शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने मुख्य आरोपितले प्रहरी समक्ष गरे आत्मसमर्पण

मङ्गलबार, १५ भदौ २०७८, १६ : ०८
मङ्गलबार, १५ भदौ २०७८

 राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गर्ने मुख्य आरोपित सर्जन परियारले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेका उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालोमोसो दल्ने दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । परियार भने मंगलबार आफै जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएका हुन् ।

प्रहरी कार्यालयमा परियारले आत्मसमर्पण गरेको र उनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले परियार पक्राउ परेको पुष्टि गरेका हुन् ।

एमाले नेता विवेक श्रेष्ठले परियारलाई जिल्ला प्रहरी कार्यालयमा लिएर गएको प्रहरी स्रोतले जनाएको छ । 

पक्राउ परेपछि परियारले आफूलाई प्रहरीले लगाएको झूटा र गलत मुद्दाविरुद्ध जिप्रका दाङको हिरासतभित्र रहेरै भोक हड्ताल गर्ने बताए । उनले कानुनको सम्मान गर्दै आफै प्रहरी कार्यालयमा उपस्थित भएको बताए ।

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपित ६ जनामध्ये अहिलेसम्म परियारसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अन्य ३ जना भने अझै फरार छन् ।

कोरोना महामारीबीच अग्रभागमा खटिने राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने मुख्य आरोपितलाई  पक्राउ गरी स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

स्वास्थ्यकर्मीमाथि हातपात गरेमा बढीमा ५ वर्षसम्म कैद सजाय हुने गरी सरकारले ल्याएको अध्यादेश ल्याएको छ । सो अध्यादेशअनुसार पहिलोपटक मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङले बताए ।

परियारको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेर भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप