कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?

समाचार सारांश
- नेपाली कांग्रेसले मधेस प्रदेश सरकारको नेतृत्वको लागि दाबी गरेको छ। पार्टीका शीर्ष नेताहरूले सरकार आफ्नो नेतृत्वमा बन्ने बताउँदै आएका छन्।
- कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरामा जोड दिएका छन्। जनमत पार्टीले सरकार छाड्ने सम्भावना रहेको बताइएको छ।
- जनमत पार्टीका मुख्यमन्त्रीले बजेट पेश गरेर राजीनामा दिन सक्ने संकेत देखिएको छ, किनकि गठबन्धनमा एक-एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
काठमाडौँ । एक पटक फेरि नेपाली कांग्रेसले मधेस प्रदेश सरकारका लागी दाबी गरेको छ । मधेस प्रदेशमा जाने कांग्रेसका हरेक शीर्ष नेताले सो सरकार आफ्नो पार्टीको नेतृत्वमा बन्ने दाबी गर्दै आएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मधेस प्रदेशको सरकार अब काँग्रेसले नेतृत्व गर्ने दाबी गरे । नेपाली कांग्रेसको मधेस प्रदेश कार्यालयमा पुगेका सभापति देउवाले पत्रकारसँग कुरा गर्दै भने, ‘अब कांग्रेसको नेतृत्वमा यहाँ (मधेस प्रदेश) को सरकार बन्ने निश्चित भएको छ ।’ आलोपालो सरकार सञ्चालनको सहमतिअनुसार अबको पालो कांग्रेसको रहेको र चाँडै नै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।
यसअघि मधेस प्रदेश पुगेका गृहमन्त्री एवं रमेश लेखकले पनि कांग्रेसको नेतृत्वमा चाँडै सरकार बन्ने बताएका थिए । गृहमन्त्री लेखकले भनेका थिए,‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो नेतृत्व गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ ।’
त्यसअघि पार्टीका महासचिव विश्व प्रकाश शर्मा पनि सिराहाको लहान पुगेको वेला मधेस सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्नेमा जोड दिएका थिए ।
गत मंसिरमा उनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारको विकल्प खोजिने बताएका थिए । जनमत नेतृत्वको प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोले अब कांग्रेसको नेतृत्वमा सरकार बनाइने बताएका थिए ।
कांग्रेसका शीर्ष नेताहरूले दिने यस्तो अभिव्यक्तिले मधेस प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने देखिएको छ ।जनमत पार्टी स्रोतका अनुसार अध्यक्ष डा.सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई जुनसुकै बेला सरकार छाड्नुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि तयार रहन भनी सकेका छन् । स्रोतले भन्यो, ‘सम्भवतः मधेस प्रदेशको बजेट ल्याएर जनमत पार्टीका मुख्यमन्त्री सिंहले राजीनामा दिन सक्ने सङ्केत देखाइ सकेको छ ।’
कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले पनि मधेस प्रदेश सरकारको बारेमा पटक पटक कुरा उठाउँदै आएका छन् । मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने कुरा प्रदेशदेखि केन्द्रसम्म उठाउँदै आएका थिए । उनले पनि विभिन्न औपचारिक अनौपचारिक कार्यक्रममा यो कुरा भन्दै आएका थिए ।
अब त जनमत पार्टीले सरकार छाड्ने बेला पनि भइसकेको छ । गठबन्धनमा मधेस प्रदेशको सरकार एक–एक वर्ष नेतृत्व गर्ने सहमति भएका थियो । सो सहमति अनुसार जनमत पार्टीको पालो सकिएको छ । जेठ २५ गते जनमत पार्टीको नेतृत्वमा सरकार बनेको थियो । सो सरकारले आइतबार एक वर्ष पुरा गर्दै छ । सो सहमति अनुसार जनमत पार्टीले सरकार छाड्नुपर्ने कांग्रेसले दाबी गर्दै आएको छ ।
मधेस प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । सम्भवतः बजेट प्रस्तुत गरेर मुख्यमन्त्री सिंहले राजीनामा गर्ने अवस्था रहेको जनमत पार्टीकै कतिपय नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल