मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्‍यो : ओली

मङ्गलबार, १६ असार २०८३, १६ : ४६
मङ्गलबार, १६ असार २०८३

सारांश

  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल सङ्घ (एन्फा) फिफाबाट निलम्बनमा परेको आरोप लगाएका छन् ।
  • उनले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्न पार्टीका सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।
  • ओलीले एन्फामाथिको प्रतिबन्धले खेलाडीको मनोबल गिराउने काम नगर्न अपिल गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् । 

नेपाल खेलकुद महासङ्घले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्नका लागि पार्टीका सम्बद्ध पक्षलाई निर्देशन समेत दिएका छन् । एन्फामाथि फिफाले लगाएको प्रतिबन्धका कारण खेलाडीहरूको मनोबल गिराउने काम नगर्न उनले खेलकुद क्षेत्रका सबैलाई अपिल गरे । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको ठुलो योगदान हुने भएकाले सरकारले यस क्षेत्रको विकासमा जरैदेखि ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन, यसलाई जरैदेखि परिवर्तन गर्नुपर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ, अनि मात्रै परिवर्तन हुन्छ । तपाईहरूको मनोबल कमजोर हुनुहुँदैन । एन्फा अहिले प्रतिबन्ध भयो, त्यसलाई प्रतिबन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरूको अन्य देशका खेलाडीहरूको जस्तै नाम चम्किन सक्छ । उनीहरूको कारणले नेपालको प्रतिष्ठा बढ्न सक्छ, यस दिशामा काम गरेर खेलकुद महासङ्घले योगदान गर्न सकोस् ।’

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारले महत्त्वपूर्ण काम गरेको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप