शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै

शुक्रबार, २३ जेठ २०८२, १५ : २४
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को नेतृत्व चयनमा सहमति नजुटेपछि विधान संशोधनको तयारी गरिएको छ । 

अध्यक्ष पदमा पुष्प ओली लगभग पक्का भएको तर अन्य पदमा आकाङ्क्षीबिच सहमति नहुँदा विधान संशोधन गरेर समस्याको हला खोजिने एक नेताले जानकारी दिए । 

जेठ २१ गते वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ३५ सदस्य पदाधिकारी सहित २५१ सदस्यीय केन्द्रीय समिति रहने पारित गरेको थियो ।

अध्यक्ष पदमा ओलीसहित केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐर, गणेश शाही आकाङ्क्षी थिए । महासचिवमा शाही र ऐरबिच कुरा नमिल्दा विधान संशोधन गरेर भएपनि नेताहरूको व्यवस्थापन गर्ने तयारी भएको ती नेताले भने ।

विधान संशोधन भए ऐर र शाहीमध्ये एकलाई वरिष्ठ उपाध्यक्ष, अर्कोलाई महासचिव बनाउने तयारी छ । ‘अध्यक्ष पदमा पुष्प ओली पक्का जस्तै भएको छ । तर अन्य पदमा कुरा मिलेको छैन । विधान संशोधन गरेर ४१ वा ५१ सदस्य पदाधिकारी बनाउनेबारे छलफल भएको छ । विधान संशोधन भएमा ऐर र शाहीमध्ये एक जना वरिष्ठ उपाध्यक्ष र अर्को महासचिवमा व्यवस्थापन गर्न लागिएको छ । यद्यपि अध्यक्षको दाबेदार कुँवर र पुलामीबिच पनि पदीय व्यवस्थापन मिलेको छैन । त्यही भएर निर्वाचन कार्यतालिका बारम्बार प्रभावित हुँदै आएको छ’, ती नेताले भने । 

जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलन निर्धारित समय घर्किएपछि शुक्रबारदेखि चावहिलस्थित गोल्डेन दरबार पार्टी प्यालेसमा बन्दसत्र सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप