मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?

मङ्गलबार, १६ असार २०८३, १६ : ५४
मङ्गलबार, १६ असार २०८३

सारांश

  • चीनमा कृत्रिम बौद्धिकता (एआई)मार्फत बनाइने छोटा नाटकको लोकप्रियता बढेसँगै व्यक्तिहरूको अनुहार प्रयोग गर्ने अधिकार खरिद गर्ने 'फेस बाइङ'को ट्रेन्ड फैलिएको छ ।
  • यस वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक गरिएका माइक्रो ड्रामामध्ये करिब ९५ प्रतिशत एआईद्वारा बनाइएका थिए ।
  • वास्तविक कलाकारहरूको अनुमति नलिई उनीहरूको अनुहार एआईमार्फत प्रयोग गरिएको आरोपसहित 'फेस थेफ्ट'का घटनाहरू सार्वजनिक भएपछि चिनियाँ कम्पनीहरू वास्तविक व्यक्तिहरूको अनुहार प्रयोग गर्न कानुनी अनुमति लिनतर्फ अग्रसर भएका छन् ।

बेइजिङ । चीनमा कृत्रिम बौद्धिकता (एआई)मार्फत बनाइने छोटा नाटक (माइक्रो ड्रामा)को लोकप्रियता तीव्र रूपमा बढेसँगै व्यक्तिहरूको अनुहार प्रयोग गर्ने अधिकार खरिद गर्ने नयाँ प्रवृत्ति अर्थात् ‘फेस बाइङ’को ट्रेन्ड, तीव्र रूपमा फैलिएको छ ।
२०१८ मा सुरु भएको चीनको छोटा नाटक उद्योगले अत्यन्त ठूलो सफलता हासिल गरेको छ । विशेषगरी स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरी बनाइने छोटो र भावनात्मक कथावस्तु भएका नाटकहरू दर्शकमाझ लोकप्रिय छन् । तर, कृत्रिम बौद्धिकता प्रविधिको विकासले यस उद्योगलाई नयाँ उचाइमा पु‍र्याएको छ । एआईको प्रयोगले कम्पनीहरूलाई कम लागतमा र छिटो सामग्री उत्पादन गर्न सम्भव बनाएको छ ।

चीनको सरकारी टेलिभिजन नेटवर्क चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)का अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक गरिएका १ लाख २८ हजार माइक्रो ड्रामामध्ये करिब ९५ प्रतिशत एआईद्वारा बनाइएका थिए । तीमध्ये थोरै मात्र अत्यधिक सफल भए पनि निर्माण लागत निकै कम भएकाले एउटा सफल नाटकले हजारौँ असफल परियोजनाको खर्च समेत धान्न सक्ने अवस्था रहेको बताइएको छ ।

तर, एआईबाट निर्मित नाटकसँग एउटा ठूलो समस्या जोडिएको छ— इमेज राइट्स । पछिल्ला दिनहरूमा वास्तविक कलाकारहरूको अनुमति नलिई उनीहरूको अनुहार एआईमार्फत प्रयोग गरिएको आरोपसहित ‘फेस थेफ्ट’का घटनाहरू सार्वजनिक भएपछि चिनियाँ कम्पनीहरू वास्तविक व्यक्तिहरूको अनुहार प्रयोग गर्न कानुनी अनुमति लिनतर्फ अग्रसर भएका छन् ।

लिन मिन (छद्म नाम) नाम गरेकी एक अभिनेत्रीले हालै एक छोटा नाटक निर्देशकबाट आफ्नो अनुहार एक वर्षका लागि प्रयोग गर्न ५०० युआन (करिब ७५ अमेरिकी डलर) प्रस्ताव गरिएको बताएकी छिन् । उनले उक्त रकम निकै कम भएको भन्दै प्रस्ताव अस्वीकार गरिन् । तर, यसबारे सामाजिक सञ्जालमा गरिएको उनको पोस्ट भाइरल बनेपछि यस्तो प्रवृत्ति व्यापक रहेको तथ्य सार्वजनिक भएको हो ।

रिपोर्टअनुसार, विभिन्न एजेन्सीहरूले हाल एआईमार्फत बनाइने नाटकमा कानुनी रूपमा अनुहार प्रयोग गर्नका लागि ५०० देखि १ हजार ५०० युआनसम्म भुक्तानी गरिरहेका छन् । हाङझाउस्थित एउटा एआई छोटा नाटक कम्पनीमा कार्यरत ली सिन (छद्म नाम)का अनुसार हाल आफ्नो छवि बेच्नेहरूमा अधिकांश विद्यार्थी, स्थानीय समुदायका महिलाहरू, सहायक कलाकार तथा मध्यमस्तरका कलाकारहरू छन् । उनका अनुसार, ‘ठूला स्टारहरूले यस्तो छवि प्रयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैनन् ।'

चलचित्र निर्देशक चेन शीका अनुसार, एउटा छोटा नाटकमा मुख्य कलाकार पाँच वा छ जना मात्र भए पनि सहायक भूमिकाका लागि दर्जनौँ पात्र आवश्यक पर्छन् । एआई मोडेलहरूले वास्तविक व्यक्तिहरूको अनुहार नक्कल गर्ने प्रवृत्ति देखिएकाले कानुनी विवादबाट बच्न कम्पनीहरूले वास्तविक व्यक्तिको अनुहार प्रयोग गर्ने अधिकार सुरक्षित गर्न थालेका छन् । विभिन्न कम्पनीहरूले फरक–फरक सम्झौता प्रस्ताव गर्ने गरेका छन् ।

केही कम्पनीहरूले व्यक्तिको अनुहारमा विशेष अधिकार प्राप्त गर्न बढी रकम तिर्छन भने केहीले कम रकम दिएर सम्बन्धित व्यक्तिलाई अन्य कम्पनीसँग पनि सम्झौता गर्न छुट दिने गरेका छन् । यसैबीच, केही छोटा नाटक निर्माण कम्पनीहरूले उत्पादन लागत घटाउन आफ्नै एआई कलाकार विकास गर्ने प्रयाससमेत गरिरहेका छन्, जसले चीनमा थप विवाद सिर्जना गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप