सांसदको व्यङ्ग्य कविता : प्रतिवेदन प्रेमी सरकार !
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले बागमती प्रदेश सरकारले पूर्वाधार विकास गर्दा भौगोलिक अवस्थाको अध्ययन र अवलोकन गरेर मात्र योजनाहरु ल्याउनु पर्ने बताएका छन् । उनले शुक्रबारको प्रदेशसभाको बैठकको विषेश समयमा बोल्दै सरकारले विपद्को समयमा मात्र तदारुकता देखाएर नहुने भन्दै समयमा नै आवश्यक अध्ययन गरेर भूगोलविदहरुसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले बैठकमा प्रतिवेदन प्रेमी सरकार शीर्षको कविता समेत प्रस्तुत गरेका थिए ।
यस्तो छ उनको कविता
प्रतिवेदन प्रेमी सरकार !
गाउँमा पहिरो जान्छ
मानिस, घर, गाईवस्तु पहिरोले पुर्छ
मन्त्री र मन्त्रीहरू पजेरोमा
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।
बाढीले बस्ती डुबाउँछ
बाढीले बस्ती बगाउँछ
मन्त्री र मन्त्रीहरू हेलिकप्टरमा
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।
हावाहुरीले वितण्डा मचाउँछ
हावाहुरीले पुल उडाउँछ
एक बथान मन्त्री र मन्त्रीहरू
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।
हरेक विपत्ति, हरेक भ्रमण पश्चात्
सरकार प्रतिवेदन संसदमा प्रस्तुत गर्छ
मन्त्री र मन्त्री आकांक्षीहरू ‘हुन्छ’ भनी निर्लज्ज डकार्छन्
र, फेरि अर्को प्रतिवेदन लेख्ने वैधानिकता माग्छन् ।
मेरो सरकार प्रतिवेदन प्रेमी सरकार
प्रतिवेदन लेख्छ, प्रतिवेदन बुझाउँछ !
थाहा छैन, के खान प्रतिवेदन लेख्छ ?
थाहा छैन, के खाएर प्रतिवेदन लेख्छ ?
तर, मेरो सरकार निरन्तर प्रतिवेदन लेखिरहेछ ।
हरेक साल बाढी आउँछ, सरकार प्रतिवेदन लेख्छ
हरेक साल पहिरो जान्छ, सरकार प्रतिवेदन फेरि लेख्छ
वाह, क्या गज्जब प्रतिवेदन प्रेमी सरकार !
त्यसैले त प्रतिवेदन नै प्रतिवेदनमा भेटिन्छ मेरो सरकार ।
त्यसैले त बाढी पीडित, पहिरो पीडित भन्दैछन् –
अन्नको काल पृथ्वीको भार
सरकार, तँलाई धिक्कार !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण