मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका

मङ्गलबार, १६ असार २०८३, १६ : २१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • मनसुनको जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम ललितपुर प्रशासनले यो कदम चालेको हो ।
  • यो नियम अर्को सूचना प्रकाशित नभएसम्मका लागि लागू रहनेछ ।

ललितपुर ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले हाल मुलुकभर मनसुन सक्रिय रहेको अवस्थामा विपद्को जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथ राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको असार १४ गतेको आवश्यक सतर्कता अपनाउने सम्बन्धी सूचना बमोजिम ललितपुर प्रशासनले यो कदम चालेको हो । 

मनसुनजन्य घटनाबाट राजमार्गमा हुन सक्ने क्षति न्यूनीकरण गर्न तथा यात्रु र सवारी सुरक्षालाई ध्यानमा राखी मकवानपुर जिल्लाको समन्वयमा यो निर्णय गरिएको प्रशासनले जनाएको छ । कार्यालयद्वारा जारी सूचना अनुसार कान्ति लोकपथ राजमार्ग हुँदै मकवानपुर-सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनहरूलाई असार १६ र १७ गते रातिको समयमा चल्न दिइने छैन । 

जसअनुसार आज असार १६ गते साँझ ५:०० बजेदेखि भोलि असार १७ गते बिहान ५:०० बजेसम्म सवारी आवगमन पूर्ण रूपमा बन्द रहनेछ । यसैगरी, भोलि असार १७ गते साँझ ५:०० बजेदेखि पर्सि असार १८ गते बिहान ५:०० बजेसम्म पनि सो मार्गमा सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो नियम लागू रहने ललितपुरका प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । हाल देशभर वर्षा भइरहेकाले जुनसुकै समयमा पनि विपद्को अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर तटीय र जोखिमपूर्ण सडक खण्डहरूमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । 

रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएका कारण यात्रुहरूमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमासमेत मागेको छ ।

734101615_823661487351122_3583918133445021477_n (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप