शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

दुई वर्षमै तयार हुने भनिएको योजना नौ वर्षमा पनि अपुरै
सोमबार, २१ असार २०७८, १० : ११
सोमबार, २१ असार २०७८

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो ।

सन् २०१९ डिसेम्बर १२ सम्ममा बथनाहादेखि नेपालतर्फको बुधनगर हुँदै कटहरीसम्म रेल सञ्चालन गर्ने योजनाअनुसार सन् २०११ बाट कुल १८.६०१ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८ किलोमिटर क्षेत्रमा लिक बिछ्याउन बाँकी छ । रेल लिक बिछ्याउने काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन ।

नेपालतर्फको बुधनगर–कटहरीअन्तर्गत साढे दुई किलोमिटर रेल मार्गमा मुआब्जा विवाद कायम छ भने कटहरीमा निर्माण गरिने भनिएको रेल स्टेशनको काम पनि अपुरै छाडेर ठेकेदार बेपत्ता भएको छ । विवाद नरहेको स्थानमा पनि निकै सुस्त गतिमा काम चलिरहेको छ ।

जसका कारण रेलमार्गको काम अनिश्चिततातर्फ धकेलिँदैछ । यसबीचमा कोरोना कहरको बहानामा निर्माण कम्पनीले बुधनगर–कटहरी रेलमार्गको निर्माण कार्य रोकेको छ ।

भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो । जसमा भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटरमध्ये अहिले पनि ३ किलोमिटर क्षेत्रमा जग्गा विवाद कायमै छ ।

जग्गा धनीहरूले सरकारले निर्धारण गरेको जग्गाको मूल्याङ्कनका आधारमा मुआब्जा नलिने भन्दै चलनचल्तीका आधारमा मुआब्जा पाउनुपर्ने माग राख्दै आएका छन् । कटहरी क्षेत्रको जग्गा हस्तान्तरण नभएका कारण १.८ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम बाँकी छ भने कटहरीमा स्टेशन निर्माण र रेलमार्ग विस्तारको काम सुरु नै हुन सकेको छैन ।

ठेकेदार बेपत्ता

कटहरीमा स्टेशन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी अहिले बेपत्ता भएको छ । भारतीय निर्माण कम्पनी न्यू बागमती निर्माण कम्पनीले भारु २७ करोडमा कटहरीमा स्टेशन निर्माणको ठेक्का पाएको थियो । तर कम लागतमा ठेक्का लिएकाले काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनी पाँच महिना अघि काम अलपत्र छाडी सम्पर्कविहीन भएको छ ।

भारतको बथनाहादेखि नेपालतर्फको भेडियारीसम्मको रेलमार्गको ठेक्का पाएको उक्त निर्माण कम्पनीका साइट इन्चार्ज शिवकुमार मण्डलले ‘लो रेट’मा ठेक्का लिएर गुणस्तरीय काम दिन नसकेपछि ठेकेदार कम्पनी केही दिन काम गरेर एकाएक सम्पर्कविहीन भएको बताए । ठेकेदार बेपत्ता भएपछि कटहरीमा स्टेशन निर्माणको काम अघि बढ्न सकेको छैन ।

ठेकेदार भागेपछि भारतीय इरकोण इन्टरनेसनलले स्टेशन निर्माणका लागि नयाँ टेण्डर आह्वान गरेको छ । ठेकेदार छनौटको काम अघि बढिरहेको भारतीय पक्षका निर्माण व्यवस्थापक दीपक कुमारले बताए । चाँडै नै कटहरीमा स्टेशन निर्माणको काम अघि बढ्ने उनको भनाइ छ ।

दुई वर्षअघि भारतको बथनाहाबाट विराटनगर–१८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक रेल परीक्षण गरिएको थियो । नेपाल र भारत दुवै देशको राष्ट्रिय झण्डा राखेर बेस ट्राइलमा नेपालतर्फको बुधनगरस्थित कस्टम यार्डसम्म मालवाहक रेल आएको थियो ।

०७५ कात्तिक १८ गते विराटनगरमा रेल आएपछि सर्वत्र खुसीयाली छाएको थियो । तर त्यसपछिका दिनमा न रेल आउने कुरा अगाडि बढ्न सकेको छ, न त रेलमार्ग निर्माणले निरन्तरता नै पाएको छ ।

सरकारी हस्तक्षेपको तयारी

नेपालतर्फको विराटनगर–१८ स्थित बुधनगर–कटहरी रेलमार्ग निर्माणमा स्थानीयले मुआब्जा विवाद झिकेर काम अघि बढ्न नदिएपछि सरकारले हस्तक्षेप गरी काम अघि बढाउने तयारी गरेको छ ।

बुधनगर–कटहरी रेलमार्गका अन्तर्गत कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म कटहरीमा स्टेशन निर्माणसँगै रेलमार्ग विस्तार हुन नदिने अडान लिएका छन् । जग्गा मुआब्जा विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । तर अदालतले पनि मुआब्जाका विषयमा परमादेश जारी नगरेकाले जग्गा प्राप्ति ऐन २०४३ अनुसार अघि बढ्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

उनले २०६८ सालमै  रेलमार्ग निर्माणका लागि स्थानीयलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने निर्णय भए पनि कटहरी क्षेत्रका केही जग्गाधनीले सरकारी मूल्याङ्कनमा जग्गा दिन तयार नभएका कारण रेलमार्गको काम अघि बढ्न नसकेको जानकारी दिए । अब कानुनी प्रक्रियाअनुसार निकास खोजिने उनको भनाइ छ ।

उनले समस्या हल गरी अगाडि बढ्न पटक–पटक जग्गा धनीसँग छलफल भए पनि सहमतिमा पुग्न नसकिएपछि जग्गा प्राप्ति ऐनअनुसार मुआब्जाको रकम सञ्चित कोषमा दाखिला गरी जग्गा अधिग्रहणको प्रक्रियामा जाने तयारी भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार सरकारले अधिग्रहण गरेको ११९ बिघा जग्गाका ५६५ धनीमध्ये २६ जनाले मुआब्जा बुझ्न बाँकी छ । भारतीय पक्षले साइट क्लियरेन्स नहुँदा निर्माणको काम गर्न कठिनाइ भएको बताउँदै आएको छ ।

तर रेलमार्ग निर्माणका लागि अधिग्रहणमा पर्ने जग्गा उर्वर क्षेत्र भएको भन्दै जग्गाधनी २२ जनाले उचित क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेका छन् । करिब २१ बिघा जग्गा अधिग्रहणमा परेको र यीमध्ये केहीको आम्दानीको स्रोत जग्गामात्र भएकाले आफूहरूको उठीबास हुने उनीहरूको दाबी छ ।

लिकको काम अपुरै 

रेलमार्ग विस्तारको काम सुरु भएको ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८ किलोमिटर क्षेत्रमा लिक बिछ्याउन बाँकी छ । रेलको लिक बिछ्याउने काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन ।

भारतीय इरकोण इन्टरनेसनलले नेपालतर्फको भेडियारीबाट उत्तर ५ किलोमिटर क्षेत्रसम्म मात्र रेलमार्गका लागि लिक बिछ्याइएको छ । त्यसैगरी भेडियारीमा कस्टम यार्ड निर्माणको काम पनि पूरा भइसकेको छ ।

विराटनगर महानगरपालिका–१८ बुधनगरस्थित कस्टम यार्डसम्म पहिलो पटक मालवाहक रेल आएपछि रेल विभागका तत्कालीन निर्देशक बलराम मिश्रले जग्गा विवादको समस्या हल भएको खण्डमा एक वर्षभित्र कटहरीमा रेल आउने बताएका थिए । तर दुई वर्षदेखि रेलमार्ग निर्माणको काम नै रोकिन पुगेको छ ।

निर्माण कम्पनीले भारतको बथनाहाबाट विराटनगरको भेडियारीसम्मको रेलमार्ग निर्माणका लागि कुल ४ अर्ब ४८ करोड खर्च भएको जनाएको छ ।

रेलमार्गले विराटनगरको कटहरीलाई जोडेपछि तेस्रो मुलुकबाट सामान आयातमा सजिलो हुने अपेक्षा लिइएको छ । कलकत्ताबाट रेलमार्फत ढुवानी गरेका सामानहरु सिधै कटहरीसम्म आउने भएकाले मालवस्तु ढुवानी लागत कम र सस्तो पर्ने उद्योगी व्यवसायीले बताउँदै आएका छन् । भारतको बथनाहादेखि बुधनगरसम्मको दूरी ८ किलोमिटरको छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर छ ।

लक्ष्यभन्दा निकै सुस्त काम

रेलमार्ग निर्माणका लागि नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गरिदिने द्विपक्षीय सम्झौता भएको थियो ।

गत अक्टोबरसम्म विराटनगरमा रेल आइपुग्ने गरी काम सक्ने निर्माण कम्पनीको दाबी थियो । तर जग्गा हस्तान्तरण नभएका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको भारतीय निर्माण कम्पनीले जनाउँदै आएको छ ।

बथनाहादेखि भेडियारीसम्मको रेलमार्गको ठेक्का पाएको बागमती निर्माण कम्पनीले भेडियारीमा रेलयार्ड निर्माणको काम सम्पन्न भएर फुट ओभर ब्रिज निर्माणको काम थालेको दाबी गरेको छ । निर्माण कम्पनीका सञ्चालक दिपककुमारले आफुले पाएको निर्माणको काम करिब ९० प्रतिशत पूरा भइसकेको दाबी गरे ।

उनका अनुसार बुधनगरमा १ हजार ५ सय मिटर लामो र १५० मिटर चौडा रेल्वे स्टेशन निर्माण भइरहेको छ । पहिलो चरणमा मालबाहक रेल सेवा सुरु हुने र त्यसलगत्तै यात्रुबाहक रेल सेवा पनि सुरु हुने सम्झौतामा उल्लेख रहेको उनले बताए  । उक्त रेलमार्गलाई इटहरीसम्म ल्याएर पूर्व–पश्चिम राजमार्गमा जोड्ने सरकारी लक्ष्य छ ।

भारत सरकारले नेपाल तर्फको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को निर्माण पूरा गरी आईसीपीसमेत सञ्चालनमा आइसकेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बथनाहादेखि कटहरीसम्मको रेलमार्ग आईसीपीकै अवधारणा अन्तर्गत बनेकाले रेलमार्ग निर्माणसँगै मोरङ र सुनसरीका ६ सयभन्दा बढी उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न साथै तयारी बस्तु निर्यातको सुविधा प्राप्त हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप