शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
जनसंख्याविद् प्रा. डा. योगेन्द्रबहादुर गुरुङसँग ‘वारपार’

‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’

‘विदेश पलायनलाई रोक्ने होइन, व्यवस्थित गर्ने हो’
शनिबार, ०२ साउन २०८३

काठमाडौँ । अहिले विश्वको जनसंख्या साढे आठ अर्ब पुगेको छ भने नेपालको जनसंख्या करिब तीन करोड हाराहारीमा छ । कुनै समय जनसंख्या धेरै भयो, यसलाई घटाउनुपर्छ भन्ने भाष्य व्याप्त थियो । तर पछिल्लो समय जनसंख्या वृद्धिदर घट्यो, यसले देशलाई संकटमा पार्छ भन्ने चिन्ता सुरू भएको छ । विशेषगरी हिमाल र पहाडबाट हुने तीव्र बसाइँसराइ, युवाशक्तिको पलायन र घट्दो प्रजनन् दरले नेपालको जनसांख्यिक भविष्यमाथि अनेक प्रश्न उब्जाएका छन् ।

के तीन करोड जनसंख्या नेपालका लागि भारी हो ? युवा पलायन रोक्न सम्भव छ ? राज्यले जनसंख्यालाई भोटरको संख्याका रूपमा मात्र हेरिरहेको त छैन ? यिनै विषयमा केन्द्रित रहेर प्रा. डा. योगेन्द्रबहादुर गुरुङसँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

कुनै समय जनसंख्या धेरै भयो भनेर नियन्त्रणका कुरा गरिन्थ्यो, अहिले फेरि जनसंख्या कम भयो, बढाउनुपर्छ भन्ने सुनिन्छ । वास्तवमा नेपालका लागि तीन करोड जनसंख्या धेरै हो कि थोरै हो ?

जनसंख्यालाई हेर्ने दृष्टिकोण फरक-फरक हुन्छन् । वास्तवमा जनसंख्या धेरै, थोरै वा ठिक्क भन्ने नै हुँदैन । यो धेरै वा थोरैको भाष्य कसरी आयो भने सन् १९२४ मा एड्विन क्याननले अप्टिमम पपुलेसन थ्योरी प्रतिपादन गरे ।

उनले कुनै पनि देशमा एउटा आदर्श जनसंख्या हुनुपर्छ, जसले उत्पादकत्व र विकासलाई सन्तुलनमा राख्छ भन्ने तर्क गरे । त्यसपछि माल्थसले जनसंख्या ज्यामितीय हिसाबले बढ्ने र खाद्यान्न उत्पादन अंकगणितीय हिसाबले मात्र बढ्ने सिद्धान्त ल्याए, जसले गर्दा ‘जनसंख्या नियन्त्रण’ को विश्वव्यापी लहर चल्यो ।

नेपालको हकमा पनि हामीले सानैदेखि जनसंख्या धेरै भयो भन्ने सुन्यौँ, जुन पश्चिमा देशहरूको बुझाइ थियो । तर अहिले हाम्रो धरातलमा जनसंख्या थोरै भयो भन्ने चिन्ता सुरू भएको छ । मेरो बुझाइमा जनसंख्या धेरै वा थोरै हुनु देशको परिस्थितिसँग जोडिन्छ ।

यदि हामीले देशमा हजारौँ उद्योगधन्दा खोल्ने हो भने यो तीन करोड जनसंख्याले पुग्दै पुग्दैन । तर अहिले उत्पादकत्व बढाउने क्षेत्र नहुँदा यही जनसंख्या पनि बढी भएको महसुस भई मानिसहरू विदेश पलायन भइरहेका छन् । त्यसैले जनसंख्या आफैँमा समस्या होइन, राज्यको क्षमता र स्टेजअनुसार यसको आवश्यकता निर्धारण हुन्छ ।

पछिल्लो समय शिक्षित र सम्पन्न परिवारले सन्तान नजन्माउने तर निम्न वर्गमा जनसंख्या बढिरहने प्रवृत्ति देखिएको छ । यसलाई चेतनासँग जोडेर कसरी हेर्न सकिन्छ ?

यो चेतना र आर्थिक हिसाब-किताब दुवैसँग जोडिन्छ । शिक्षित र जान्ने-बुझ्नेले एउटा सन्तान जन्माउँदा उसलाई सक्षम नागरिक बनाउन लाग्ने समय, लगानी र खर्चको क्याल्कुलेसन गर्छन् । अर्कोतर्फ, जोसँग भविष्यको ग्यारेन्टी छैन, उसले बढी सन्तान जन्माउने गरेको देखिन्छ । तर यो चेतना अहिले परिवर्तन हुँदैछ ।

हामीले यो युवा शक्तिलाई उपयोग गर्न सकेनौँ । आंशिक रूपमा रेमिट्यान्स त आएको छ, तर त्यो मानवीय स्रोतको सही परिचालन होइन । राज्यले यो ६५ प्रतिशत युवा शक्तिलाई कसरी देशमै रोजगारी दिने र उनीहरूको सीप उपयोग गर्ने भन्ने सोच्नै सकेन ।

एउटा उदाहरण दिऊँ– लेबर काम गर्न खाडी गएको सामान्य साक्षर मान्छेले फर्केर आउँदा धेरै सन्तान जन्माउन खोज्दैन । किनभने उसले विदेशमा पैसा कमाउन कति श्रम गर्नुपर्छ र यहाँ सन्तान पढाउन कति खर्च लाग्छ भन्ने व्यावहारिक ज्ञान पाइसकेको हुन्छ । त्यसैले चेतना भनेको कलेजको डिग्री मात्र होइन, जीवनको भोगाइ पनि हो । प्रजनन् दर घट्नु एउटा स्वाभाविक प्रक्रिया हो ।

कुनै पनि जनसांख्यिक सिद्धान्तले के भन्छ भने प्रजनन् र मृत्युदर एकपटक घटिसकेपछि त्यो फेरि पुरानै अवस्थामा फर्किंदैन । त्यसैले अब संख्या भन्दा पनि गुणस्तरमा केन्द्रित हुनुपर्ने समय आएको छ ।

नेपाल अहिले जनसांख्यिक लाभ लिन सक्ने अवस्थामा छ भनिन्छ । तर हामीले यसलाई उपयोग गर्न सकेका छौँ त ?

नेपाल अहिले डेमोग्राफिक विन्डोज अफ अपर्चुनिटीज अर्थात् जनसांख्यिक लाभको ठुलो अवसरमा छ । हाम्रो कुल जनसंख्याको झन्डै ६५ प्रतिशत हिस्सा १५ देखि ६४ वर्ष उमेर समूहको छ, जो उत्पादनशील शक्ति हो । तर दुःखको कुरा हामीले यो अवसरको झन्डै १५–२० वर्ष गुमाइसकेका छौँ । संसारका धनी देशहरूले यही युवा शक्तिको बलमा विकास गरेका हुन् ।

हामीले यो युवा शक्तिलाई उपयोग गर्न सकेनौँ । आंशिक रूपमा रेमिट्यान्स त आएको छ, तर त्यो मानवीय स्रोतको सही परिचालन होइन । राज्यले यो ६५ प्रतिशत युवा शक्तिलाई कसरी देशमै रोजगारी दिने र उनीहरूको सीप उपयोग गर्ने भन्ने सोच्नै सकेन ।

१५ वर्षमुनिका बालबालिका २८ प्रतिशत छन् भने जेनजी समूह ३१ प्रतिशत छ । यो समूहलाई हेरेर शिक्षा, स्वास्थ्य र रोजगारीको योजना बनाउनुपर्नेमा हाम्रो राजनीति 'भोटर' को गन्तीमा मात्र अल्झिएको छ । जबसम्म राज्यले मान्छेलाई संख्याका रूपमा मात्र हेर्छ, जनसांख्यिक लाभ लिन सकिँदैन ।

राजनीतिज्ञहरूले बाटो पुर्‍याउँदा मान्छे त्यही बाटोबाट सहर आए भनेर सजिलो तर्क गर्छन् । तर मान्छे चेतनशील प्राणी हो, उसले केवल बाटो मात्र होइन, ‘इकोसिस्टम’ खोज्छ । एउटा पहाडको कुनामा एउटा घर, एउटा स्कुल र एउटा अस्पताल बनाउँदैमा मान्छे बस्दैन । उसलाई समाज चाहिन्छ, बजार चाहिन्छ र अवसर चाहिन्छ ।

हाम्रो शिक्षा नीतिले पनि युवालाई विदेश पलायन हुन बाध्य पारेको आरोप छ नि ? विश्वविद्यालय र शिक्षक-प्राध्यापकहरूले रुचिअनुसार पढाइदिएनन् भन्ने गुनासो छ । शिक्षा नीतिमा राज्यको ठुलो कमजोरी छ । संसारका कतिपय देशले शिक्षामा ३५ प्रतिशतसम्म लगानी गर्छन्, तर हाम्रोमा १० प्रतिशतको हाराहारीमा मात्रै छ । हामीले कम्तीमा २५ प्रतिशत लगानी गर्नुपर्थ्यो । हामीले शिक्षालाई व्यापार र निजी क्षेत्रको जिम्मा लगायौँ, जसको दुष्परिणाम हामी अबको ५० वर्षसम्म भोग्नेवाला छौँ ।

त्रिभुवन विश्वविद्यालय जस्ता संस्थाहरूलाई ‘रेडिकल रिनोभेट’ गर्नुपर्ने आवश्यकता छ । सिलेबस मात्र होइन, यसको पूर्ण संरचना नै बदल्नुपर्छ । यहाँ विद्यार्थीहरू कलेजै नगई डिग्री लिन खोज्छन्, राज्यले विश्वविद्यालयमा फी बढाउन खोज्दा राजनीति र आन्दोलन हुन्छ ।

तर त्यही मान्छेले निजी कलेजमा लाखौँ तिरेर भाइबहिनी पढाइरहेको हुन्छ । जबसम्म शिक्षालाई प्रमाणपत्र लिने र विदेश जाने माध्यम बनाइन्छ, तबसम्म पलायन रोकिँदैन । नेपाललाई ‘एजुकेसन हब’ बनाउने हो भने अमेरिकी र भारतीय विद्यार्थी पनि यहाँ पढ्न आउन सक्छन्, जस्तो अहिले एमबीबीएसमा केही हदसम्म भइरहेको छ ।

हिमाल र पहाड खाली भइरहेका छन्, मानिसहरू सहर वा तराईमा केन्द्रित छन् । राज्यले बाटो, बिजुली र पानी पुर्‍याउँदा पनि मानिसहरू किन गाउँमा बसेनन् ?

राजनीतिज्ञहरूले बाटो पुर्‍याउँदा मान्छे त्यही बाटोबाट सहर आए भनेर सजिलो तर्क गर्छन् । तर मान्छे चेतनशील प्राणी हो, उसले केवल बाटो मात्र होइन, ‘इकोसिस्टम’ खोज्छ । एउटा पहाडको कुनामा एउटा घर, एउटा स्कुल र एउटा अस्पताल बनाउँदैमा मान्छे बस्दैन । उसलाई समाज चाहिन्छ, बजार चाहिन्छ र अवसर चाहिन्छ । उसले उत्पादन गरेको सामान बेच्ने ठाउँ चाहियो ।

हामीले अधिकार र सुविधालाई केन्द्रीकृत गर्‍यौँ । पासपोर्ट बनाउन, मुद्दा लड्न वा अधिकार माग्न काठमाडौं नै आउनुपर्ने भएपछि मान्छे गाउँमा किन बस्छ ? भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त बनायौँ, तर भिसाको छाप लगाउन काठमाडौं नै आउनुपर्ने अवस्था छ ।

जबसम्म प्रदेश र स्थानीय तहहरूमा वास्तविक अधिकार र सुविधा पुग्दैन, बसाइँसराइ रोकिँदैन । मान्छेलाई जहाँ बढी अवसर र सुरक्षा मिल्छ, ऊ त्यहीँ जान्छ । यो मानवीय स्वभाव हो, यसलाई रोक्ने होइन, व्यवस्थित गर्ने हो ।

दक्ष र शिक्षित युवा जति पश्चिमा देश जाने र अदक्ष श्रमिक खाडी जाने प्रवृत्तिले नेपालमा ब्रेन ड्रेन र लेबर क्राइसिसको संकट ल्याउने देखिन्छ । यसको समाधान के हो ?

विदेश पलायनलाई रोक्ने भनेर रोक्न सकिँदैन । संसारमा कुनै पनि देशले आफ्ना नागरिकलाई बाँधेर राख्न सकेका छैनन् । हामीले गर्नुपर्ने भनेको माइग्रेसनलाई व्यवस्थित गर्ने हो । यदि यहाँ रोजगारीको अवसर र खाडीको भन्दा राम्रो आम्दानी भयो भने मान्छे किन जाला र ?

हामीले अब १०–२० वर्ष पछिको जनसंख्याको संरचना हेरेर योजना बनाउनुपर्छ । बर्थ रेट घट्दै जाँदा अब धेरै स्कुल भन्दा पनि थोरै तर गुणस्तरीय स्कुल र विश्वविद्यालयहरू चाहिन्छन् । अहिले भएका पालिकाहरूको संख्या पनि पुनर्विचार गर्न सकिन्छ । जनसंख्याको मोबिलिटी र प्रारूपअनुसार राज्य चल्नुपर्छ ।

दक्ष जनशक्ति बाहिर जाँदा त्यसलाई ‘ब्रेन ड्रेन’ मात्र भन्नु पर्दैन, उनीहरूले पठाउने रेमिट्यान्स र ज्ञानलाई उपयोग गर्न सकिन्छ । यदि भोलि नेपालमा विकासको फड्को मारियो भने बाहिर गएका मान्छेहरू फर्किन सक्छन् । र, यदि यहाँ श्रमशक्तिको अभाव भयो भने विदेशी श्रमिकहरू पनि काम गर्न आउन सक्छन् ।

अहिले पनि हाम्रा कतिपय उद्योगमा भारतीय श्रमिकहरू कार्यरत छन् । यो ग्लोबल मार्केटको हिस्सा हो । मलेसिया र कोरियाले जस्तै हामीले पनि निश्चित अवधिका लागि विदेशी श्रमिक ल्याउने पोलिसी बनाउन सक्छौँ, तर नागरिकता नै दिनुपर्छ भन्ने छैन ।

नेपालमा पालिकाहरू धेरै भए, स्कुलहरूमा विद्यार्थी छैनन्, विश्वविद्यालयहरू पनि मर्ज गर्नुपर्ने अवस्था छ भनिन्छ । के हामीले ठुलो संरचनागत परिवर्तन गर्नैपर्ने हो ?

हो, अब संरचनागत परिवर्तन अनिवार्य छ । विद्यार्थी नभएका स्कुलहरू मर्ज गर्नैपर्छ । पहाडमा मान्छे नभएको ठाउँमा हाइस्कुल र कलेज खोलेर मात्र हुँदैन । राज्यलाई त झन् सजिलो भएको छ नि— गाउँगाउँमा छरिएर रहेका घरहरूलाई एकीकृत बस्ती वा सहरमा ल्याउँदा बाटो, बिजुली र सेवा पुर्‍याउन सस्तो पर्छ ।

हामीले अब १०–२० वर्ष पछिको जनसंख्याको संरचना हेरेर योजना बनाउनुपर्छ । बर्थ रेट घट्दै जाँदा अब धेरै स्कुल भन्दा पनि थोरै तर गुणस्तरीय स्कुल र विश्वविद्यालयहरू चाहिन्छन् । अहिले भएका पालिकाहरूको संख्या पनि पुनर्विचार गर्न सकिन्छ । जनसंख्याको मोबिलिटी र प्रारूपअनुसार राज्य चल्नुपर्छ ।

नेपालको जनसांख्यिक अवस्थालाई लिएर चिन्ता गर्नुपर्ने मुख्य कुरा के हो ?

जनसंख्या धेरै हुनु वा थोरै हुनु चिन्ताको विषय होइन । मुख्य चिन्ताको विषय भनेको हामीले जनसंख्याको संरचना, उमेर समूह र उनीहरूको आवश्यकता अनुसारको पोलिसी बनाउन नसक्नु हो । राज्यसँग ७ प्रतिशत ज्येष्ठ नागरिक छन्, उनीहरूको स्वास्थ्य र सुरक्षाको योजना खोइ ? ६५ प्रतिशत युवा छन्, उनीहरूको रोजगारी र सीपको योजना खोइ ?

हामीले संख्या बढाउने भन्दा पनि भएको जनसंख्यालाई कसरी 'सक्षम' र 'सम्पन्न' बनाउने भन्नेमा ध्यान दिनुपर्छ । जनसंख्याको विषयमा निराशा मात्र होइन, सकारात्मक पक्ष पनि छन् । हामीले यो जनसांख्यिक लाभको बाँकी समयलाई सही सदुपयोग गर्न सक्यौँ भने नेपालको भविष्य उज्ज्वल छ । राज्यले मान्छेलाई केवल 'भोटर' होइन, 'पुँजी' का रूपमा हेर्न सुरु गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया