बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुस्तामा झोलुङ्गे पुल निर्माणमा ढिलाइ : डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न सुस्तावासी बाध्य

बिहीबार, २७ फागुन २०७७, १२ : ३८
बिहीबार, २७ फागुन २०७७


परासी । सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा सुस्तावासीहरु अझै डुङ्गामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्तावासीहरु भारतीय बाटो प्रयोग गर्न बाध्य छन् भने भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’बाट बेलाबखत विभिन्न यातना खेप्दै आएका छन् ।

नारायणी नदी (गण्डक) ले घेरिएको सुस्ताबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन स्थानीयबासिन्दालाई डुङ्गाबाट यात्रा गर्नुपर्ने बाध्यता छ । बर्षाको समयमा एसएसबीको यातनाका बीच पनि भारतीय बाटोनै प्रयोग गर्न बाध्य हुनु परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए ।
नारायणी नदी पारी भारतको बिहारसँग जोडिएको सुस्ताभूमि सुस्ता गाउँपालिका वडा नम्बर ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालय, गाउँपालिका र सदरमुकामसँग जोड्ने गरी सरकारले २०७२ सालमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन ।

वर्षाैंदेखि भारतीय यातना खेप्दै र डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्दै आएका सुस्तावासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा गाउँ जोड्न एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुल बनाउने तयारी थालेको थियो ।
त्रिशुली आश्रय जे.भी. कन्स्ट्रक्शन कम्पनीले २०७४ सालमा २९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा झोलुङ्गे पुल निर्माणको ठेक्का लिएको छ । १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाइ रहने उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ५ बर्ष बित्दासमेत जमिनमूनिकै काममात्र गरेको छ ।

ठेकेदारले पुलको जग बनाउन कुल २ सय २० वटा पाईल राख्नुपर्नेमा ५ बर्ष लगाएर जम्मा २०० पाईलमात्र राखेको छ । 
झोलुङ्गे पुलका लागि नदीमा पाईलमा ४ वटा ठुलो अग्लो पिलर ठड्याइने छ भने १० वटा सानो पिलर ठड्याई झोलुङ्गे पुल बाँधिने कार्य हुनेछ । २ बर्षमा सम्पन्न गर्नुपर्ने योजना ठेकेदारको चरम लापरवाहीले अलपत्र परेको सुस्ता बचाऊ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए ।

ठेकेदार कम्पनीले वर्षमा २÷३ महिनामात्र काम गर्ने अनि वर्षभरी विभिन्न बहाना गर्दै गायब हुने गरेको स्थानीयवासी बताउँछन् ।
यता, पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चासो देखाएको छ । पुलको काम छोडी एक वर्ष फरार रहेको ठेकेदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुनः पुलको निर्माण कार्यमा लगाएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेता गर्दै आएको उनको भनाइ छ ।

नेपाली भूभाग प्रयोग गरेर सुस्ता पुग्ने एकमात्र विकल्प भनेकै डुङ्गा यात्रा हो । सुस्ताभूमि पुग्न नदीमा करिब अढाई किलोमिटरको दुरी डुङ्गामार्फत यात्रा गर्नुपर्दछ । डुंगाबाट नदी पार गर्न बाढीको समयमा करिब २ घण्टा र सुख्खा समयमा करिब १ घण्टा लाग्ने गर्दछ । नदीमा ठुलो बाढी आएको समयमा डुङ्गा चलाईदैन । यस्तो अवस्थामा भारतको बिहार हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए ।
सुस्तावासीहरुको मुख्य पेशा खेती र माछामार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरी विपन्न समुदायको बसोबास छ । करिब ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि वर्षौंदेखि भारतीय पक्षद्वारा अतिक्रमण हुँदै आएको छ । सो क्षेत्रमा हालसम्म १४ हजार ४ हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ भने १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोग गर्न रोक लगाएको छ ।

हाल आफ्नो जोतभोगमा जम्मा ७ हजार हेक्टर क्षेत्रफलमात्र रहेको सुस्तावासी बताउँछन् । सुस्तामा बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार समेतको समस्या छ । यस वर्षबाट सुस्तामा सोलारबाट बिजुलीको पहुँच भए पनि अरु समस्या यथावत नै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप