुपको भाइरस हो वा होइन भनेर नेपालमै पत्ता लगाउन सकिने जनस्वास्थ्य बैज्ञानिक डा.समीरमणी दीक्षित बताउँछन् ।

प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न आर्थिक रुपमा महँगो पर्ने उनको भनाइ छ । सरकारले प्रस्ताव गरेको खण्डमा दीक्षितको आफ्नो प्रयोगशालाबाट जिन सिक्वेन्सिङ गर्न सकिने समेत उनले बताए । जिन सिक्वेन्सिङ गर्नका लागि दक्ष जनशक्ति र रिएजेण्ट आफूहरुसँग उपलब्ध भएकाले परीक्षण गरेर सही नतिजा दिन सक्ने उनको भनाइ छ ।

डा. मरासिनी भाइरसको स्वरुप पत्ता लगाउन नेपालमा त्यति सजिलो नहुने बताउँछन् । तर आर्थिक दृष्टिकोणले महँगो भएपनि नेपालमा संक्रमण फैलाइरहेको कोरोनाभाइरसले रुप परिवर्तन गरेको वा यो नयाँ स्वरुपको छ कि छैन भनेर पत्ता लगाएर राज्यले आम जनतालाई ढुक्क पार्नुपर्नेमा उनले जोड थियो । 

कोरोनाभाइरसको नयाँ स्वरुपले जनता त्रासित

करिव एक वर्षदेखि कोरोनाभाइरस कोभिड —१९ को त्रास जारी छ । नेपालमा अहिले संक्रमित संख्या न्यून भएको आकँडाहरु सार्वजनिक भइरहेको छ । तर, कोभिडको कारण मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन ।

कोरोना संक्रमणको जोखिम भएपनि जीवन शैलीलाई परिर्वतन गरेर क्रमशः पुरानो लयमा फर्किन लागेको अवस्था भाइरसमा नयाँ स्वरुप देखिरहँदा जनता झन त्रसित भएका छन् ।

त्यसैले सम्बन्धित निकायहरुले भाइरसको नयाँ स्वरुपको बारेमा अहिलेसम्म खोज अनुसन्धानबाट प्रमाणित भएका सत्यतथ्य सूचना प्रवाहमा जोड दिनपर्ने आवश्यक डा.मरासिनी ठान्छन् । भाइरसको नयाँ स्वरुपदेखिँदा वृद्धावृद्ध दीर्घरोगीहरुले कडा खालको कोरोना आयो रे भनेर आतंक चिन्ता जाहेर गरेको आफूले धेरैबाट सुनेको उनले बताए । त्यस किसिमको हल्ला फैलिँदै जाँदा र त्यसको समयमै निरुपण नहुँदा समाजमा भ्रम र आतंक सिर्जना गर्ने उनको भनाइ छ । त्यसैले डा. मरासिनी  । त्यसैले गलत सूचना प्रवाह गर्ने कामलाई निरुत्साहित गरिनुपर्ने बताउँदै  कुनै पनि सूचना सहिरुपमा सम्प्रेषण गर्न आग्रह गर्छन् ।

कोरोनाभाइरसको नयाँ स्वरुप संक्रमण बारे सर्तक बनौं 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि नयाँ स्वरुपको कोरोनाभाइरस छिटो फैलिने बताएको छ । यद्यपि  यसले गम्भिर बिरामी नबनाउने, संक्रमित भएमा मृत्यु दर बढ्ने वा नबढ्ने, जोखिम हुने वा नहुने भन्ने बारेमा प्रमाणित नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा.रुना झा बताउँछिन् । 

यस्तै भाइरसहरुको स्वरुप समय क्रमअनुसार परिवर्तन हुँदै जान्छ । तर परिवर्तित स्वरुपको भाइरस कडा वा कम प्रभावी कस्तो छ भनेर विना परीक्षण ठोकुवा गर्न नमिल्ने डा. मरासिनी बताउँछन् । ‘अन्य रोगका भाइरसको स्वरुप परिवर्तनहरुलाई हेरेर भन्नुपर्दा नयाँ स्वरुपको कोरोना भाइरस सायद मानिसबाट मानिसमै परिवर्तन भएको होला,’ उनले भने, ‘भाइरसको नयाँ स्वरुप जनावरबाट मानिस, मानिसबाट जनाबरमा सरेको भए भाइरसको स्वरुप कडा हुनसक्थ्यो, त्यसैले कोरोनाभाइरसको नयाँ स्वरुप मानिसबाट मानिसमा सरेको होला भनेर अनुमान लगाउन सकिन्छ । तर नयाँ स्वरुपको बारेमा यो भनिरहँदा संक्रमणको जोखिम कम भयो भन्न खोजेको होइन ।’

यस्तै अर्का जनस्वास्थ्य बैज्ञानिक डा. दीक्षितका अनुसार, भाइरसको नयाँ स्वरुप नेपाल प्रवेश गरेको खण्डमा झन सर्तकता अपनाउनुपर्छ । परीक्षणको दायरालाई बढाएको खण्डमा धेरै देशहरु नयाँ स्वरुपको संक्रमण  देखिन सक्छ । यो अन्य कुनै नयाँ अलग्गै किसिमको भाइरस नभएर यसअघि विश्वव्यापी रुपमा महामारी फैलाइरहेको कोरोनाभाइरस म्युटेट भई  नयाँ स्वरुपको भएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद्हरुका अनुसार, कोरोनाभाइरसको नयाँ स्वरुपको विकास  भएपनि हालसम्म भएका बैज्ञानिकहरुका अध्ययनले अत्तालिनुपर्ने अवस्था भने देखिन्न । तर, पनि यो छिटो छिटो संक्रमण गर्न सक्ने भएको, भारतमा पनि यसको संक्रमण देखिइसकेको, भारतसँगको सीमा नाका खुल्ला, भएकाले स्वभाविक रुपमा यो नयाँ स्वरुपको भाइरसको संक्रमण नेपालमा फैलन सक्ने उच्च जोखिम भएको उनीहरुको भनाइ छ । यो नयाँ रुपको भाइरस ज्यान लिइहाल्ने खालको घातक नभए पनि तीब्र रुपमा संक्रमण फैलाउन सक्ने भएकोले त्यसले महामारीलाई झनै तीब्र बनाउने, अस्पताल तथा उपचार केन्द्रहरुमा विरामीको चाप बढ्ने र अन्ततः त्यसले मृत्युदर समेत बढाउन सक्ने भनाइ जनस्वास्थविद् डा. शेरबहादुर पुनको रहेको छ । यो स्थितिमा कोरोनाभाइरसको संक्रमण जोखिम कायम नै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर सर्तक अपनाउनुको विकल्प नभएको बारेमा जनस्वास्थ्यविदहरु भनाइ एउटै छ ।

जिन सिक्विन्सिङबारे छलफल

बेलायतबाट फर्किएकाहरुमा नयाँ स्वरुपको कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा सरकारले अनिवार्य क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । बेलायतबाट फर्किएका केही व्यक्तिमा कोरोना पुष्टि भए पनि जिन सिक्विन्सिङ नगरेसम्म उनीहरुलाई संक्रमण गराएको भाइरसको स्वरुप पत्ता लाग्दैन । त्यसैले बेलायतबाट फर्किएका संक्रमण पुष्टि भएका र नभएकाले समेत १० दिनसम्म अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने जनस्वास्थ्यविदहरुको भनाइ छ ।

बेलायतबाट फर्किएर क्वारेन्टिनमा बस्नेहरुमा हालसम्म कुनैप्रकारको स्वास्थ्य समस्या नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेब पाण्डे बताउँछन् । क्वारेन्टिनमा बसेका सबैजना सम्पर्कमा रहेको समेत उनले बताए । 

भाइरसको जिन सिक्विनिङ गर्न निर्णय भइनसकेको राष्ट्रिय प्रयोगशालाकी प्रमुख डा. झा बताउछिन् । उनको अनुसार जिन सिक्विनिङको लागि आवश्यक पुर्वाधार नरहेकोले जिन सिक्विनिङ गर्ने वा नगर्ने र गर्नैपरे कहाँ गर्ने भनेर छलफल भइरहेको उनले बताइन् । यसअघि पनि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्द्वारा गरिएको अध्ययनले नेपालमा देखिएको कोरोनाभाइरस र भारतमा देखिएको भाइरसको प्रकृति मिल्दोजल्दो भएको देखाएको थियो । यस स्थितिमा आर्थिक रुपमा केही खर्चिलो भए पनि अहिले नेपालमा तीब्र रुपमा संक्रमण फैलाउन सक्ने नयाँ स्वरुपको कोरोनाभाइरसको संक्रमण छ कि छैन भन्नेबारे यकिन गर्नु नै बुद्धिमानी हुने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप