शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काँचुली फेर्दै ऐतिहासिक मुसिकोट दरबार

सोमबार, १४ भदौ २०७८, १४ : ४४
सोमबार, १४ भदौ २०७८

 गुल्मीको मुसिकोट नगरपालिकास्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको मुसिकोट दरबारले काँचुली फेर्न थालेको छ । बाइसी चौबीसी राज्यकालको ऐतिहासिक मुसिकोट दरबारलाई मुसिकोट नगरपालिकाले विगत दुई वर्ष अघिदेखि सिँगार्न थालेको हो ।

मुसिकोट नगरपालिका–२ मा रहेको मुसिकोट दरबारलाई गौरवको योजनाका रुपमा संरक्षण एवं सम्बर्द्धन गर्न थालिएको हो । डीपीआर तयार गरी ११ करोड लागतमा दरबारमा आकर्षक संरचना निर्माण भइरहेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड ८० लाख रुपैयाँको टेण्डर प्रकृयाको काम सम्पन्न भइसकेको छ । पदमार्गमा पर्खाल, नाली, ढुङ्गा सोलिङ्ग छपाई गरी तल मैदानदेखि दरबारसम्म आकर्षक रेलिङ्ग निर्माण गरिएको छ । त्यस्तै पुजारी र अन्य भक्तजनहरूका लागि शौचालयसहित आवास गृहसमेत निर्माण गरिएको छ ।

चालु आर्थिक वर्षमा थप १ करोड २० लाखको टेण्डर प्रक्रियाका लागि सरोकारवालासँग अन्तरक्रिया गरी काम अगाडि बढाएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

गत वर्षको योजनामा परेर अधुरो रहेका कामलाई सम्पन्न गर्ने र पदमार्गमा ट्रस र प्रवेशद्वार निर्माण लगायतको काम चालु आर्थिक वर्षमा सम्पन्न गरिने नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।

उनले मुसिकोट नगरपालिकाको नामकरणसमेत यसै कोटबाट गरिएको र सदियौंदेखि ऐतिहासिक र यस भेगकै सबैभन्दा ठुलो शक्तिपीठ समेत रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको जानकारी दिए ।

मुसिकोट दरबार क्षेत्रको आकर्षण बढाउन दरबारको काखमा अवस्थित दलित बस्तीलाई समेत सिँगार्न थालिएको छ । विगतमा स–साना खरका झुपडी रहेको बस्तीलाई हाल सुरक्षित बस्ती विकास र जनता आवास कार्यक्रम तथा ‘एक घर एक छाना’ कार्यक्रममार्फत बेहुलीझैं सिँगारिएको छ ।

विगतमा खानेपानी अभाव रहेको बस्तीमा हाल घरघरमा पानीको धारा पु¥याउने कार्य पनि तीव्र रुपमा अगाडि बढाइएको खानेपानी तथा सरसफाई (बास) शाखा प्रमुख सीता भुसालले बताइन् । इन्जिनियर राजेन्द्र गौतमका अनुसार मुसिकोट कोटको मौलिकता झल्किने गरी भौतिक संरचना निर्माण गरिँदै छ ।

दरबार क्षेत्रको अनुगमनमा पुगेका नगरप्रमुख सापकोटा, उपप्रमुख कमला शर्मा,  प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण खत्री लगायतले निर्माणमा खटिएका प्राविधिकहरूलाई दरबार क्षेत्र थप आकर्षक पार्न आवश्यक सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप