चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का ?
सारांश
- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०५ वर्ष पूरा भएको छ र यो पार्टी १० करोडभन्दा बढी सदस्य संख्यासहित विश्वको एक प्रमुख महाशक्ति बन्न सफल भएको छ।
- माओत्सेतुङको नेतृत्वमा सीपीसीले चीनलाई एकताबद्ध गरी समाजवादको आधार खडा गर्यो, जसपछि देङ सियाओपिङको पालामा आर्थिक सुधार र खुलापनको नीति लागू गरियो।
- चीनको प्रगतिमा सीपीसीको नीति र विचार प्रमुख रहेको छ भने नेपालका कम्युनिस्ट पार्टीहरू विचार र यथार्थलाई मिलाउन नसक्दा कमजोर बनेका छन्।
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०५ वर्ष पूरा भएको छ। भीषण युद्ध, त्याग र बलिदानबाट जन्मेको सीपीसीको स्थापना सन् १९२१ जुलाई १ तारिखमा भएको थियो ।
विश्वयुद्ध र गृहयुद्धबाट खरानी भएको चीन सीपीसी सत्तामा पुगेको ७७ वर्षमा विश्वको एक प्रमुख महाशक्ति बन्न सफल भएको छ। सन् २०२४ डिसेम्बरको अन्त्यसम्म सीपीसीको कुल सदस्य संख्या १० करोड २ लाख ७१ हजार पुगेको छ, जसमा ३ करोड ९ लाख ९५ हजार महिला सदस्य रहेका छन्।
पार्टी स्थापना कालदेखि सन् १९५० सम्मको समय आन्तरिक तथा बाह्य भीषण संघर्षमा बित्यो। सन् १९३५ देखि सन् १९४५ सम्म चलेको चीन–जापान युद्धमा करिब २ करोड मानिसले ज्यान गुमाएका थिए। त्यस युद्धमा सर्वोच्च नेता माओत्सेतुङको नेतृत्वमा बाह्य साम्राज्यवादी र आन्तरिक सामन्तवादी शक्तिविरुद्ध एकसाथ लड्नुपरेको थियो।
दोस्रो विश्वयुद्धको बेला माओले सिंगो चीनलाई एकताबद्ध बनाउन चियाङ काइसेक नेतृत्वको कुओमिन्ताङ पार्टीसँग मिलेर साम्रज्यवादी शक्तिलाई पराजित गरेका थिए। सन् १९४५ मा विश्वयुद्ध समाप्त भएपश्चात् सीपीसी र कुओमिन्ताङका सेनाबिच गृहयुद्ध भएको थियो। सन् १९४९ मा सीपीसीले विजय हासिल गर्यो।
जनवादी गणतन्त्र चीन घोषणा भएपछि सीपीसीले समाजवादको झन्डा फहरायो। समाजवादको आधार तयार पार्न सर्वोच्च नेता माओको अतुलनीय भूमिका रह्यो।

सन् १९५३ देखि १९५६ सम्म सामन्ती जमिन्दारहरूको जग्गा कब्जा गरी भूमिहीन किसानहरूलाई वितरण गरियो, जसले ग्रामीण जनजीवनमा ठुलो परिवर्तन ल्यायो। सन् १९५८ देखि १९६२ सम्म चीनलाई कृषिप्रधान देशबाट औद्योगिक राष्ट्रमा रूपान्तरण गर्न आर्थिक तथा सामाजिक अभियान लागू गरियो।
सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति भयो। चिनियाँ समाजबाट पुँजीवाद र परम्परागत अवशेषहरू समाप्त गरी माओको विचारधारालाई व्यवस्थित बनाउन यो अभियान चलाइएको थियो। यद्यपि, सांस्कृतिक क्रान्ति पूर्ण रूपमा सफल हुन सकेन।
माओले जनमुक्ति सेनालाई राज्यको मातहतमा नभई पार्टीको नियन्त्रणमा रहने व्यवस्था गरेका थिए। विश्वयुद्ध र गृहयुद्धबाट जर्जर भएको चीनलाई एकताबद्ध बनाएर समाजवादको आधार स्तम्भ माओकै नेतृत्वमा खडा गरिएकाले आजसम्म चिनियाँ जनताले उनलाई उच्च सम्मान दिँदै आएका छन्।
सन् १९७६ मा माओको निधनपछि पार्टी नेतृत्वमा आएका देङ सियाओपिङको अग्रसरतामा आर्थिक सुधार र खुलापनको नीति व्यापक रूपमा लागू गरियो। देङले सन् १९७८ मा यस नीतिलाई कडाइका साथ कार्यान्वयनमा ल्याए। धेरैले यसलाई आर्थिक सुधारका रूपमा मात्र व्याख्या गरे पनि वास्तवमा यो समग्र चिनियाँ विकासलाई अगाडि बढाउन गरिएको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक, प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई परिष्कृत गर्दै लैजाने एउटा दृढ अठोट थियो।

माओका केही कठोर नीतिका कारण धक्का पुगेपछि सचेत रहेका देङले कुशलतापूर्वक पार्टीको नीतिलाई कार्यान्वयन गरे। उनले पूरा ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउन केन्द्रित गरे। सत्तामा पुगेपछि उनले आधुनिक चीन निर्माणका लागि अर्थतन्त्र, कृषि, वैज्ञानिक तथा प्राविधिक विकास र राष्ट्रिय सुरक्षामा व्यापक सुधार गरे। खुला अर्थतन्त्र र उदारीकरणको महत्त्वाकांक्षी योजना घोषणा गरे। त्यसैले देङलाई चीनको आर्थिक सुधार र समाजवादी आधुनिकीकरणको वास्तुकारका रूपमा चिनियाँहरूले मान्ने गरेका छन्। चीनमा उनको ‘क्याट थ्योरी’ निकै चर्चित छ।
सन् १९९० को दशकमा विश्वभर फैलिएको पश्चिमाकरण र समाजवादी व्यवस्थामाथि परेको संकटको स्थितिमा सीपीसीले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ अभियान अघि बढायो। जनताको खुसीमा समर्पण, चिनियाँ राष्ट्रको पुनर्जागरण (चमत्कारिक विकास र विश्व रङ्गमञ्चमा उसको फरक उपस्थिति एवं पुँजीवादसँगको टकराव) कै कारण चीन एक महान् शक्तिका रूपमा उदायो।

सीपीसीले इतिहासको जस्तोसुकै कठिन घडीमा पनि सिद्धान्तप्रतिको निष्ठा गुम्न दिएन। मार्क्सवाद–लेनिनवाद र माओ विचारधाराप्रति प्रतिबद्ध रही पार्टी स्थापनाको मूल लक्ष्यप्रति अटल रह्यो। सीपीसीले देशको आधारभूत राजनीतिक प्रणाली बलियो बनाउने, सम्पूर्ण जनतालाई त्यस प्रणालीमा समेट्ने, समयानुकूल सुधार गर्दै जाने र विकासका लागि आफूसँग भएका सबै स्रोत परिचालन गर्ने काम कुशलतापूर्वक गर्यो। विभिन्न देशको अनुभवबाट सिक्ने, सम्पूर्ण जनतालाई पार्टीको मूल भावनाप्रति आस्थावान् बनाउने र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्नेजस्ता नीतिहरू अवलम्बन गर्यो।
सन् २०१२ मा सम्पन्न सीपीसीको १८औँ राष्ट्रिय महाधिवेशनपछि सी चिनफिङ महासचिवमा निर्वाचित भए। निर्वाचित भएलगत्तै उनले चीनबाट पूर्ण रूपमा गरिबी अन्त्य गर्ने घोषणा गरेका थिए। सन् २०२१ मा उनले गरिबी निवारण गर्ने महत्त्वाकांक्षी योजना पूरा गरे।

आफू सत्तामा आएपछि उनले चिनियाँ विशेषताको वैज्ञानिक समाजवाद व्यवहारमै लागू गरे। त्यसयता सी लगातार राष्ट्राध्यक्ष छन्। कम्युनिस्ट पार्टी स्थापनाको १०५ वर्ष पुगेको अवसरमा चीनका राष्ट्राध्यक्ष एवं सीपीसीका महासचिव सीले चिनियाँ विशेषताको समाजवादी आधुनिकीकरण गरी सशक्त मुलुक निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन्।
विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनले आफूलाई विकासोन्मुख मुलुक भन्ने गरेको छ। सीपीसीले आगामी सन् २०३५ सम्म मध्यम स्तरको विकास गर्ने र सन् २०४९ मा जनवादी गणतन्त्र स्थापनाको शतवार्षिकी मनाउँदा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य राखेको छ। आधुनिक चीन निर्माणमा सर्वोच्च नेता माओ, देङ र सीको महत्त्वपूर्ण भूमिका रहेकाले चिनियाँ जनताले उनीहरूलाई उच्च सम्मान दिएका छन्।
चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की सीपीसीले एकपछि अर्को फड्को मार्नुमा उनीहरूले अवलम्बन गरेको नीति र विचार नै प्रमुख रहेको बताउँछन्। ‘उपलब्धि र लोकप्रियताको हिसाबले सत्तामा आएको यति लामो समयसम्म एकपछि अर्को सफलता हासिल गर्दै गएको कम्युनिस्ट पार्टीको इतिहासमा सायद चिनियाँ कम्युनिस्ट पार्टी मात्रै एउटा पार्टी हो। यसको पछाडि उनीहरूले अवलम्बन गरेको नीति र विचारहरू नै प्रमुख हुन्,’ रातोपाटीसँग कार्कीले भने, ‘जसलाई मार्क्सवादले निर्देशित गर्यो र आफ्नै मुलुकको वास्तविकतामा उनीहरूले मार्क्सवादलाई प्रयोग गर्ने कोसिस गरे। मार्क्सवाद र आफ्नो मुलुकको भौतिक अवस्थाले माग गरेका अपेक्षाप्रति कम्युनिस्ट पार्टी इमानदार रह्यो।’
- नेपालका कम्युनिस्ट किन पतन भए?
विश्व अर्थ–राजनीतिमा चीनले अभूतपूर्व फड्को मारिरहँदा नेपालका कम्युनिस्ट पार्टीहरू सत्ताबाट बढारिएका छन्। सीपीसीको क्रान्तिबाट प्रभावित भएर वि.सं. २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका थिए। नेकपा स्थापनाको ७७ वर्षमा कम्युनिस्ट आन्दोलन निकै कमजोर बनेको छ।
_Bu94J0Fezs.jpg)
गत वर्ष भदौमा भएको ‘जेनजी’ आन्दोलन हुँदा कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार थियो। नेकपा एमालेका अध्यक्ष केपी ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थिए। तर युवाहरूको असन्तुष्टि थेक्न नसक्दा ओली सरकार ढल्यो र जनधनको ठुलो क्षति भयो।
नेपालको इतिहासमै फरक आन्दोलन मानिएको ‘जेनजी’ विद्रोहको जगमा गत फागुनमा भएको निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ अर्थात् १८२ सिटमा विजय हासिल गर्दा कम्युनिस्ट पार्टीहरूले ठुलो धक्का खाएका छन्। २०४७ देखि २०८२ सम्म पटक–पटक सत्तामा पुगेको एमालेले जम्मा २५ सिट जित्यो। जनयुद्धमार्फत उदाएको साविक नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टीको मूल घटक) ले जम्मा १७ सिट जित्यो। नेमकिपा र राष्ट्रिय जनमोर्चाले एक सिट पनि जित्न सकेनन्।
समानुपातिकतर्फ कम्युनिस्ट पार्टीहरूले पाएको कुल मत २३ लाख ७८ हजार ६०१ रहेको छ, जुन सदर मतको २१.५० प्रतिशत हो। २०७९ को निर्वाचनमा कम्युनिस्टहरूले ४४ लाख ४१ हजार ३८८ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनको तुलनामा यस निर्वाचनमा उनीहरूले ठुलो जनमत गुमाएको देखिन्छ।
नेपालको कम्युनिस्ट आन्दोलन लगातार खस्किनुमा विचार र आफ्नो मुलुकको यथार्थलाई मिलाउने तथा अनुभूत गर्ने कुरामा नेतृत्व इमानदार नभएको विश्लेषक टंक कार्कीको बुझाइ छ।
‘हामीकहाँ विचार र आफ्नो मुलुकको यथार्थलाई मिलाउने, अनुभूत गर्ने कुरामा हाम्रो नेतृत्व, कम्युनिस्ट आन्दोलनको नेतृत्व इमानदार रहेन। समयक्रमसँगै नेतृत्व बढी शक्तिको भोको भयो र सामाजिक परिवर्तनको आकांक्षाप्रति इमानदार हुन सकेन। त्यसैको दुष्परिणाम हामीकहाँ कम्युनिस्ट मुभमेन्टले यो पछिल्लो पटक धक्का खाएको जस्तो लाग्छ,’ उनले भने।
चीनको प्रगतिमा माओ, देङ र सी विशेषको मात्र भूमिका प्रमुख नभएको कार्कीको भनाइ छ। मूल रूपमा पार्टी र सामूहिक भूमिका प्रमुख रहेको उनी बताउँछन्।
कार्कीले भने, ‘सीपीसी सामूहिक नेतृत्व र सामूहिक संज्ञानमा चलेको परिपाटी हो। हामीकहाँ सायद लामो समयसम्म राजतन्त्रको राजनीतिक परिपाटीमा गुज्रेको मुलुक भएको हुनाले पनि हामीले व्यक्तिको भूमिकालाई अति मूल्यांकन गर्यौँ, सामूहिक संज्ञान र सामूहिक नेतृत्वको भूमिकालाई नजरअन्दाज गर्यौँ।’
पार्टी प्रणालीमा व्यक्तिको भूमिकाभन्दा सामूहिक बुद्धिमत्ता र सामूहिक संज्ञानले बढी परिणाम दिन्छ भन्ने पार्टीको मर्मलाई नेपालका कम्युनिस्ट पार्टीहरूले बुझ्न नसकेको उनले जिकिर गरे। ‘बिस्तारै हामीले पार्टीलाई ‘कल्ट स्ट्रक्चर’ (व्यक्ति पूजाको संरचना) मा रूपान्तरण गरिदियौँ। त्यसको दुष्परिणाम नै आज हाम्रो कम्युनिस्ट मुभमेन्टका कमजोरीका अभिव्यक्ति हुन्,’ उनले भने।
चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले एकपटक सोभियत संघका सर्वोच्च नेता ख्रुस्चेभलाई भनेका कुरा कार्कीले सुनाए। दुई नेताबिच कुराकानी हुँदा चाउले भनेका थिए, ‘हामी दुवैले आफ्ना वर्गलाई धोका दियौँ।’
ख्रुस्चेभ श्रमजीवी वर्गबाट आएका थिए र चाउ एन लाइ माथिल्लो वर्गबाट।
चाउ एन लाइले माथिल्लो वर्गबाट आए पनि तल्लो, उत्पीडित र शोषित वर्गप्रतिको आफ्नो निष्ठामा कमी आउन दिएनन्, अर्थात् उनले आफ्नो मूल वर्गलाई धोका दिए। तर ख्रुस्चेभले तल्लो वर्गबाट आएर पनि आफूलाई माथिल्लो नव–वर्गमा रूपान्तरण गरे र आफ्नो वर्गलाई धोका दिए।
त्यही सन्दर्भलाई नेपालसँग जोडेर कार्कीले भने, ‘हामीकहाँ सामान्यतया मध्यमवर्गीय नेतृत्व छ। त्यो मध्यमवर्गीय नेतृत्व जस्तै सत्तामा आयो, माथिल्लो वर्गको चकाचौधबाट लोभियो र त्यसैतिर लहसियो। भएको कमजोरी यही हो। तर यो ‘एक्सपोज’ भएको छ र एकपटक फेरि विचार प्रधान र सामाजिक पक्षधरताप्रति मान्छेहरूले पुनर्विचार गर्न थालेका छन्।’

- सीपीसीको स्थापना कसरी भयो?
सन् १९२१ को जुलाईमा सांघाईमा भएको पहिलो पार्टी कंग्रेसले चेन तुस्युको नेतृत्व चयन गरेको थियो। त्यसबेला चाउ एन लाइ फ्रान्स, चु तेह जर्मनी, चाउ फाई जापान र च्यङ्ग पाई मस्कोमा थिए। उनीहरूले पार्टीको काम विदेशबाटै गरेका थिए।
सन् १९२२ मा हाङचाउमा भएको दोस्रो पार्टी कंग्रेसले सर्वोच्च नेता माओत्सेतुङको अनुपस्थितिमा पार्टीको घोषणापत्र तयार गरी कार्यनीति तय गर्यो।
सन् १९२३ मा क्यान्टन सहरमा तेस्रो कंग्रेस सम्पन्न भयो। त्यही बेला सीपीसीको आह्वानमा ट्रेड युनियनले मजदुर हडतालहरू सफल रूपमा अगाडि बढाइरहेको थियो। यसबिचमा कुओमिन्ताङ पार्टीका संस्थापक सन यात सेन र माओबिच संघर्ष चल्यो। यात सेनले कुओमिन्ताङकै नेतृत्वमा क्रान्ति गर्नुपर्ने निर्णय गरे। माओले त्यस निर्णयको प्रतिवाद गरे।
सन् १९२५ मा भएको चौथो पार्टी कंग्रेसमा पार्टी नीति र कार्यको समीक्षा गरियो। त्यसवर्ष सांघाईमा ठुलो मजदुर आन्दोलन भएको थियो। सन् १९२६ मा माओले ‘हुनान किसान आन्दोलनको रिपोर्ट’ नामक पुस्तक तयार पारे।
सन् १९२७ मा सन यात सेनको निधनपछि कुओमिन्ताङको नेतृत्वमा च्याङ काइसेक आए। पार्टी नेतृत्वमा आएपछि उनी कम्युनिस्टहरूप्रति आक्रामक हुन थाले। त्यसै वर्ष सीपीसीको पाँचौँ कंग्रेसले चेन तु स्युको अवसरवादी नीतिका कारण पार्टीले क्षति व्यहोर्नुपरेको निष्कर्ष निकाल्दै उनलाई कारबाही गर्यो।

मजदुर र किसानमा आधारित बलियो पार्टी हुनुपर्ने र किसानहरूबिच राम्रो सङ्गठन गर्नुपर्ने निचोड निकालियो। तत्काल विशेष सम्मेलन बोलाएर सीपीसीको कार्यनीति तय गरियो। त्यसैबेला माओले आदेशको पालना गर्न, गरिब किसानहरूसँग केही नलिन र जफत गरिएका कुराहरू पार्टीलाई बुझाउन आदेश दिएका थिए।
सन् १९२८ मा गुरिल्ला युद्धको विकास गरियो। परिपक्व नभई ठुलो सेना गठन गरी नियमित युद्धमा जानु हुँदैन भन्ने नीति अगाडि बढाइयो। सन् १९३० मा लालसेनाको संख्या ६० हजार थियो।
सन् १९३६ फेब्रुअरी २० मा कम्युनिस्ट र कुओमिन्ताङबिच जापानसँग संयुक्त रूपमा लड्ने सम्झौता भयो। त्यतिबेलासम्म लालसेनाको संख्या ५ लाख पुगेको थियो। सन् १९३९ पछि सीपीसीले जापान र कुओमिन्ताङ दुवैसँग लड्नुपरेको थियो। अन्ततः सन् १९३७ देखि १९४५ सम्म भएको भीषण युद्धमा चीनले विजय हासिल गर्यो।
सन् १९४५ अगस्टमा अमेरिकाले जापानमा अणुबम खसालेर हिरोसिमा र नागासाकी ध्वस्त बनाएपछि जापानले आत्मसमर्पण गरेको थियो। सन् १९४६ मा अमेरिकी सहयोगमा च्याङ काइसेकले लालसेनामाथि पुनः आक्रमण गरे।
सन् १९४७ मा च्याङ काइसेकका सेनाले केही ठाउँमा कब्जा जमाए। त्यसको आठ महिनामै लालसेनाले कुओमिन्ताङको सेनालाई परास्त गरी १०५ नगरमा कब्जा गर्यो।

सन् १९४७ मा सीपीसीले ‘नौलो चीन निर्माण’ को नारा दियो। सन् १९४९ को डिसेम्बरको अन्त्यसम्ममा चीनको प्रायः सम्पूर्ण भूभाग लालसेनाले कब्जा गर्यो। त्यसपछि च्याङ काइसेक ताइवानतिर भागेका थिए। त्यही भूभागलाई लिएर अहिले पनि चीन र ताइवानबिच विवाद कायमै छ। सन् १९४९ अक्टोबर १ मा सीपीसीले जनवादी गणतन्त्र चीन घोषणा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण