बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
फलोअप

डिभोर्सपछि पनि पूर्वपतिसँग सम्बन्ध, विवादपछि आवेशमा हत्या

बुधबार, १४ जेठ २०८२, १४ : १९
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • रुपन्देहीको बुटवलमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या, पूर्व पति संलग्न रहेको आशंका।
  • घटना हत्या अभियुक्त र मृतकबीचको पुरानो सम्बन्धसँग जोडिएको, सुजन कोइरालाले दीपा र छोरीहरूको हत्या गरेको स्वीकारोक्ति।
  • सुजन कोइरालाले पहिले पनि दाजुको हत्या गरेको र जेल परेको, हाल प्रहरी हिरासतमा, घटनाको विस्तृत अनुसन्धान जारी।

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकमा एक महिलासहित उनका दुई छोरीको गएराति विभत्स हत्या भएको छ । 

प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटना हत्या अभियुक्त र मृतकबीचको पुरानो सम्बन्धसँग जोडिएको पाइएको जनाएको छ ।

हत्यामा संलग्न व्यक्ति सुजन कोइराला ३४ वर्षीय दीपा बस्यालका पूर्वपति हुन्। पाल्पाको प्रभाव–११ घर भएका कोइराला र दीपाबीच एक दशकअगाडि सम्बन्ध विच्छेद भएको थियो ।

डिभोर्सपछि दीपाले नवलपरासीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। ढकालबाट ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी नामकी दुई छोरी थिए । ढकालसहित दुई छोरीको शव हत्या भएको अवस्थामा बुधबार बिहान फेला परेको थियो । 

घटनामा मारिएका दुई बालिकाहरू दीपका हालका पति ढकालतर्फका सन्तान हुन् । दीपाको पहिलो पति सुजन कोइरालाबाट भने कुनै सन्तान थिएनन् । प्रहरीका अनुसार सुजन कोइरालाले २०६९ सालमा आफ्नै दाजुको हत्या गरी जेल परेका थिए । कास्की कारागारमा सजाय काटिरहेका उनी २०७८ असोज ३ गते संविधान दिवसको अवसरमा आममाफी पाई छुटेका थिए ।

प्रहरीका अनुसार छुटेपछि कोइराला बुटवलको होराइजन चोकस्थित आफ्नै घरमा बस्दै आएका थिए। दीपाको हालको श्रीमान् शंकर ढकाल रोजगारीका लागि दुबईमा छन् । यसबीचमा दीपा बेला–बेला सुजनको घर जाने गरेको स्थानीयहरूले बताएका छन् ।

हत्या आवेशमा, योजनाबद्ध होइन 

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका हत्या योजनाबद्ध नभइ माया–प्रेमका विषयमा विवाद हुँदा आवेशमा आएर भएको देखिन्छ । उनका अनुसार, दीपा र कोइरालाबीच पछिल्लो समय निरन्तर भेटघाट हुने क्रम चलेको थियो ।

घटनाको दिन दीपा दुई छोरीसहित सुजनको घर गएकी थिइन्। राति नै हत्या गरिएको प्रहरीले जनाएको छ। कोइरालाले दीपालाई घरेलु हतियार प्रहार गरेर र  छोरीहरूलाई घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । 

दीपा र कोइरालाको पृष्ठभूमि

मृतक दीपा पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी थिइन् । सुजन कोइराला भने बुटवलमै घरमा एक्लै बस्थे र हस्तकलाका साना व्यापार गर्दै आएका थिए ।

स्थानीयहरूका अनुसार कोइरालाको आमा पनि बुटवलमै बस्छिन्। उनी विगतमा दाजु हत्या प्रकरणमा जेल परेका र त्यसबेला पनि उच्च तहका नेताहरू तथा पाल्पा–कास्कीका प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क गरी छुटेका थिए भन्ने आरोप पनि स्थानीयले लगाएका छन् ।

पक्राउ र अनुसन्धान

हत्या आरोपमा सुजन कोइराला प्रहरी नियन्त्रणमा छन्। अहिले इलाका प्रहरी कार्यालय बुटवलले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार कोइरालाले सोधपुछका क्रममा पटक–पटक हत्या आफूले आवेशमा गरेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप