आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना

शनिबार, १० जेठ २०८२, २२ : ४५
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामाको चेतावनी दिएका छन्, उनले फेसबुकमा राजीनामाको नमुना पोस्ट गरेका छन्।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका शेरचनले मुस्ताङका मागहरू बजेटमा समावेश नगरिएकोमा गुनासो गरे।
  • शेरचनले आफ्नो राजीनामालाई आन्तरिक विरोधको रूपमा व्याख्या गर्दै, राजनीतिक प्रणालीमा आत्म-समीक्षाको लागि अपिल गरेका छन्।

पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् । उनी आजै भएको संसदीय दलको बैठकबाट बिचैमा निस्किएका थिए । 

बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी बैठकबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए । 

‘श्रीमान्, गहिरो आत्म मन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेस गर्न चाहन्छु,’ उनले पोस्ट गरेको पत्रमा भनिएको छ । यसअघि आएका बजेट र अहिले निर्माण हुँदै गरेको बजेटमा समेत दुर्गमका मागलाई सम्बोधन हुन नसकेको उनको भनाई छ । 

‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ उनले भने, ‘पूर्वाधार, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ ।’

उनले राजीनामालाई आन्तरिक विरोध भनेका छन् । ‘मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो । एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्म समीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले अघि लेखेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट मुस्ताङ ख बाट निर्वाचित भएका हुन् ।

11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप