शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीको गृह जिल्लामा सडक ठेकेदार गायब !

बुधबार, १६ असार २०७८, १६ : ०१
बुधबार, १६ असार २०७८

तेजेन्द्र केसी

बेलहिया बुटवल ६ लेन सडक निमार्णको काममा ठेकेदार कम्पनीले अटेर गर्दै सुस्तता देखाएको छ । व्यापारिक मार्ग आयोजना अन्तर्गत बेलहिया–बुटवल ६ लेन सडक भैरहवास्थित नेपाल–भारत सीमानाका बेलहियादेखि बुटवलको चिडिया खोलासम्म साढे २७ किलोमिटर लम्बाइ रहेको सडकमा बेलहिया र मद्यौलियमा सर्भिस लेनको काम  भएको छैन भने बुटवलको राजमार्ग चौराहादेखि  गोलपार्कसम्म साढे ३ किलोमिटरको काम शुरु भएको छैन ।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक ६ लेन बनाउने काम ठेकेदारको लापर्वाही गर्दै आएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । २०७७ माघ १४ गते चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको कामको वर्तमान गृह तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण शुभारम्भ गरेका थिए । तर उक्त सडकमा पनि  ठेकेदारले कुनै पनि काम गरेको छैन । शुभारम्भ कार्यक्रममा निर्माणको ठेक्का पाएको कञ्चनजङ्घा विरुवा जेभिले समयमै काम सक्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै गरेको छैन । सोही कम्पनीले नै मद्यौलिया र  वेलहिया पनि काम गर्ने सम्झौता गरेको  थियो । कम्पनीले मद्यौलिया र वेलहियामा सर्भिस लेन लगायतका काम बाँकी राखेको छन् । 

ठेकेदारले काम नगरेपछि सडक कार्यालयले पत्र नै  काटेर छिटो काम गर्न निर्देशन दिएको छ  ।  ठेकेदार कम्पनीले अटेरी गर्दा बेलहिया–बुटवल ६ लेन सडक निर्माणको काम सम्पन्न गर्न ढिलाइ भएको कार्यालयले जनाएको छ । सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनीले मन्त्रीले शुभारम्भ ठाउँमा अहिलेसम्म काम शुरु नभएकाले स्पष्टीकरण सोधिएको रातोपाटीलाइ बताए । उनले भने, ‘म्यादभित्रै निर्माण कार्य सम्पन्न नभए कारवाहीको अर्को विकल्प  छैन ।’ काम सम्पन्न गर्न ध्यान नदिएको कारणले आफूले पटक–पटक दबाब दिनुपरेको उनले बताए ।

लामो समय विवादित यो सडक निर्माणको लागि सर्वाेच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रसस्त गरेपछि सरकारले  उक्त कम्पनीलाई २०७९ असार मासन्तसम्म काम सक्ने सम्झौता  गरेको थियो ।

विगत सात वर्षदेखि सडकलाई चौडा गरी ८२ फुट कायम गर्ने सरकारी योजना स्थानीयको अवरोध र पटक–पटकको मुद्दा मामिलाका कारण अगाडि बढ्न सकेको थिएन भने अहिले ठेकेदार कम्पनीको अटेरीका कारण ढिलाइ भएको छ ।

अब पनि समयमै काम सकिने गरी तत्काल काम नथाले ठेक्का भङ्गसम्म गर्ने उनले जानकारी दिए । सडक विस्तारको लागि लकडाउनमै डोजर प्रयोग गरी सडक किनारका घर–टहरा हटाए पनि ठेकेदारको लापरवाहीको कारण निर्माण कार्य अलपत्र भएको हो ।

यो सडक निर्माणका लागि कन्चजङ्घा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिव ३ किलोमिटर लामो यो सडकको लागत करिव ६० करोड रहेको छ । बेलहिया–बुटवल ६ लेन सडक २०६८÷०६९ सालमा सुरु भएको हो । २०७५ सालमा निर्माण सक्ने भनिएको आयोजनाको काम अझै सकिएको छैन । पटक–पटक म्याद थप हुँदा समेत  काम भएको छैन् भने लागत समेत बृद्धि भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप