बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकअर्कालाई धोका नदिने विपक्षी गठबन्धनका नेताहरुको प्रतिबद्धता

प्रधानमन्त्रीको अफर आएपनि ब्याक नहुने माधव नेपालको उद्घोष
शनिबार, १२ असार २०७८, १८ : ५०
शनिबार, १२ असार २०७८

 विपक्षी गठबन्धनका नेताहरुले एकअर्कालाई धोका नदिने प्रतिबद्धता जनाएका छन् । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा एक शीर्ष नेताहरुले गठबन्धनमा कसैलाई धोका नहुने वचनवद्धता जाहेर गरेका हुन् ।

जनमोर्चाका महासचिव मनोज भट्टदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मले कुनै मूल्यमा एकअर्कालाई धोका नहुने बताए ।

भट्टले गठबन्धनसँगको सहकार्यमा आफ्नो हैसियत अनुसारको साथ सहयोग रहने बताए । यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि गठबन्धनबाट दायाँ बायाँ हुने सोचमा जसपा (उपेन्द्र यादव पक्ष) नरहेको बताए ।

त्यसपछि पत्रकारको प्रश्नको जवाफ दिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले काँग्रेस सभापति देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले स्वीकार नगर्ने बताए ।

नेपाललाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर पनि विपक्षी गठबन्धनबाट अलग गराउने अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरुबीच छलफल भइरहेका बेला उनले भने, 'माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । तर माधव नेपाल धोका दिने मान्छे होइन ।'

​नेता नेपालले प्रतिनिसभा पुनर्स्थापना भएको अवस्थामा देउवालाई प्रधानमन्त्री बनाउने प्रक्रियाबाट आफू पछाडि नहट्ने बताए । 

'जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन । धारा ७६ को ५ मा दलीय अनुशासन लागू हुँदैन। केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ,' नेता नेपालले भने, 'सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’ 

नेपालपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई आफूहरु (माधव नेपाल र प्रचण्ड)ले नै  प्रधानमन्त्रीका लागि अगाडि सारेको बताए ।

उनले भने ,‘शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन। मैले र माधवजीले उभिदिनुस् भनेका हौं। साथ दिन्छौँ भनेर हामीले उभ्याएका हौँ । यो पटक उहाँले प्रधानमन्त्रीका लागि साह्रै गरेको होइन । यो कुरा म तपाईंहरुलाई जानकारी गराउँछु ।’

प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने कुरा नेकपामै हुँदा बताएको भन्दै देउवालाई प्रधानमन्त्री बन्ने कुरामा धोका नहुने बताए । 

​‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ। १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ,’ प्रचण्डको भनाइ छ ।

उनले संविधानको धारा ७६ को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको बताए ।

अन्तरक्रिया कार्यक्रम समापन गरेका काँग्रेस सभापति देउवाले पनि सर्वोच्चबाट आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश आउने विश्वास व्यक्त गरे ।

साथै देउवाले पनि एमाले नेता नेपाललाई धोका नहुने बताए । उनले भने, ‘माधवजी लडाकू मित्र हो । उहाँले क्रान्तिकारी पार्टीको नेतृत्व गर्नुहुन्छ होला । उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ । उहाँलाई मबाट पनि कुनै धोका हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप